ढुङ्गा बेचेर चलेको दुःखको जिन्दगी

  प्रकाशित मिति
१० फाल्गुन २०७६, शनिबार १८:३६


रेवतीराज घिमिरे

भद्रपुर । नेपाली समाजमा दैनिक ढुङ्गा कुटेर गुजारा गर्नेहरुको सङ्ख्या धेरै कम भएपनि सुनसरीको इटहरी महानगरपालिका–१२, खनार तथा मोरङ उर्लाबारी बसोवास गर्ने केही समुदायहरु अहिले पनि ढुङ्गा कुटेरै पुस्तौंदेखि गुजार चलाउँदै आएका छन् ।

आफुहरु तराईमूलको शर्मा थर भनेर चिनाउन चाहने उक्त बस्तीका केही समुदायहरु लेटाङको पहाडी खोला खनार भन्ने पहाडबाट मासिक रुपमा ढुङ्गा खरिद गरी ल्याई जाँतो र सिलौटोमा परिणत गर्दै त्यसैलाई विक्री वितरण गरेर घरको गुजारा चलाउँदै आएका हुन् ।

त्रिपालको सामान्य पन्डाल बनाएर पूर्वाञ्चलका विभिन्न जिल्लाहरुको सार्वजनिक चोकचोकमा परिवारसहित बसेर एकैठाउँमा ढुङ्गा ढुवानी गर्ने र सोही ठाउँमा उक्त ढुङ्गाबाट जांँतो, लोहोरो र सिलौटो बनाएर बेच्ने उनीहरुको पुख्र्खाैली पेशा रहेको छ ।

यसरी ल्याइएका ढुङ्गालाई सिलौटो, जाँतो र लोहोर बनाइ खच्चडलाई बोकाइ गाउँ तथा शहरका सबैका घरघरमा पुर्याएर प्रतिसिलौटो ३ देखि ६०० सम्म र प्रतिजोडी जाँतोको बढीमा एक हजारदेखि एक हजार तीन सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।

धेरै मेहनत र दुख गरेर ढुङ्गा कुँदेर बनाइएका यस्ता सिलौटो तथा जातो बिक्रीबाट मासिक रुपमा १० हजारभन्दा कम कमाइ हुने गरेको बताउँदै अमित सन्तराज शर्माले भने, ‘दुःखले पाँच छजनाको परिवार चलाउनु परेको छ ।’ उनी भद्रपुर–१० स्थित लेखनाथ चोक चन्द्रगढीमा पाल टाँगेर ढुङ्गा कँुदिरहेका छन् ।

लेटाङबाट ढुङ्गा खरिद गर्दा गाउँपालिका र नगरपालिकालाई करबापत तिर्ने प्रतिगाडीको १५ हजारसहित खान, बस्न समेत गर्दा २० हजारभन्दा बढी आफ्नो खर्च हुने गरेको उनको भनाइ छ ।

एकपटकमा बढीमा २ सय पीस मात्र ढुङ्गा खरिद गर्ने गरेका उनीहरुले राज्यले आफूहरु जस्ता सयौं मजदुरको बारेमा केही नगरेकै कारण नेपालीहरु वैदेशिक रोजगारमा जान बाध्य हुनु परेको अर्का मोरङ खनार स्थायी बसोबास गर्ने मजदुर राजा शर्माले बताए ।

उनले सरकारले मजदुरहरुका हकअधिकारहरुलाई सुनिश्चित गर्दै सबैको घर परिवारमा नभइ नहुने लोप हुन लागेको जाँतो तथा लोहोरो, सिलौटोका लागि प्रयोग गरिने ढुङ्गा निकासीमा निकासी करमा मजदुरलाई छुट गरिदिनु पर्ने बताए ।

जागिर तथा सम्पत्ति नभएकै कारण आफूहरुले पुर्खौली पेशालाई निरन्तरता दिन बाध्य हुनु परेको बताउँदै शर्माले भने, ‘बालबच्चाको पढाइ लेखाइ खर्च राज्यले हेरिदिएँ हुन्थ्यो ।’

वर्तमान सरकारले गरीबलाई केही गर्न नसकेको गुनासो गर्दै ढुङ्गाको आकृति तयार बनाएर सबैको घरघरमा पुर्याउने आफूहरु जस्ता मजदुरहरुलाई सरकारले छुट्टै सेवा र सुविधा उपलब्ध दिनुपर्ने अर्का मूर्तिकार छोेटु शर्माले बताए ।

उनले ढुङ्गे कलाकार भएकै कारण सरकारले आफूहरुलाई विशेष प्राथमिकतामा राखेर हेर्नुपर्ने बताए ।

परिवारसहित हिँड्ने उनीहरुले मार्तल र छिनोले खोपेर दिनमा ३ देखि ४ वटा मात्र सिलौटो तयार गर्ने गरेका छन् ।

दिनभरी खटेर हातमा ठेला उठाएर तयार गरिएका यस्ता प्रकारका जाँतो र सिलौटोलाई खच्चडमार्फत बोकाएर सबैको घरघरमा प्र्याइदिँदा समेत बिक्री नहुँदा झन् चिन्ता हुने गरेको शर्मा परिवारको गुनासो रहेको छ ।

विदेशमा गएर दुख गर्नुको साटो आफ्नै देशमा पसिना बगाउन भने उपयुक्त हुने उनीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: