तपाइँको सहयोगले आयु थपिने छ

  प्रकाशित मिति
१८ पुष २०७३, सोमबार २२:५७


aushaधुलावारी । सात वर्षकी आयुषा यतिबेला बोल्न अर्थात मनका पीडा अभिव्यक्त गर्न समेत असमर्थ छिन् । कलिलै उमेरमा ब्रेन ट्युमरले सताएपछि स्वास्थ्य नाजुक बन्दै जाने क्रममा उनको हालत यस्तो गम्भीर भएको हो । आमा मुना न्यौपानेको काखमा ओल्टोकोल्टो फेर्दै दिन बिताउँदै गरेकी आयुषालाई रातमा निन्द्रा पनि छैन ।

मेचीनगर–३ सुगमटोलमा स्थानीय निरौला परिवारले दिएको आश्रयमा आयुषा र उनकी आमा बस्दै आएका छन् । उनका वुवा घर छाडेर हिँडेकाले आयुषाको पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारी आमाले नै सम्हाल्नु परेको छ ।

अचेल विरामीकै कारण स्कुल जान छाडेकी आयुषा पढ्नमा तेज छिन् । कक्षा युकेजीबाट एलकेजीमा जाँदा उनी कक्षाकै प्रथम भएकी थिइन् । धुलावारीको हिमालयन एकाडेमीमा पढ्दै आएकी उनको तीक्ष्ण दिमागी क्षमता देखेर शिक्षकहरू पनि गर्व गर्थे । तर अहिले आयुषाको स्वास्थ्य स्थिति ज्यादै गम्भीर हालतमा पुगेको छ । शीघ्र उपचारको व्यवस्था हुन सकेन भने यसै होला भन्न सकिन्न ।

अर्काको घरमा आश्रय लिएर गाउँमा जनमन गर्र्दै आएकी मुनासँग छोरी आयुषाको ब्रेन ट्युमरको उपचार गराउने औकात पुग्दैन । छोरीको शिथिल अनुहार हेरेर रुँदै बस्नु मात्र मुनासँग विकल्प छ । उनले गर्न नै पो के सक्छिन् र !

आमा मुनाका अनुसार गत भदौबाट आयुषाको स्वास्थ्यमा समस्या देखा परेको हो । सुरुमा विरामी पर्दा सामान्य ठानियो । अवस्था नाजुक बन्दै गएपछि धरान र सिलगढी पनि लगियो उपचारका लागि । निको भएन । डाक्टरहरूले ब्रेनमा ट्युमर पलाएको बताएका छन् ।

बुधवार यो खबरले काङ्ग्रेसका युवा नेता विश्वप्रकाश शर्मा, अग्रज पत्रकार चन्द्र भण्डारी, मुस्लिम समुदायका अगुवा अमिन अली, सामाजिक कार्यकर्ता यादव पौडेल, युवा कार्यकर्ता सुदय पनेरु, धुलावारी क्याम्पसका लेक्चरर धर्मानन्द खनाल लगायतलाई चिन्तित तुल्यायो । आयुषाको स्वास्थ्य स्थिति बुझेर बुधवार एक भेलाले उनलाई शीघ्र उपचारका लागि लैजान आवश्यक पर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

सोही भेलाले थुप्रै परोपकारिक कार्यमा संलग्न रहँदै आएका युवा कार्यकर्ता सुदय पनेरुको संयोजकत्वमा ‘आयुषा न्यौपाने बचाउ समिति’ गठन गरेको छ ।
समितिले उपचारका लागि लैजाने अस्पतालको पहिचान गर्ने, उपचार खर्चका लागि आर्थिक सहयोग जुटाउने र सहयोग जुटाउनलाई अभियान सञ्चालन गर्ने भएको छ ।

समितिमा युवा नेता विश्वप्रकाश शर्मा, अग्रज पत्रकार चन्द्र भण्डारी, धर्मानन्न खनाल, यादव पौडेल, अमिन अली, उमेश सुबेदी, डिल्ली पोखरेल, मोहन काजी, ज्ञानेन्द्र निरौला, लक्ष्मी प्रसाइँ, गोपाल न्यौपाने, सविता पौडेल, सुबोध निरौला, चन्द्र खनाल, अशोक तामाङ, दिपेन्द्र पौडेल, बुद्धि निरौला, होमनाथ न्यौपाने, कृष्ण पौडेल लगायत रहेका छन् ।

यस अघि जाँच गराउँदा डाक्टरहरूले गरेका सिफारिसहरूको बारेमा धरान गएर बुझेपछि थप र भरपर्दो उपचारका लागि कता लैजाने भन्ने विषयको टुङ्गो लगाइने समितिका यादव पौडेलले बताए । उनले आयुषालाई छिटो उपचार आवश्यक भइसकेको र त्यसका लागि आर्थिक सहयोग जुटाउनै पर्ने बताए ।

(तस्वीर क्याप्सन ः ब्रेन ट्युमरले प्रभावित ७ वर्षीया आयुषा आफ्नी आमा मुना न्यौपानेको काखमा ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: