तलबै नधान्ने भो मेचीनगरको आन्तरिक आयले

  प्रकाशित मिति
२७ पुष २०७४, बिहीबार २१:३२


मेचीनगर । मेचीनगर नगरपालिका नयाँ संरचनामा गए पछि बनेको पहिलो बजेटमा गत वर्षको तुलनामा प्रशासनिक खर्च कम्तीमा दोब्बर हुने भएको छ ।

चालू आर्थिक वर्ष २०७४÷०७५ का लागि बुधवार प्रथम नगरसभाबाट १ अर्ब ३० लाख रुपैयाँको बजेट पारित गरिएको छ । बजेटमा यस वर्ष कर्मचारी तथा पदाधिकारीको कूल तलव शीर्षकमा ६ करोड ६३ लाख २० हजार रुपैयाँ छुट्याइएको छ ।

जबकि गत आव २०७३÷०७४ मा यो शीर्षकमा ३ करोड १ लाख २२ हजार ६०२ रुपैयाँ बजेट विनियोजन गरिएको थियो । प्रशासनिक खर्च अन्तर्गत कर्मचारी र नगर पदाधिकारीहरुको तलब, भत्ता र कल्याण कोषको रकम बुझिने गरिन्छ ।

यस बर्ष कर्मचारीहरुको तलबमा मात्र ४ करोड ८० लाख रुपैयाँ खर्च हुने गरी बजेट विनियोजन गरिएको छ भने नगरका पदाधिकारीहरुको पारिश्रमिकमा १ करोड १८ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

कर्मचारी कल्याण कोषमा ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । जबकि गत आवमा कल्याण कोषमा ३० लाख रुपैयाँ छुट्याइएको थियो । विगतमा पदाधिकारीको पारिश्रमिकमा खर्च हुँदैनथ्यो । यस बर्ष यो नयाँ शर्षिकमा खर्च थपिएको छ ।

नगरका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुको मासिक पारिश्रमिक र बैठक भत्ता नगरसभाबाट पास भएको छ ।
सभाले मेयरको ४० हजार १५० रुपैयाँ, उपमेयरको ३५ हजार रुपैयाँ, वडाध्यक्ष एवम् कार्यपालिका सदस्यहरुको २३ हजार ५०० रुपैयाँ र नगरका वडा सदस्यहरुको ७ हजार रुपैयाँ मासिक पारिश्रमिक तय गरेको छ ।

बजेटमा पदाधिकारी पारिश्रमिक शीर्षकमा यस बर्ष १ करोड १८ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ भने पदाधिकारी सेवा खर्च भत्तामा ५ लाख रुपैयाँ छुट्याइएको छ ।

गत आवको तलव ः ३ करोड १ लाख २२ हजार ६०२ रुपैयाँ
चालू आवको तलव ः ६ करोड ६३ लाख २० हजार रुपैयाँ
चालू आवको आन्तरिक स्रोत ः ४ करोड ५६ लाख २७ हजार ३१६ रुपैयाँ
………..
गत आवको इन्धन ः ३ लाख १२ हजार २५१ रुपैयाँ
चालू आवको इन्धन ः २८ लाख रुपैयाँ
…………

कर्मचारी तथा पदाधिकारीको भत्ता शीर्षकमा १ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रशासनिक खर्च अन्तर्गत २८ लाख रुपैयाँको इन्धन शीर्षकमा यस बर्ष बजेट छुट्याइएको छ ।

यो इन्धन पदाधिकारीका लागि १० लाख र कर्मचारीका लागि १५ लाख र अन्य इन्धन उपशीर्षकमा ३ लाख रुपैयाँ बजेटमा व्यवस्था गरिएको छ ।

गत वर्ष इन्धन शीर्षकमा ३ लाख १२ हजार २५१ रुपैयाँ मात्र बजेट छुट्याइएको थियो । पदाधिकारीहरुको बोझ थपिएको र कर्मचारीहरु समेत तत्कालीन गाविसबाट नगरमा समायोजन भई थपिएका कारण तलब, भत्ता र इन्धनमा खर्च ह्वात्तै बढेको हो ।

नगरको आम्दानीको स्रोतका आधारमा हेर्ने हो भने मेचीनगरको प्रशासनिक खर्च अत्याधिक नै रहेको अर्थ विश्लेषकहरु बताउँछन् ।

‘नगरपालिकाको आन्तरिक स्रोतभन्दा पनि ज्यादा भयो यो प्रशासनिक खर्च’, एक विश्लेषक लोकतन्त्र पोस्टसँग भन्छन्–‘४ करोड ५६ लाख आन्तरिक स्रोत भएको नगरपालिकाले ६ करोड ६३ लाख तलबमै खर्च गर्ने भएको देखिन्छ ।’

मेचीनगरले विभिन्न करबाट आव २०७४÷०७५ मा ४ करोड ५६ लाख २७ हजार ३१६ रुपैयाँ आन्तरिक स्रोत सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

तर यो आन्तरिक आयले नगरपालिकाको कर्मचारी र पदाधिकारीहरुको तलब मात्रै पनि भरणपोषण गर्न अपुग हुने देखिन्छ । चालू आवमा कर्मचारी र पदाधिकारीहरुको तलबमा मात्रै ६ करोड ६३ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान बजेटमै गरिएको छ ।

नगरपालिकाले आन्तरिक स्रोतको दायरा बढाउन र प्रशासनिक खर्च कटौती गर्न सके मात्र नगरको अर्थतन्त्र बलियो हुने विश्लेषकहरु दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: