तस्करी गर्ने मालिक, आरोप खेप्ने मजदुर

  प्रकाशित मिति
२३ पुष २०७६, बुधबार ०९:५५


पत्रकार पर्वत पोर्तेल

काँकरभिट्टा । काँकरभिट्टाको परिवर्तन थिएटरमा पत्रकार पर्वत पोर्तेलद्वारा लिखित नाटक ‘दशगजा–एक अयथार्थ’को मञ्चन भइरहेको छ ।

समाचार लेखनमा अब्बल पोर्तेलले नाटकमार्फत सीमा क्षेत्रमा हुने वारिपारि धन्धामा मजदुरी गर्ने सर्वसाधारण र कारोवारको नेपथ्यमा रहने मालिकमध्ये ‘को चाहिँ तस्कर हुन्’ भन्ने गम्भीर प्रश्नमा समाजलाई घोत्लिन बाध्य बनाएका छन् ।

नाटकको निर्देशन शिल्पी थिएटरका घिमिरे युवराजले गरेका छन् भने कविता नेपाल, लीला बिष्ट, बिमला चिमरिया, अभिषेक गर्तौला, एञ्जल खड्का, पूजा आचार्य, प्रतिक्षा आचार्य, राहुल ठाकुर, नवराज पाठक, मदन चिमरिया र कविता पौडेलले अभिनय गरेका छन् ।

पुस १७ गतेदेखि सुरु भएको नाटकको मञ्चन हरेक दिन दिउँसो १ बजे र ४ बजे गरी दुईपटक भइरहेको परिवर्तन थिएटरकी विमला चिमरियाले बताइन् ।

घिमिरे युवराज

उनका अनुसार सःशुल्क नाटक हेर्न सांसद्, राजनीतिक दलका नेता, प्रहरी, पत्रकार, व्यवसायी, विद्यार्थी लगायत सीमा क्षेत्रमा बसोबास गर्दै आएका सर्वसाधारण आउने गरेका छन् ।

लेखक पोर्तेलले नाटक ‘दशगजा–एक अयथार्थ’ सीमान्त सहरको दुर्दान्त कथा भएको जनाउँदै देखिरहेको र भोगिरहेको घटना नै नाटकको विषयवस्तु भएको बताएका छन् ।

उनको नाटकले सीमामा खास तस्करी गर्नेहरु सत्ता र शक्तिको आडमा निर्धक्क धन्धामा लिप्त हुने गरेको र जीविकाका लागि ज्यान माया मारेर मजदुरी गर्ने विपन्न व्यक्तिहरुलाई तस्करीको बिल्ला भिराउने गरिएको यथार्थलाई पर्दाफास गरिदिएको छ ।

मेचीनगरको काँकरभिट्टालाई केन्द्र बनाएर एक दशकदेखि नाट्य मञ्चन गर्दै आएको परिवर्तन थिएटरले यस अघि हुँदैन कलमको मृत्यु, मलाया एक्सप्रेस, सुकुम्बासी राजा, सुनामी, रेमिट्ल्यान्ड, राजाको नयाँ लुगा, उन्यू, बसस्टप, खदामा, छुई, अबिराम जस्ता सशक्त सन्देश भएको नाटक प्रदर्शन गरिसकेको छ ।

कान्तिपुर दैनिकका उपसम्पादक पोर्तेलले नै लेखेको ‘खदामा’ यस अघि परिवर्तन थिएटरले मञ्चन गरिसकेको छ । ‘खदामा’मा खाडी मुलुकमा रोजगारीका लागि जाने नेपाली महिलाले भोग्नु परेको सास्ती र हिंसालाई मार्मिक रुपमा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: