तिमी कुन अमिन हौँ ?

  प्रकाशित मिति
४ बैशाख २०७३, शनिबार ०५:३२


gn sirविर्तामोड ४ बैशाख । पन्ध्रवर्ष अघि मैले ‘काली’सँग विहे गरेको थिएँ । ‘काली’सँग विहे गर्दा मैले एक हिसाबले सामाजिक विद्रोह नै गर्नु परेको थियो । त्यसको एउटै मात्र कारण थियो । काली सबैथोकले लायक भए पनि ऊ कथित तल्लो जात भनिएकी कामीकी छोरी थिई । हाम्रो गाउँमा ‘काली’ जत्तिको जेहेन्दार चेतनशील र शिलस्वभावकी केटी कमै थिए । यति हुँदा हुँदै पनि कथित माथिल्लो भन्ने मपाईत्वले अनमत्त भएको एउटा समुदायलाई कालीसँग मेरो विहे पचेको थिएन । तर, कालीसँग मेरो विहे सामाजिक विभेदको कुनै रुढिग्रस्त बारले छेक्न सकेन । मैले ‘काली’सँग विहे गरेरै छोडे ।
करिब १५ वर्ष अघि मैले लेखेको यो कथा मेची जनसाधारण उमाविको स्मारिकामा छापिएको थियो । यो स्मारिकामा छापिएको काली शिर्षकको यो कथा शान्तिनगर वर्नेका एक जना मेरा साथीकी बहिनीले पनि पढेकी रहिछन् । संयोगवस एकदिन उनको घरमा जाँदा ती बहिनीले सोधिन्–‘दाई तपाईले साच्चै कालीसँग विहे गरेको हो ?’ मैले भने–‘मैले कालीसँग लगनगाँठो नै कसेको त होइन तर, कालीहरूसँग विहे गर्न सन्देश दिनसम्म खोजेको हुँ ।’
यो बीचमा यस्ता कथाहरू अरु धेरै लेखिए । अखबारका पानाहरू धेरै रङ्गिए, धेरै धेरै भए ओठे र कोठे गोष्ठि, भाषण र सेमीनार अनि कागजी अधिकारका बकम्फुसे कुराहरू । तर, हाम्रो थोत्रो सामाजिक मानसिकतामा कुनै परिवर्तन आएन ।
हाम्रो पुरातन सामाजिक विभेदकारी मानसिकताको ग्रन्थी अझै धेरै चाम्रो बन्दै गयो । न्याय, समानता र स्वतन्त्रताका धेरै कुराहरू कथुरिए । तर, सामान्ती चिन्तनको पत्रु मानसिकता अरु बढेर पो गएछ ।
लोकतन्त्र, गणतन्त्र र समावेसीका प्याकेजिङ भाषणले हाम्रा कानका जाली फुटे पनि दासताको थुप्रो लागेको गिदीमा कहिलै नविन सोचको प्रवेशसम्म भएन ।
आज बाहुनडाँगीकी भीमकुमारी त्यसैको एउटा प्रतिनिधि पात्र बन्न पुगेकी छन् । उनी मात्र होइन यो देशमा धेरै भीमकुमार र भीमकुमारीहरू कथित तल्लो जातको नाममा सामन्ती सोचको छुत अछुतको जाँतोमा पिल्सिरहेका छन् । जसले छुत र अछुतको तगारो लगाउने गर्छन् । मलाई सोध्न मन लाग्छ, के मान्छेको रगतको ब्लड ग्रुप अर्थात रक्त समूह छुट्याउँदा छुत र अछुत भनेर नामाकरण गरिन्छ ? कि मेडिकल साइन्सको सिद्धान्त अनुसार छुट्याउने गरिन्छ ।
यो त एउटा सामान्य उदाहरण मात्र हो । तर, हामीलाई सबै कुरा थाहा भएर पनि हामीले बुझ पचाएका मात्र हौँ । किनकि, हाम्रो सोच र चिन्तनमा भएको छुवाछुत रुपी दम्भ र प्रेत हटाउन हामी चाहँदैनौँ । भीमकुमारीहरूलाई हामीले हौसला दिएर सामाजिक क्षेत्रमा अग्रसर बन्न प्रेरित गराउनु पर्ने हो या दलित भएकै कारण उनले पाएको सामान्य अवसरलाई नानाथरी बखेडा निकालेर हतोत्साहित गराउनु बुद्धिमता हो ?
चैत्र २९ गतेको लोकतन्त्र पोष्टमा भीमकुमारीको बारेमा जुन समाचार पढेँ, म आफैँलाई आफैँदेखि लज्जा लाग्यो । एउटी दलित समुदायकी छोरीचेलीले पाएको सामान्य जागिरका विषयमा यति धेरै राजनीति हुनु कतिसम्म सोभनीय छ ? हुन त हामी यति धेरै चेतनशील छौँ कि जसले हाम्रो दैनिक जीवनमा नभइ नहुने वस्तुमा आफ्नो परिना बगाएर जसले हामीलाई उसको सृजना दिन्छन्, उनीहरूलाई नै हामी कथित तल्लो जातको उपमा भिराइ दिन्छौँ । गहना बनाउनेलाई भन्दा लाउनेलाई, खुकुरी बनाउनेलाई भन्दा किन्ने र भिर्ने, कपडा सिलाउनेलाई भन्दा लगाउनेलाई प्रशंसा गर्ने हामी हाम्र्रो सभ्य भनिने समाजका कतिसम्म समानताका हिमायति छौँ यो त हामो व्यवहारले नै पुष्टि गर्दै आएको छ ।
देशमै झापा जिल्ला सचेत जिल्लामा पर्छ तर, भीमकुमारीहरूका वर्तमानका सामाजिक भोगाइका पीडाहरूको दारुण प्रस्फुटनले कतै झापा सचेतसँगै अचेत त बन्दै छैन भन्ने यो अहम प्रश्न पनि जन्मिएको छ । दिलबाट स्वीकार्नु र दिमागबाट मात्रै स्वीकार्नु नितान्त फरक छ । अर्थात जबसम्म हामी दिल र दिमागबाट जातीय उत्पीडनको भूतलाई सधैँका लागि भगाउन सक्दैनौ र आफु मान्छे भइकन पनि अरुलाई मान्छे देख्दैनौँ तबसम्म समानताको मुलायम शिर्षकमा जे जस्ता तमासा गरे पनि हुने वाला केही पनि छैन ।
दलित तथा उत्पीडितका अधिकार कसैले दिने र कसैसँग माग्ने वस्तु पनि होइन । एउटा कथित उपल्लो भनिने र अर्काे कथित तल्लो भनिने सबै मान्छे हुन् । त्यसैले अब भीमकुमारीहरू निरास बनेर होइन जसले तिमीलाई अयोग्य भन्छ तिमीले भन्न सक्नु पर्छ । के कति कारणले म अयोग्य छु ? कतै दलित भएर त होइन ? यदि तिमीहरूलाई उसले घुमाइफिराई दलित भएकै कारणले अयोग्याताको बिल्ला भिराउन खोजियो भने उसलाई तिमीले सोध्नै पर्छ, ‘छुत र अछुतको कित्ताकाट गर्न जान्ने तिमी कुन लोकका अधिकार प्राप्त अमिन हौ ?’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: