तरकारी खेतीले ल्याएको खुशी

  प्रकाशित मिति
१० आश्विन २०७३, सोमबार १०:५७


nari-photo
शान्तिनगर । टेकेन्द्रमाया पौडेलको परिवार २०५६ सालतिर ज्यामिरगढी गाविसमा बसोबास गथ्र्यो । त्यहाँ रहँदा अर्काको खेत अधियाँ गर्ने र धान बेचेर परिवार चलाउनु पर्ने बाध्यता थियो ।

ठुलो परिवार, छोराछोरी पढाउनु कम चुनौतीको कुरा थिएन । २ छोरा र ३ छोरी र श्रीमान् श्रीमती । परिवारको आय कम हुँदाको दुःख सम्झिँदा यो परिवारलाई अहिले आङ जिरिङ्ग हुन्छ । निन्दा खोलाको किनारमा रहेको जग्गा, वर्षाको समयमा खोलाले बगाउला भन्ने डर उस्तै । २०५७ सालमा पौडेल परिवार मेचीनगर–११ मदनबस्तीमा बसाइँ सर्यो । जतै गए नि दुःखले छोडेन । त्यहाँ पनि ५ विगाहा खेत कमाउनु पर्ने र सोही खेतमा फलेको धान बेचेर गर्जो टार्ने अवस्था उस्तै थियो ।

समय बित्तै गयो । त्यहाँ रहँदा चौपाय हराउने र चोरी तस्करीले थप समस्यामा पार्यो, यो परिवारलाई । दुःख गरेर जोडेको चौपाय चोरी हुन थालेपछि, त्यहाँबाट पनि बसाइँ सर्ने निर्णय भयो । त्यहाँ भएको जग्गा बेचेर श्रीमान् टङ्कनाथसँग लागिन् जग्गा खोज्न । इलामको बढु, शान्तिपुरसम्म पुगे पनि खासै उपयुक्त र राम्रो जग्गा भेटिएन । पछि दाजु दिनानाथ पौडेलले सुनमाइमा बलबहादुर भट्टराईको जग्गा बेच्ने गाइँगुइँ हल्ला सुने । र, बोलाए भाइबुहारीलाई । १० कठ्ठा जग्गा किने र सानो ओत लाग्ने घर बनाई बस्न थाले ।

बसाइँ सरेको एक वर्ष त के गर्ने अन्योलमै रह्यो, यो परिवार । एक वर्षपछि, गाउँमा एक जनासँग ५ हजार ऋण मागेर सुरु गरे तरकारी खेती । यो परिवारलाई तरकारी खेतीले फाप्यो पनि । चुलोचौकासँगै टेकेन्द्रमाया पनि तरकारी खेतीमा कुटो, कोदालो लिएर लिजमा लिएको १ विगाहा जग्गामा मौसमी तथा वेमौसमी तरकारी खेती गर्न । छोराछोरी पनि हुर्केकाले तरकारी खेतीमा उनीहरुको सहयोग पनि उत्तिकै रह्यो । सुरुमा १० कठ्ठाबाट सुरु गरेको तरकारी खेती अहिले ३ विगाहा क्षेत्रफलमा फैलिएको छ ।

वार्षिक ३ विगाहा क्षेत्रफलमा २ सय क्विन्टल टमाटर र ५० क्विन्टलसम्म कोपी उत्पादन गर्दै आएका छन् । अहिले पौडेल परिवारले वार्षिक ७ देखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् । तरकारी बेचेरै अहिले २५ लाखको लागतमा ६ कोठे पक्की घर बनाएका छन् भने शान्तिनगर–२ मा १ विगाहा जग्गा खरिद गरेका छन् । विगतको दुःखले सिकाएको सङ्घर्षको पाठले अहिले सुखमा परिणत गराएको छ । अहिले परिवारका सबै आ–आफ्नो क्षेत्रमा लागेका छन् ।

दुई छोरीको विवाह भइसकेको छ । कान्छी छोरी सशस्त्र प्रहरीमा जागिरे छिन् । जेठा छोरा तरकारी खेती नै गरिरहेका छन् भने कान्छा छोरा कक्षा १२ मा अध्ययनरत छन् । तरकारी खेती आधुनिक तवरले गर्ने हो भने विदेसिनु नपर्ने टेकेन्द्रमायाका जेठा छोरा खेमराज पौडेल बताउँछन् । उनले भने, ‘शान्तिनगरमा उत्पादित तरकारी खेतीमा विषादी प्रयोग बढेको हल्लाले खेतीमा उत्साह घटेको छ ।’ कृषकका लागि तालिम, माटो परीक्षण, कृषि अनुदान र किसानको मनोवल उच्च बनाउन सरकारले प्रभावकारी कदम चाल्नु पर्नेमा उनले जोड दिए ।

जिल्ला कृषि विकास कार्यालय झापाले २०६३ सालमा उत्कृष्ट किसानको रुपमा टेकेन्द्रमायालाई सम्मान पनि गर्यो । सोही वर्ष प्रोत्साहन स्वरुप ६० हजार बराबरको कृषि अनुदानले थप हौसला मिलेको उनले सुनाइन् । अहिले पनि एकछिन चुलोचौका अनि खेतवारीमा भेटिने टेकेन्द्रमाया गाउँकै सफल र मेहनती किसानको रुपमा परिचित छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: