तानाशाह थिएनन् पृथ्वीनारायण

  प्रकाशित मिति
२७ पुष २०७६, आईतवार १९:२१


ज्ञानमणि नेपाल

वि.सं. १८०१ देखि पृथ्वीनारायण शाहले १९–२० वर्षको उमेरमा एकीकरणको प्रारम्भ गरेका हुन् । उनले एकीकरण अभियान किन थाले त ? कसैले विस्तारवाद भन्छन्, कसैले तरवारबाट विजय गरेको भन्छन् । त्यसकारण एकीकरणलाई नकार्नेे मान्छे पनि छन् । तर ऐतिहासिक घटनाक्रमहरूलाई ठीक ढङ्गले बुझ्न र त्यसबारे सही धारणा बनाउनका लागि तत्कालीन नेपालको वस्तुस्थिति कस्तो थियो भन्ने बुझ्नु र थाहा पाउनु जरुरी छ ।

तत्कालीन अवस्थाको मेची र महाकाली क्षेत्रभित्रका भूगोलको मात्र कुरा गर्दा पनि त्यसबेला गण्डकी प्रदेशमा २४ वटा, कर्णाली प्रदेशमा २२ वटा, नेपाल खाल्डामा ३ वटा, मनोहरादेखि यता काठमाडौँ, मनोहराबाट उता पाटन, मनोहरापारी भक्तपुर, मकवानपुर, चौदण्डी, विजयपुर, गोर्खा जम्मा ५३ राज्य थिए । यसरी त्यसबेला मेची महाकालीको भूगोलभित्र मात्रै ५३ राज्य थिए ।

छिमेकीको काम साँध मिच्ने र अर्काका प्रजालाई दुःख दिने नै थियो । कतिसम्म भने धार्मिक आस्था बोकेर पशुपति पाटन, भक्तपुर, मकवानपुर, गोर्खा, पाल्पा, विजयपुरका मानिसहरू आउँदा लहडका भरमा मन नपरेका मानिसहरूलाई त्यहाँका राज्यका मानिसले ठिँगुरा ठोकेर राखिदिन्थे ।

भक्तपुर र काठमाडौँको सधैँभरिको शत्रुता थियो । टुकुचा, धुलिखेलको फाँटमा धेरै धान, तरकारी टन्नै फल्थ्यो । एक रोपनी जग्गामा मात्रै पनि ५, ६ मुरी धान फल्दथ्यो । त्यस्तो उर्वर ठाउँमा सबैका आँखा लाग्ने गर्दथे र जसले सक्यो, उनीहरूले लुट्ने गर्दथे । काठमाडौँको राजा र भक्तपुरको राजाको बीचमा वैमनस्यता थियो । काठमाडौँका जनता भक्तपुरमा बिस्केट जात्रा हेर्न जान्थे । त्यहाँ गएको बेला नाइके नाइके नेवारहरूलाई बाँसको ठिँगुरा ठोकेर लगेर टुँडिखेलमा लडाइदिन्थे । च्यूरा, खुर्सानी र नुन खान दिन्थे ।

भक्तपुरका जनता काठमाडौँमा इन्द्रजात्रा हेर्न हुलका हुल आउँथे । काठमाडौँका राजाले पनि भक्तपुरका जनतालाई ठिँगुरा ठोकेर राखिदिन्थे । दर्शन गर्न आउँदा पनि थुनिदिने । एउटा राज्यमा विवाह गर्न जाँदा अर्काे राज्यका मानिसले केटी नै हरण गरिदिन्थे । जङ्गल यतै थियो । पाल्पाका मान्छे यतै शिकार गर्न आउँथे । त्यस्तो किसिमको अराजक सामाजिक परिस्थिति थियो । लडाइँ नभएको दिन नै हुँदैनथ्यो ।

त्यतिखेर उपत्यकामा नुन ल्याउने स्रोत भनेकै भोट (तिब्बत) थियो । पूर्वमा ओलाङचुङगोला, काठमाडौँमा कुतिकेरुङ र यारी नाकाबाट नुन आउँथ्यो । व्यापारकै लागि त्यो नाका खोलिएको थियो । भोटमा अन्न, घिउ नुन, चाँदी, सुन लैजानु पथ्र्यो । १९५३ सम्म यो प्रक्रिया जारी नै रह्यो । १९५३ मा वीरशमशेरले अङ्ग्रेजसँग सम्झौता गरेपछि दक्षिणबाट पनि नुन आउने बाटो खुलेको हो ।

त्यस्तो परिस्थितिमा युद्धबाट जनता वाक्कदिक्क भएको तथा कसैले एकता गरिदिएर दिगो शान्ति स्थापना भए हुन्थ्यो भन्ने खालको मनस्थिति उनीहरूमा विकसित भइरहेको कुरा पृथ्वीनारायण शाहले बुझेका थिए । त्यसैले पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा आक्रमण गर्ने आँट गरे । भन्ने नै हो भने त्यसबेला गोरखाली राज्य सबैभन्दा गरिब र लमजुङबाट छुट्टिएर आएको कान्छो राज्य थियो । ऊ आफैको पनि लमजुङसँग झगडा भइरहन्थ्यो ।

जनताको मन बुझेर नै पृथ्वीनारायण शाहले टुक्रिएका राज्यहरूलाई एकै ठाउँमा ल्याएर विशाल राज्य निर्माण गर्ने अभियानको थालनी गरेका थिए । त्यसो त उपत्यकासँगको पहिलो लडाइँ पृथ्वीनारायण शाहका बाबुले नै सुरु गरेका हुन् तर त्यो असफल भएको थियो । हारेपछि जयन्त राना भन्ने सिपाही जयप्रकाश मल्लसँगै मिल्न पुगे । पृथ्वीनारायण शाहले उनलाई फर्कन र पुरानै ओहोदामा रहेर काम गर्न पाउने आश्वासनसहित चिठी लेखेछन् । तर दण्डको भय अनि नुनको सोझो गर्ने प्रवृत्तिका कारण रानाले ‘अब मैले जयप्रकाशको नुन खाइहाले आउन सक्दिनँ’ भनी प्रत्युत्तर पठाएका थिए ।

राजाज्ञा अवज्ञा गरेको तथा वैरीसँग मिलेको त्यही झोकमा पछि २० वर्षे ठिटा जोश भएका पृथ्वीनारायण शाहले रानालाई काटेर मारे । उनले जितेपछि प्रतिशोधमा मान्छे मारेको त्यही एउटा घटना हो । उनले उपत्यका आक्रमण गर्दा पनि आइमाई, केटाकेटी, किसानलगायत निर्दोषको हताहती बढी हुने आँकलनका साथ मुख्य सहरमा हैन, बाहिरी इलाकामा युद्ध सञ्चालन गरेको तथा शत्रुलाई परास्त गरेको देखिन्छ ।

त्यसबेला राज्य विस्तार तथा एकीकरणका लागि जोसुकै राजाले पहल गरे पनि जनताले साथ दिन सक्ने स्थिति विद्यमान थियो । तर त्यो इच्छा र आँट अरू कुनै राजाहरूले गरेनन्, पृथ्वीनारायण शाहले गरे ।

राज्य विस्तार वा एकीकरणकोे इच्छा पृथ्वीनारायण शाहमै किन जाग्यो त ? स्वाभाविक रूपमा प्रश्न उठ्छ । इतिहासको विश्लेषण गर्ने हो भने गोरखा राज्यको जन्म नै सङ्घर्षबाट भएको देखिन्छ । लमजुङसँगको रक्तपातपूर्ण द्वन्द्वपश्चात गोरखा राज्यको जन्म भएबाट पनि उनीहरूले पहिलेबाटै सङ्घर्ष गर्दै आएको प्रष्ट हुन्छ । राम शाहको पालामा फेरि गोरखा राज्यमा न्याय पाइन्छ भन्ने नाम चलेको तथ्यबाट तथा ‘राजा भएपछि दिग्विजय गर्नुपर्छ’ भन्ने धर्मग्रन्थ पुराणहरूमा लेखिएका कुराबाट पनि उनले राज्य विस्तारको प्रेरणा पाएको हुन सक्छ ।

त्यसो त उनले रक्तपात गरेर, तरबारको बलबाट युद्ध जितेका होइनन् । पछि उनले मान्छे नमार्ने नीति पनि लिए । कीर्तिपुरमा आक्रमण गरे । त्यहाँ आक्रमण गरेर कीर्तिपुरका जनता र राजालाई तर्साउन खोजेका रहेछन् । कालु पाण्डेले त्यहाँ अहिले आक्रमण नगरौँ, किनभने हामीसँग पैसा पनि कम छ, हामी अहिले सक्दैनौँ । पृथ्वीनारायण शाहले तँलाई मर्न डर लाग्यो भने रे । कालु पाण्डेलाई झोक चल्यो । युद्ध गर्न गए, मरे पनि ।

अब पृथ्वीनारायण जयप्रकाशसँग मिल्न आए । हामी चार राज्य मिलौँ, गोरखा, पाटन, ललितपुर र मधेस । जितेको जग्गा हामीले बाँडेर खाँऔँ । तिमीहरू धनी छौँ हामीलाई पैसा देऊ हामी लड्छौँ । हामी चार र मकवानपुरलाई पनि ल्याउँ भने । प्रस्ताव कसैले मानेन । त्यसबेला जनतालाई अब भुरेटाकुरे राजाहरूसँग बस्न सकिँदैन भन्ने भइसकेको थियो । चाहेको भए सबैले युद्ध गर्न सक्दथे । सबै मानिस प्रताडित थिए । सामाजिक कुरामा पनि, व्यापारमा पनि । भोटबाट नुन लिएर आयो अर्काे राज्यका मानिसले लुटिदिन्थे । सुन, चाँदी लिएर आयो लुटिदिन्थे, सुरक्षा पनि थिएन । सुरक्षा दिने कसले ? सुरक्षा पाएन भने जसको शक्ति उसको भक्ति भन्ने थियो । मान्छेलाई टिक्न एकदमै गाह्रो थियो ।

जयप्रकाशले नमानेपछि के भयो ? नमानेपछि लडाइँ सुरु भयो । जयप्रकाशले साँखु र चाँगु जितेका थिए । पृथ्वीनारायणले नुवाकोट जितेपछि यहाँ बसेनन् । नुवाकोट जितेपछि केरुङको बाटो बन्द भयो । अब कुतीको बाटो बन्द गर्छु भनेर कुतीतिर लागे । त्यहाँ उनका ठूला ठूला सेनापती मरे । उनका ढाल तरबार भनेका पाँडे र बस्न्यात हुन् । पाँडे त्यहाँ मरे । शिवराम बस्न्यात नवलपुरमा मरे ।

जनधनको क्षति भयो । अब लड्नु भएन, मान्छेलाई हात लिनुपर्छ भन्ने सोचे । कुलेखानीका मान्छेलाई तिमीहरूले शुद्ध पानी पिउन पाएका छैनौँ । जसरी दोलखाली हाामीसँग मिल्न आए, उनीहरूको सुरक्षा हामीले गरेका थियौँ । तिमीहरू पनि आयौँ भने तिमीहरूलाई मिलाउने जिम्मा हाम्रो भनेपछि दोेलखाका मानिसले माने । पृथ्वीनारायण शाहले एक ठाउँ जितेपछि सबैको मानसिकता जित्दो रहेछ भन्ने भयो । कीर्तिपुरमा त्यही कारण युद्ध गरेका रहेछन् । कीर्तिपुर उनले तीन पटकमा जिते । जनतालाई हात लिने नीतिको कारण सबै नेवार र व्यापारीहरूलाई हात लिएका थिए ।

लामिडाँडा पृथ्वीनारायण शाहले जितेका थिए । अब लडाइँको कुरा छाडेर नाकाबन्दी गर्न लागे । कीर्तिपुरमा पनि नाकाबन्दी गरेर जितेका हुन् । घेर्दैघेर्दै लाने क्रममा अब ससुराली राज्यमा पुगे, जिते पनि । युद्धमा आफ्नै मान्छे मर्छन् । त्यसैले युद्ध गर्नु हुँदैन भन्ने सोचे । १२०० पल्टन सिपाही मात्र थिए र पैसा पनि थिएन । एउटा नेवारले लेखेको छ । चौंरीगाईको सिङमा पैसा हालेर पृथ्वीनारायण शाह लड्न आए । चौंरीगाईको सिङमा एक मानो पैसा मात्र अटाउँथ्यो । एक मानो पैसा भनेको सय रुपियाँ थियो । एक सयको को ५, ६ मुरी धान आउँथ्यो ।

घेर्दै लैजाने क्रममा कीर्तिपुरमा एउटा जुक्ति गरेछन् । हामी मिलौ, किल्ला मैले छोड्छु, तपाईं आउनुस् भनेछन् । १९०१ सालमा नुवाकोट र १९०० सालमा मकवानपुर जितेका थिए । मकवानपुर जितेपछि कीर्तिपुरका मानिसलाई गाह्रो भयो । कपास त मकवानपुरबाटै आउँथ्यो । उनीहरूले घरेलु कपडा बनाएर लगाउँथे । नुवाकोट जित्ने बित्तिकै उनले चाँदीको टक काटे । कीर्तिपुरले भनेछ तपाईंहरू आउनुस् हामी मिलौँ । ५, ७ जना नाइके गएछन् । राति मासु र भात खुवाएछन् । राति मस्त निद्रामा टाउको हानेर उनीहरूलाई मारिदिएछन् । पृथ्वीनारायण शाहलाई त्यो रिस थियो । उनले त्यो रिस देखाउन पाएका थिएनन् । दोलखाले पनि मिलौँ भनेर प्रलोभन देखायो । पछि दोलखासँग पनि मिले । एउटा कविले के पनि भनेको छ भने कीर्तिपुरका मानिसले नुन ल्याउन नपाएको कारण पुरानो इँटाको धुलो पनि खाए । इँटाको धुलो नुनिलो हुन्छ ।

कुती केरुङ बन्द भइसकेपछि नुन चोरेर ल्याउन थाले । भोटमा मान्छे मर्यो भने लास यहाँ ल्याउँथे । लास ल्याउने बहानामा नुनको खात बनाएर ल्याउँथे । अरू मान्छेलाई आवतजावात गर्न दिने तर व्यापारीलाई नदिने गर्थे । घाटमा लैजान दिन्थे । भोटेका देशमा मरेपछि अगति परिन्छ भन्ने पृथ्वीनारायण शाहलाई परेको थियो । त्यसरी नुन ल्याउँथे ।

एउटा श्लोक छ ‘नेपाल पाटन भादगाउँ भनिदा सल हुन्छ आपसमा ।’ अहिले त कान्तिपुर भन्न थाले काठमाडौँलाई पनि । नेपाल भन्ने देश हराउन लाग्यो । यो देशलाई बचाउने कोही थियो भने पृथ्वीनारायण शाह नै हुन् र आधुनिक नेपालको निर्माता पनि उनै हुन् । त्यसबेला व्यापार नीति, परराष्ट्र नीति केही थिएन । मान्छे आफूखुसी थिए । सुरक्षाको चाहना गरिराखेका थिए ।

पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आँखा लाए । कीर्तिपुरले हार्यो । जुन मान्छेलाई कीर्तिपुरका मान्छेले राति मारेका थिए ती मारेका मान्छेलाई दण्ड दिन सुरु गरे । त्यतिबेलाको दण्ड थियो, ज्यानको बदला ज्यान । ती मानिसलाई समातेपछि नुवाकोट भएका पृथ्वीनारायण शाहले भने ‘पहिले ती मानिस जयप्रकाश मल्लका प्रजा थिए । अहिले त मेरा प्रजा भए । मैले मेरा प्रजालाई कसरी मार्न सक्छु ?’ यिनीहरूलाई ज्यान नमार्ने चिन्ह लगाएर छाडौँ भने । महिलाले गलत काम गरे निधारमा डामेर, चिन्ह लगाएर छाडिदिन्थे ।

चोरको चोरऔँला काटिदिन्थे । चोरले बजार हिँड्दा औँला लुकाएर हिँड्ने गर्थे । नाक काट्दा नाकको टुप्पो मात्र काट्नु भने । तर भोटेले नाक र ओठसमेत काटिदिएछ । भोटेले नाक र ओठसमेत काटिदिएको हुनाले भोटेको पनि नाक र ओठ काटिदिएछन् । त्यतिबेला एउटा कविले नाक काटिनेहरूको सङ्ख्या उल्लेख गर्दा ‘कास्यत’ लेखेका छन् । संस्कृतमा तीन भन्दामाथिको सङ्ख्या कास्यत र दसभन्दा माथिको बहु लेखिन्छ । यस हिसाबले हेर्दा त्यसबेला नाक कान काटिनेको सङ्ख्या ३ भन्दा माथि र १० भन्दा कम हुनुपर्छ । मेरो आँकलनमा त्यसबेला आठजना जतिको नाक कान काटिएको हुुनुपर्छ ।

पृथ्वीनारायण शाहले कीर्तिपुर जितेपछि जयप्रकाश भागिहाले । कान्तिपुरमा त लडाइँ नै भएन । यहाँ चार ढोका थिए । सबै ढोका बन्द हुन्थे । फलामका ढोका थिए । पृथ्वीनारायण शाह जित्दै आएर दहचोक बसेका थिए । इन्द्रजात्राको दिन जयप्रकाश मल्ल र उनका भारदार जाँड खाएर बसेका रहेछन् । गोर्खालीहरू ढोका फोरेर पसे । गोरखाली पसेको भनेपछि सबैजना भागाभाग भए । जयप्रकाश मल्लले दरबार भरी बारुद भरेका रहेछन् । बन्दुक पड्काउँदै आउँदा बारुदमा आगो सल्केर तुलाराम पाँडे मरे । जयप्रकाश भागेर पाटन गए । उनी भागेपछि पृथ्वीनारायण जयप्रकाशकै सिंहासनमा बसे । पाटनमा छ प्रधानको राज्य थियो । राजा मार्ने पनि उनीहरू, स्थापना गर्ने पनि उनीहरू । परिवर्तन गर्ने पनि उनीहरू नै । त्यहाँ प्रधानहरूको जगजगी थियो ।

जयप्रकाश बाठो हुनाले भागे । तेजनरसिंह पनि भागे । दलमर्दनलाई पनि राजा बनाउन पाटन ल्याएका थिए । नुनको बाटो खुल्छ भन्ने ठानेर दलमर्दनलाई राजा बनायो तर पृथ्वीनारायणले मानेनन् । काठमाडौँमा पादरीहरू चर्च बनाएर बसेका थिए । पादरीले अङ्ग्रेजलाई चिठी लेखेछन् । तपाईंले नेपालमा लडाइँ गर्न उपयुक्त वातावरण छ, किनभने जयप्रकाशले आत्मसमर्पण गरेका छैनन् ।

तपाईंहरू आउनुभयो भने यहाँ नाकाबन्दी उठाइदिनुहुन्छ । जयप्रकाशलाई सहायता गर्नुभयो भने हामी सजिलै जित्न सक्छौँ । जयप्रकाश हामीसँग मिल्छन् । युद्ध खर्च पनि जयप्रकाशले नै बेहोर्नेछ भन्ने व्यहोराको उक्त चिठी पृथ्वीनारायणले फेला पारे । चिठी पाएपछि अङ्ग्रेजहरू आए । पृथ्वीनारायणले उनीहरूलाई सिन्धुलीगढीबाट भगाइदिए । अरिङ्गालका गोला पनि अङ्ग्रेजलाई लगाइदिए भन्ने चलन छ ।

अङ्ग्रेजहरू मकवानपुर पुगेपछि नवाव पनि आयो । नवावलाई अङ्ग्रेजले राजधानीबाट निकालेकाले उदानवाला भन्ने किल्लामा आएर बसेको थियो । त्यो किल्ला गङ्गाजीको किनारामा थियो । अङ्ग्रेजले मकवानपुर हारेपछि नवावलाई गुहारे । नवाव मकवानपुर सिकार खेल्न आउँदो रहेछ । मकवानपुरको राजाले तपाईंहरू सिकार खेल्न नआउनुस्, बरु दुई हात्ती म पठाइदिन्छु भन्ने सन्धि गरेका रहेछन् । जब पृथ्वीनारायण शाहले मकवानपुर जिते, दिग्बन्धन शाहले उनीसँग सहायता माग्यो । त्यहाँबाट पृथ्वीनारायण शाहले मुसलमान र अङ्ग्रेज दुवैलाई लखेटे । अङ्ग्रेजले गोरखाली शक्ति भनेको अजेय शक्ति रहेछ भन्ने ठाने । पृथ्वीनारायण शाह चलाख मानिस थिए । उनीसँग दुई वकिल थिए । ससुराली राज्यबाट ल्याएका थिए । दिनानाथ उपाध्याय र शौरभसिंह कार्की । शौरभसिंह कार्कीले धोका दियो, दिनानाथ उपाध्यायले भने बफादारी निभाए ।

‘जनता भनेका चार वर्ण छत्तिस जातको साझा फूलबारी हो । सबै मिलेर बस्नुपर्छ ।’ यो उपदेशबाट थाहा हुन्छ, उनी खुङ्खार तानाशाह होइनन् । एकीकरण जनताकै भलोका लागि गरेका हुन् । उनले भनेका छन् ‘मैले साना दुःखले अज्र्याएको मुलुक होइन ।’ सबैको मेल होस् । उनले उपदेश बोलेका हुन्, उतार्ने उनका भाइभारदार हुन् । इन्द्रचोक नपुग्दै एउटा बस्न्यातको घर छ । उनको उपदेश बस्न्यातको घरमा पाइएको हो ।

पादरीहरू सात समुद्र पारिका थिए । यिनीहरू राम्ररी बसिदिए हुन्थ्यो भन्ने उनको इच्छा थियो तर यिनीहरू त छली रहेछन् । एक हातमा उनीहरूको बाइबल रहेछ, एक हातमा तरबार रहेछ । उनीहरको कुरा बुझेर पृथ्वीनारायणले । तिमीहरू आफ्नो कुम्लो बोकेर जाऊ भनेर पठाइदिए । उनीहरू साठी, पैँसठ्ठी जना थिए । उनीहरू गएर बेतिहामा बसे । त्यहाँ बसेर उनीहरूले जासुसी गरे । त्यहाँ जिलेस्पी भन्ने फादर थियो । उसले बेलायतबाट निक्लिने जर्नलमा अङ्ग्रेजी लेख लेख्यो । पृथ्वीनारायण शाह भनेको क्रुर तानाशाह हो, यसले धेरै मानिस मार्यो । कीर्तिपुरका आठ सय मानिसको नाक काटेर मार्यो । यो लेख विश्व प्रसिद्ध भयो । ब्रह्मवाक्य भयो । त्यो एकदम प्रचार भयो । यसकै आधारमा कीर्तिपुरका इतिहासकार त्यही लेख्छन् ।

पृथ्वीनारायण शाहले यहाँ कुनै अङ्ग्रेजलाई आउन दिँदैनथे । एउटा फोग्ले भन्ने अङ्ग्रेज भोट जान्छु भनेर आयो, उनले जान दिएनन् । पृथ्वीनारायण शाहले भोटका राजालाई सन्देश पठाएछन्, यो मान्छे म कहाँ आएको थियो । मैले बस्न दिइनँ । तिमीहरूकहाँ आएको थियो रे होसियार भएर बस । यिनीहरू कस्ता हुन् भने कस्मेटिक सामान दिएर सुन चाँदी लैजाने ।

पहिलो देश विकास गर्ने शासक पृथ्वीनारायण शाह हुन् । उनले छवटा राज्य मात्र जितेका हुन् । उनको छोरो प्रतापसिंह विलासी थिए, उनले त्यसतर्फ खासै केही काम गरेनन् । राजा हुन योग्य छोरो बहादुर शाह थिए तर कान्छो छोरा भनेर राज्य दिएनन् । दलजित शाहले भनेका थिए, ‘यी युवराजबाट राज्य चल्दैन । सरकारले थालेको काम पनि हुँदैन । कान्छा बहादुर शाहलाई राज्य दिन पाए भने काम सिद्ध हुन्छ ।’ त्यो कुरा कताबाट युवराज र युवराजकी आमाले सुने । त्यसपछि बहादुर शाहलाई क्रिया गर्न दिएनन् । क्रिया सकेको अर्काे दिन बहादुर शाहलाई निकाले ।

भाउजू हुन्जेल उनलाई त्यहाँ आउन नै दिइएन । जब भाउजू मरिन् अनि क्रिया गर्न आए । नेपाल आएपछि पृथ्वीनारायण शाहका जति मानिस थिए, जम्मै उनका हातमा आए । राज्य उनले जित्न थाले । उनले बलियासँग मिल्ने र आफूसँग मिल्न आउनेलाई मिलाउने गर्न लागे । आठ वर्ष शासन गर्दा कालीगण्डकीदेखि लिएर चौबिसे राज्य र बाइसे राज्य जिते । त्यसमाथि कुमाउ, गड्वाल जिते । यमुना नदी साँध लाए । रणबहादुर शाह १८ वर्ष पुगेपछि तपाईंले शासन गर्नुपर्छ भनेर अरू मानिसले कुरा लगाउन थाले । बहादुर शाह सरक्क उठेर शासन छाडिदिए । वसन्तपुर दरबारमै बसे ।

उनी अक्रामक, जनता मार्ने सिद्धान्तका होइन । उनी सबैलाई मिलाएर लैजाने, जनतालाई सुख दिने, प्रजा मोटा भए दरबार बलियो हुन्छ । जितेर आउनेलाई प्रमोसन दिने, अपराध गर्नेलाई आफूले नमार्ने, तरबारको बलले राज्य गर्ने, तानाशाहको नीति थिएन ।

(ज्ञानमणि नेपाल प्रसिद्ध इतिहासकार हुन् । यो सामग्री रातोपाटीबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: