तनुजा हत्याको अभियुक्त सार्वजनिक

  प्रकाशित मिति
१८ श्रावण २०७३, मंगलवार २३:५०


tanuja bunu
तनुजा कोइराला

झापा । शान्तिनगर–१ की ११ वर्षीया तनुजा कोइरालाको हत्यामा संलग्न भएको आरोप लागेका राजकुमार राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको टोलीले भारतको उत्तर प्रदेशस्थित नन्दीपुरमा लुकीछिपी बसिरहेको अवस्थामा अभियुक्त राजबंशीलाई भारतीय प्रहरीको सहयोगमा पक्रेर मङ्गलवार नेपाल ल्याइएको प्रहरी स्रोतले जनाएको छ ।

अभियुक्त राजबंशीलाई लिएर फर्कदै गरेको प्रहरी टोली पश्चिम नेपालको महेन्द्रनगर नाकाबाट मङ्गलवार नेपाल प्रवेश गरिसकेको जनाउँदै प्रहरी स्रोतले राति नै अभियुक्तलाई झापा ल्याइपुर्याउने र बुधवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने बताएको छ ।

स्थानीय ब्राइट फ्युचर इङलिश स्कुलमा कक्षा ५ मा पढ्दै गरेकी तनुजा ५ वर्षीय भाइ नुतनसँग स्कुल विदाको फुर्सदमा बुधवारे–५ स्थित मावलमा आएकी थिइन् ।

गत साउन ५ गते राति सुतेकै ओछ्यानमा हत्या भएको थियो । घाँटी रेटेर हत्या गरिएको अवस्थामा तनुजाको शब विहान मात्र मावली परिवारका सदस्यहरूले फेला पारेका थिए । बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहँदै आएको छ ।

aropi pakrau
अभियुक्त राजकुमार राजबंशी

को हुन् राजकुमार
मेचीनगर–३ धुलावारी बजारमा आफन्तको घरमा बस्ने र जता काम पाइन्छ उतै ज्यालादारी काम हिँड्ने अन्दाजी ३५ वर्षका राजकुमार राजबंशी विवाहित व्यक्ति हुन् ।

मदिरा पिउने र झगडालु स्वभावका कारण उनकी पत्नीले उनलाई परित्याग गरेर दोस्रो विहे गरेको बुझिएको छ । उनको झड्केलो बाबु र केही दाजुहरू झापामा बस्दै आएका छन् । तर उनको स्थायी घर नभएको बुझिएको छ ।

काम खोज्दै बुधवारेसम्म
खेतको काम गर्ने सिलसिलामा अभियुक्त राजकुमार राजबंशी बुधवारे पुगेको देखिन्छ ।

बुधवारेको जयपुर चोकमा काम खोज्दै हिँडेको उनलाई तनुजा बस्दै आएको कान्छा मामा दिपक प्रसाइँको घरमा खेतीको काम पाइन्छ भन्ने कसैले सुनाइदिएको थियो ।

दुई दिनसम्म उनले तनुजाको कान्छा मामाको खेतीमा आली लगाउने काम गरेका थिए । त्यसवापत उनले एक हजार रुपैयाँ ज्याला पनि लगेका थिए ।

काम सकिएपछि अन्तै लागेका उनी साउन ५ गते साँझ तनुजाको माइलो मामा हरि प्रसाइँको घरमा अचानक आइपुगेका थिए । त्यही घरमा भात खाएर हिँडेका उनी कता गए भन्ने कसैले चियो गर्ने कुरै भएन । सोही राति तनुजाको विभत्स एवम् क्रुर हत्या भयो ।

आरोप लाग्ने कारण
तनुजाको शब भेटिएको साउन ६ गते विहानदेखि नै आरोपी राजकुमार राजबंशी नै हुन् भन्ने हल्ला चल्यो ।

अघिल्लो रात राजकुमार जुन साइकल लिएर तनुजाको माइलो मामाको घर आएका थिए, त्यो साइकल तनुजाको हत्या भएको घरको आँगनमा चामल लोड गरिएको अवस्थामा फेला परेको थियो । साथै राजकुमारले आफ्नो चप्पल पनि घटनास्थलमै छाडेका थिए ।

झापाको धुलावारी र कालिस्थान घर बताउने उनी तनुजाको हत्यापछि फरार भए । आफ्नो साइकल घटनास्थलमै छाडेका उनले तनुजाको मामा घरमा रहेको साइकल भने भाग्ने क्रममा लगेका थिए । उनी बस्ने सम्भावित स्थानमा खोजतलास गर्दा उनी भेटिएनन् ।

प्रहरीले हत्याको भोलिपल्टै घटनामा राजकुमारको संलग्नता हुनसक्ने सार्वजनिक रुपमै आशङ्का गरेको थियो ।

कसरी पुग्यो प्रहरी
अपराध अनुसन्धानमा दक्षिण एसियामै अग्रणी मानिदै आएको नेपाल प्रहरी तनुजा हत्याकाण्डका अभियुक्त राजकुमार राजबंशीलाई पक्रने सिलसिलामा पनि सफल देखियो ।

धुलावारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश थापाको कमान्डमा ३ सदस्यीय सानो टोली अभियुक्त पक्रने मिसनमा भारत गएको थियो ।

भारतको राजधानी दिल्लीबाट बसमा ४ घण्टा लाग्ने उत्तर प्रदेशको नन्दीपुरमा रहेको आफन्तको घरमा लुकिरहेको पत्तो लगाएको नेपाल प्रहरीले त्यहाँ पुगेर समाउन सजिलो थिएन ।

नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लियो । भारतीय प्रहरीले पक्राउ गरे पछि नेपालमा पठाउन इन्कार पनि गर्न सक्थ्यो वा भगाउन पनि सक्थ्यो । तर नेपाली टोलीले कुशलतापूर्वक अभियुक्तलाई पक्रियो र पश्चिम नेपालको महेन्द्रनगरको बाटोबाट नेपाल भित्र्यायो ।

अभियुक्तको प्रारम्भिक वयान
अभियुक्त राजकुमार राजबंशीले मदिराको बेसुरमा अपराध गरेको प्रारम्भिक वयान दिएको प्रहरीको भनाई छ ।
‘मदिराले मातेको थिएँ’, प्रहरी स्रोतले अभियुक्तको प्रारम्भिक वयान सुनाउँदै भनेको छ–‘के के गरेँ होसै भएन ।’

चामल चोर्न राति पसेको बेला तनुजाले देखेको कारण हत्या भएको अभियुक्तले प्रहरीलाई प्रारम्भिक वयानमा दावी गरेको छ ।
त्यसपछि पछ्याउँदै कोठामा पुगेर तनुजाको हत्या गरेको, हत्यापछि एक घण्टासम्म तनुजाकै कोठामा बसेको र अर्को साइकल लिएर चारआलीतिर भागेको अभियुक्तले प्रहरीलाई बताएको छ ।

चारआलीबाट रातारात भद्रपुरबाट भारतको गलगलिया गएको, भोलिपल्ट फेरि विर्तामोड फर्केको र फेरि भारतीय मार्ग हुँदै दिल्ली र नन्दीपुर पुगेको अभियुक्तले प्रहरीलाई बताएको छ ।

पोस्टमार्टम रिपोर्टमा के छ ?
तनुजाको शबको पोस्टमार्टम जाँच धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

पोस्टमार्टम जाँचको रिपोर्टमा बलात्कार प्रयास भएको उल्लेख छ । प्रहरी स्रोतका अनुसार मृतकको यौन अङ्गको बाहिरी भाग कोतरिए पनि झिल्ली नतोडिएको रिपोर्टमा जनाइएको छ ।

मृतकको घाँटी भने धारिलो हतियारले रेटिएको रिपोर्टमा उल्लेख छ ।

(२०७३ साउन १९ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: