मेचीनगर, २४ असार । तीन महिनाका लागि खोलाबाट ढुंगा बालुवा उत्खनन् गर्न नपाइने स्थानीय सरकारको नियमलाई ठेकेदारहरुले उल्लंघन गरेका छन् ।
असार १ गतेदेखि तीन महिनाका लागि कुनै पनि खोलाबाट नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने नियम स्थानीय सरकारले लगाएको हो ।
तर, मेचीनगरको विभिन्न सडकमा रातोदिन ढुंगा, गिटी र बालुवा ओसार्दै ठूला डाला भएका टिपरहरु कुदिरहेका छन् । स्थानीय सरकार र प्रहरी प्रशासनले उनीहरुलाई रोकेको छैन ।
मेचीनगर–६, काँकरभिट्टा स्थित सुपारीलाइनको सडकमा बुधबार बालुवा बोकेको टिपरका चालकलाई स्थानीयले रोके ।
स्थानीयले चालकलाई रोकेर सोधपुछ गरेका छन् । चालकले नकलबन्दामा स्टक रहेको ढुंगा, गिटी र बालुवा बोकेर ल्याएको जवाफ दिएका छन् । उक्त नदिजन्य सामग्री बोकेका टिपरले मेचीनगर, बिर्तामोड लगायतका ठाउँमा पुर्याउने गरेको छ ।
‘रातभरी–दिनभरी मालबाहक टिपर कुदाएर सडकहरु बर्बाद पारिसके’, स्थानीय बद्रीप्रकाश उप्रेतीले भने– ‘५/५ मिनेट फरकमा लगातार ओभरलोड भएका टिपर रातिको विहान र दिउँसो गरेर ५०० पटक टिपर यो बाटो आउने जाने गरेक छन् ।’
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी राजेन्द्र पोखरेलले विहानको राति टिपर वा कुनै पनि गाडी कुदाउन नपाइने बताए । स्टक सामग्री ल्याए पनि सडकनै भत्काउने गरी टिपर कुदाउन नमिल्ने उनको भनाई छ ।
‘मेचीनगरका प्रायः सबै सडक मालवाहक टिपरले भत्काइसकेको छ’, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले भने–‘खोलाबाट नदिजन्य सामग्री झिक्न पाइँदैन, त्यसमा हामीले कडाइ गरेका छौँ । तर, सडक व्यवस्थापनलाई कसरी सहज बनाउने विषयमा मेयरसँग छलफल गर्नेछु ।’