मेचीनगर, १९असोज । चीनतर्फका दुइटा नाका सञ्चालनमा आएका छन् ।
केही दिनदेखि पहिरोले सडक अवरुद्ध भएका कारण अनियमित भएको नाकाबाट सामान आयात सोमबारदेखि सुचारु भएको हो ।
चीनबाट मालबाहक गाडीहरु सिधै आउजाउ गर्न थालेको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।
चीनले यसबीचमा स्वास्थ्य सामग्री, इलोक्ट्रोनिक सामग्री मात्रै ल्याउन दिएको थियो । आजदेखि रेडिमेट गार्मेन्ट लगायत सामग्री बोकेका कन्टेनर पनि आउन थालेका हुन् ।
‘दिनमा ३० भन्दा बढी सामान बोकेका कन्टेनर आउन थालेका छन् । अब नाका पूर्ण रुपमा सञ्चालनमा आयो,’ खड्काले भने ।
पहिलेजस्तो नाकामा पुगेर सामानहरु अनलोड गरी पुनः नेपाल तर्फको ट्रकमा लोड गर्नुपर्ने झन्झट अब हटेको उनले बताए ।
‘सामान बोकेका कन्टेनर सिधैं काठमाडौं आउजाउ गर्न थालेका छन्,’ उनले भने ।
यस्तै सिन्धुपाल्चोक स्थित तातोपानी नाका पनि सञ्चालनमा आएको छ । करिब डेढ महिनादेखि यो नाकाबाट मालवाहक सामग्री बोकेका कन्टेनर आएका थिएनन् ।
गत असोज १३ मा नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका सञ्चालनमा ल्याउनेबारे सहमति भएको थियो । आज १० वटा भन्दा बढी कन्टेनरबाट कपडा लगायत सामग्री आएको तातोपानी भन्सारले जनाएको छ ।
दुबै नाका सञ्चालनमा ल्याउन त्यहाँका कर्मचारीदेखि सामान लोड अनलोड गर्ने मजदुरको यसअघि नै पीसीआर परीक्षण गरिएको थियो । चाडवाडको मुखमा नाका सञ्चालनमा आएपछि सामान आयात गर्न सहज भएको छ ।
(सेतोपाटी)