तारवार मर्मत नहुँदा गाउँ पस्यो हात्ती

  प्रकाशित मिति
१३ फाल्गुन २०७७, बिहीबार १८:५८



भद्रपुर, १३ फागुन । झापाको दक्षिण जलथल क्षेत्रका रैथाने जंगली हात्ती नियन्त्रणका लागि बनाइएको सौर्य तारवारको मर्मतसम्भार नहुँदा हात्ती गाउँ बस्न थालेको स्थानीयवासीको गुनासो छ ।

प्राकृतिक संरक्षण कोष र सरकारको सहकार्यमा कचनकवल, हल्दिबारी, बाह्दशी र भद्रपुरको दक्षिण क्षेत्रसम्म ३७ किलोमिटरमा विद्युतीय तारवार जडान गरिएको थियो । तर तारवारको मर्मत सम्भार नहुँदा करेन्ट प्रवाह नै नभएको कारण हात्ती गाउँ पसेर दुःख दिन थालेको स्थानीवासीको गुनासो हो ।

भद्रपुर नगर वन महासंघका अध्यक्ष चन्द्र तामाङले तारवार गरिएको क्षेत्र स्थानीय समुदायलाई हस्तान्तरण नगरेको र कोष आफैंले समेत मर्मत सम्भारमा चासो नदिँदा समस्या भएको बताए । सौर्य व्याट्री ‘ड्यामेज’ भएको, पोलहरु ढलेका कारण करेन्ट प्रवाह नहुँदा हात्ती घेरावारा नै भत्काएर गाउँमा पस्न थालेको उनको भनाई छ ।

‘‘काम चाहिँ गर्ने तर मर्मतसम्भार नगर्ने हो भने यस्ता तारबारको काम छैन”, उनले भने, ‘‘कि तत्काल समुदायलाई हस्तान्तरण गर्नुपर्यो कि कोष आफैंले मर्मतको काम गर्नुपर्यो ।” उनले जलथलका २२ वटै सामुदायिक वनको वरिपरि सौर्य घेरावार गर्ने भनिए पनि अझै विशाल सामुदायिक वनदेखि काली मन्दिर सामुदायिक वनसम्मको करिब १० किलोमिटर भन्दा बढी स्थानमा काम नै सुरु नभएको गुनासो गरे ।

डिभिजन वन कार्यालय झापाका अधिकृत ओम भट्टराईले यस विषयमा कार्यालयले केही गर्न नसक्ने बताए । उनले भने “प्राकृतिक संरक्षण कोष आफैंले काम गरिरहेको छ हामीले त समन्वय गर्ने काम मात्र गर्छौ । यसको मर्मत सम्भार गर्ने काम स्थानीय र कोषकै हो ।”

प्राकृतिक संरक्षण कोषका कार्यक्रम अधिकृत विरेन्द्र गौतमले सौर्य तारवार मर्मत सम्भारका काम चारदिन अघिदेखि भइरहेको बताए । उनले सामुदायिक वन र स्थानीयवासीले अपनत्व नलिइएका कारण समस्या आएको बताए । उनले तारवार गरिएका क्षेत्रमा सरसफाई नभएको, रुख ढाल्दा तार कुच्चिएको र पोल लड्दा समेत कतिपय सामुदायिक वन र समुदायले चासो नदिएको गुनासो गरे ।

“सामुदायिक वनलाई लिखित नभए पनि मौखिक हस्तान्तरण भइसकेको छ” उनले भने “कसैले राम्रो हेरचाह र मर्मत सम्भार गर्नुभएको छ कसैले बेवास्ता । सबैले ध्यान दिनुपर्छ र अपनत्व ग्रहण गर्नुपर्छ । अनि मात्र तारवार टिकाउ हुन्छ ।” उनका अनुसार प्रत्येक एककिलो मिटरको अन्तरमा १०० केभीको व्याट्रीसहित सोलर प्यानल राखिएको छ ।

अधिकृत गौतमले बाँकी रहेको स्थानमा आर्थिक बर्ष २०७६÷०७७ मै विद्युतीय तारवार गर्ने भनिए पनि कोडिभ–१९ का कारण गर्न नसकिएको बताए । तारवार नभएको क्षेत्रको सर्भे कार्य सकिएको जानकारी दिँदै उनले कोषले तत्काल टेन्डरको प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै भने, “अब चाडै काम सुरु हुन्छ ।”

गतबर्षको पुस महिना मै रु. चार करोड ७४ लाखको लाखतमा सौर्य तारबारको कार्य सो क्षेत्रमा सम्पन्न भएको थियो । जसका कारण जंगली हात्तीको समस्याबाट मुक्त हुने स्थानीयवासीले अपेक्षा गरेका थिए । –––

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: