शान्तिनगर । शान्तिनगरका वाल क्लव, आमा समूह र स्थानीयवासीले ११ वर्षीया तनुजा कोइरालाको हत्यारा चाँडो पत्ता लगाई कडा कानूनी कार्वाही गर्न माग गरेका छन् ।
स्वर्णिम वाल क्लवको आयोजनामा हिजो यहाँका विद्यार्थी र स्थानीयले मौन र्याली प्रदर्शन गर्दै हत्यारा चाँडो पत्ता लगाएर घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्थानीय प्रशासनसमक्ष माग गरेका हुन् ।
शान्तिनगर–१ कामीटार घर भएकी तनुजाको साउन ५ गते बुधवारे–५ स्थित मावली घरमा घाँटी रेटेर विभत्स हत्या भएको थियो । उनको बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक शङ्का गरे तापनि हालसम्म घटनाको सत्यतथ्य उसले सार्वजनिक गर्न सकेको छैन ।
तनुजा स्थानीय ब्राइट फ्युचर अङ्ग्रेजी स्कुलमा कक्षा ५ मा अध्ययन गर्थिन् । उनी स्वर्णिम बाल क्लवको सदस्य समेत थिइन् । सोही वाल क्लवको अगुवाइमा सोमवार यहाँ र्याली निकालिएको हो ।
माध्यमिक विद्यालय बर्नेको परिसरबाट सुरु भएको विद्यार्थीहरूको मौन र्याली पिपलचोक हुँदै कामीटारस्थित तनुजाको काजकिरिया भइरहेको घर पुगेर शोकसभामा परिणत भएको थियो ।
हत्यारालाई कार्वाही गर, बालवालिका उज्यालो सूर्य हुन्, बालअधिकार हनन बन्द गर लगायतका थुप्रै नारा लेखिएका प्ले कार्ड र्यालीका सहभागीले बोकेका थिए ।
तनुजाको काजकिरिया उनको बडीबुवा महेन्द्र कोइरालाको घरमा भइरहेको छ । त्यहाँबाट उनको घर नजिकै रहेको छ ।
बाल क्लवका विद्यार्थी आफैले सञ्चालन गरेको शोकसभामा ब्राइट फ्युचर स्कुल र स्वर्णिम बाल क्लवको तर्फबाट तयार गरिएको समवेदना पत्र पढेर सुनाइएको थियो ।
क्लवका विदुर दाहाल र सुमन राईले उद्घोषण गरेको शोकसभामा ब्राइट फ्युचर स्कुलका प्रिन्सिपल गुणराज अर्याल, स्थानीय अभिभावक प्रेम तिवारी, वाल क्लवकी सदस्य अनिता रसाइली, शिक्षक केसी श्रेष्ठ लगायतले तनुजाको हत्याले सिङ्गो शान्तिनगर स्तब्ध भएको धारणा व्यक्त गर्दै हत्यारा चाँडो भन्दा चाँडो पत्ता लगाउन र कडा कार्वाही गर्न प्रहरी प्रशासनसमक्ष माग गरेका थिए ।
वक्ताहरूले तनुजा एक अनुशासित, लगनशील, प्रतिभाशाली विद्यार्थी भएको स्मरण गर्दै बालवालिकाको बाँच्न पाउने अधिकार हनन हुन थालेकोमा चिन्ता प्रकट गरेका थिए । हत्यारा पत्ता लगाउन ढिला गरियो भने शान्तिनगरवासी आन्दोलित हुने चेतावनी समेत उनीहरूले दिएका छन् ।
कार्यक्रममा ब्राइट फ्युचर स्कुल, मावि बर्ने, मुनामदन उमावि, सनराइज बोर्डिङ, बुढासुब्बा आमा समूह लगायतको सहभागिता रहेको थियो ।
(२०७३
साउन ११ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)