तिहार जनजातिहरूको पनि

  प्रकाशित मिति
१२ कार्तिक २०७३, शुक्रबार २०:४७


jumleli
अर्जुन जम्नेली राई

दसैँपछि अर्को पर्व तिहारको माहोल सुरु भएको छ । चेलिी र माइतीको भेटघाट हुने, फूलमाला टिका लगाउने तिहारमा देउसी भैलोले झन रमाइलो बनाउँछ । तिहार धेरै नेपालीहरूले मनाउँदै आएका छन् । यो पर्व हिन्दुहरूको मात्रै नभई नेपालका आदिवासी जनजातिहरूको पनि हो भन्ने कुरा अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ ।

तिहारमा खेलिने देउसीमा भट्याउने (टोली नेता)ले ‘ए हामी त्यसै, ए आएको हैन’ ए वलिराजाले, ए पठाएको, ए चिप्लोबाटो, ए लड्दै पर्दै, ए आएका हामी’ लगायतका कथा र शब्दहरू प्रयोग गर्छन् । देउसीमा वलिहाङ राजा र गोरिङ्खाको प्रसङ्ग आउने गर्छ ।

इतिहासकार स्व.ईमानसिंह चेम्जोङले किराँत सम्राट वलिहाङको पालादेखि तिहार र देउसीको सुरु भएको ‘किरात इतिहास र संस्कृति’ पुस्तकमा दावी गरेका छन् । वलिहाङ भविष्यवेत्ता, प्रतापी, जनप्रिय थिए । दुरदर्शी सम्राट वलिहाङ एक्कासी अत्यन्तै उदासिन देखिए । जनताको दुःख, सुःखमा साथ दिने बफादार वलिहाङको अनुहारमा न्यास्रोपना बढ्दै गएपछि जनताले वलिहाङलाई सोधे–तपाईलाई के भइरहेको छ ? अनुहारको चमक हराउँदै गएको छ । वलिहाङले भने–‘म कात्तिक औँसीको रातमा मर्दैछु । यमराज (काल) औँसीको मध्यरातमा आउने निश्चित भएको छ ।’

deusi-1
इतिहासकार स्व.ईमानसिंह चेम्जोङले किराँत सम्राट वलिहाङको पालादेखि तिहार र देउसीको सुरु भएको ‘किरात इतिहास र संस्कृति’ पुस्तकमा दावी गरेका छन् ।

प्रिय सम्राटको मृत्यु हुने खवरले जनता चिन्तित भए । उनीहरूले उपाय सोचे । ‘सम्राट तपाईँलाई बचाउन हामीले के गर्नु पर्छ ? हामी तपाईँलाई बचाउन चाहन्छौँ ।’ वलिहाङले भने–‘म मर्छु नै, काल आउने औँसीको रात दियो कलशले उज्यालो बनाएर काल (यमराज)सँग नलैजान बिन्ति गर्दा मर्दिन कि !’ जनताले रातभर दीप प्रज्वलन गरी आफ्नो प्यारो सम्राटलाई नलान यमराजसँग अनुनय विनय गरे ।

जनताको आग्रह अनुसार कालले वलिहाङलाई लगेन । तोकिएको समयमा नमरेपछि वलिहाङको अनुहारमा मुस्कान देखियो । सम्राट शारीरिक तथा मानसिक रुपमै स्वस्थ्य देखिन थाले ।

जनताले वलिहाङको ‘तियाहा’(जय) भन्न थाले । आफू जीवित रहेको खवर राज्यको हरेक कुनामा पुर्याउन र खुसीयाली मनाउन वलिहाङले आफ्नो दुतहरू गाउँगाउँमा पठाए । सम्राट बाँचेकाले राज्यभर जनताले खुसीयाली मनाए । त्यस वेलादेखि तिहार (उत्सवको रुपमा) मनाउन थालिएको हो ।

त्यसबेला किराँतीहरूको एउटै भाषा हुनु पर्छ । अहिले पनि लिम्बू किराँत भाषामा तियाहा (तिहाहा)को अर्थ जयजय भन्ने हो । अर्थ एउटै लागे पनि लिम्बू र विभिन्न थरका राईहरूले बोल्ने भाषाको उच्चारण सामान्य फरक आउँछ । धेरै शब्दहरू मिल्दाजुल्दा हुन्छ । यही तियाहा शब्दबाट तिहार भएको इमानसिंह चेम्जोङको तर्क छ ।

यमराजले तोकेको मितिबाट बाँच्न सफल सम्राट वलिहाङ तेअङ्सि (अवतारी) जस्ता भए । तर राज्यको दुरदराजमा बस्ने धेरैले वलिहाङ बाँचेको कुरामा विश्वास गरेनन् । गाउँगाउँ पसेका वलिहाङका दुतहरूलाई जनताले प्रश्न गरे ‘तिमीहरूलाई कसले पठाएको ?’ दुतहरूले तेअङ्सि (अवतारी वलिहाङ)ले पठाएको भने । धेरैपछि तेअङ्सि, तेअङ्सि, तेअङ्सिर, तेअङ्रिे हुँदै देउसिरे भएको भन्ने चेम्जोङको तर्क छ । सुखको समाचार ल्याएकोमा जनताले माया गरेर दुतहरूलाई बाटो खर्च, खानेकुराहरू दिए । त्यही वेलादेखि देउसी खेल्ने परम्परा सुरु भएको हो ।

मगर जातिमा तिहारको सुरुवातको इतिहास छुट्टै छ । इसाको चौधौँ शताब्दीतिर वर्तमान पाल्पा जिल्लाको बल्ढेङगढी गाविस केन्द्र बनाएर वलिहाङ रानामगरले अरु साना मगर राज्य एकीकरण गरी शक्तिशाली राज्य स्थापना गरेका थिए । वलिहाङको राज्यको सीमाना मगरातदेखि भारतको गोरखपुरसम्म फैलिएको थियो । वलिहाङ शक्तिशाली लोकप्रिय, न्यायप्रेमी शासकको रुपमा परिचित थिए । उनी निक्कै दानी पनि थिए ।

मगर राजा बलिहाङको कथा पनि किराँत राजा बलिहाङकै जस्तो छ । आफूलाई जनताले बचाएको खुसियालीमा राजा वलिहाङ मगरले तीनदिनसम्म उत्सव मनाउने आदेश दिए । आफू बाँचेको खवर दिन दुतहरू गाउँगाउँ पठाए । ती दुतहरूले वलिहाङलाई फाईलो भनेर सन्देश पुर्याए । मगर भाषामा फाईलोको अर्थ ‘हामीले बचायौँ’ भन्ने लाग्ने लेखक मनोज मगरको भनाई छ ।

दुतहरूले फाईलो–फाईलो भन्दै जाँदा अपभ्रंस भएर भैलो (देउसी)को सुरुवात भएको मनोज मगरको तर्क छ । यही खुसियालीमा चेली माइतीविच टिका लगाउने, सेल रोटी, जाँँडरक्सी लगायतका मिठो मसिनो खाने, दीपावली गर्ने, रमाइलो मनाउने चाडको सुरु भएको बताइन्छ ।
यही चाडलाई पुराण कथासँग जोडेर हिन्दूकरण गरिएको मनोज मगरको भनाइ छ । उनी वलिहाङ राजा ईशापूर्व १४ औ शताब्दीका मगर राजा भएको अनुसन्धानबाट पुष्टि भएको ठोकुवा गर्छन् ।

हिन्दु धर्मग्रन्थहरूमा भने यमलोकका यमराज र पृथ्वीलोकी यमुना भेटेर मिठो मसिनो बनाएर खुवाएदेखि तिहारको सुरुवात भएको उल्लेख छ । चेली माईतीको भेटमा माइती यमराजले यमुनालाई के वर माग्छौ भनेर प्रश्न गर्दा प्रत्येक बर्षको यहीबेला माइती चेली भेट होस् भन्ने मागेपछि यमराजले तथास्तु भनेको प्रसङ्ग उल्लेख छ । त्यसैलाई यमपञ्चक मानिन्दै आएको हो । हिन्दूहरूले यमदुतको रुपमा काग, कुकुर, धन(लक्ष्मी)को प्रतीक गाई, गोवर्धन पर्वत र गोरु र भाइ पुज्न थालिएको हो ।

हिन्दु मिथक अनुसार पृथ्वीमा वलि भन्ने अति दानी राजा थिए । उनी दान नगरी केही खाँदैनथे । वलिको पुण्यले स्वर्ग हल्लिन थाल्यो । भगवानहरू विष्णुको प्रार्थना गरे । त्यसपछि विष्णु वलिलाई दमन गर्न बाउन्ने (पुड्के)को रुप धारण गरी वलिसँग तीन पाउ जमिनको मागे ।
वलिले दान दिने सङ्कल्प गर्नेसाथ बाउन्नेको रुप विशाल भयो । एउटा खुट्टाले पृथ्वी, अर्कोले आकाश ढाक्यो । वलिलाई अब के दिने समस्या भयो, उनले आफ्नै थाप्लो थापे । विष्णुको पाउ वलिको थाप्लोमा पर्नासाथ उनी पाताल भासिए । वलि पाताल भासिने बेला बर्षमा एक पटक पृथ्वीमा घुम्न पाऊँ भन्ने माग गरेकाले वलिको स्वागतको लागि दीपावली गर्ने चलन रहेको कथा छ ।

अयोध्याका राजा रामको आगमनको बेला जनताले स्वागत तथा खुशियालीमा दियो बालेर गल्लीगल्लीहरूमा ‘देव श्री राम’ (हाम्रा राम देवता हुन्) भन्ने नारा लगाए । त्यही देव श्री राम, देउसिरे राम हँुदै देउसीको सुरु भएको हिन्दूहरू विश्वास गर्छन् ।

पौराणिक कथा अध्ययन गरिसकेपछि तिहार र देउसी कुन समुदायको पर्व हो भन्ने छुट्याउन कठिन हुन्छ । कथाहरूलाई मिहिन ढङ्गले अध्ययन गर्दा तिहार कुनै धार्मिक क्रियाकलाप नभएर एक प्रकारको उत्सवको रुपमा मनाउन थालिएको देखिन्छ ।

वलिहाङ र तिहार एक आपसमा परिपुरक देखिन्छ । तिहारको बारेमा बिभिन्न जातीय समुदायले आ–आफ्नो धर्म सम्प्रदाय अनुकूल व्याख्या गरे तापनि वलिहाङ तत्कालिन जनप्रिय किराँत शासक थिए । त्यस समयमा किराँत राज्य वतर्मान मगरात, लिम्बुवानसम्म मात्र होइन अरेसियन सागर, तिब्बतको कारकोरम पर्वत, चिनी समुन्द्रदेखि श्रीलङ्कासम्म फैलिएको थियो । हिन्दू ग्रन्थमा उल्लेख शम्बर, जालन्धर र एकलव्य किराँत नै भएको विभिन्न पुस्तकहरूमा पाइन्छ ।

तियाहा अर्थात तिहार, तेअङ्सि(देउसी) सुरुवात गर्ने चौधौँ शताब्दीको जनप्रिय सम्राट वलिहाङ किराँत हुन् । किराँत भनेको राई, लिम्बू, याक्खा, सुनुवार मात्र होइन इतिहासविद् जीपी सिंहका अनुसार मगर, गुरुङ, तामाङ, धिमाल, थामी, दनुवार, लेप्चा, कोचे, मेचे, राजवंशी, थारू, सुरेल, जिरेल, हायू, राजी, नेवार सहित २० जातिलाई किराँती भनेका छन् । त्यसकारण तिहारको सुरुवात हुँदा मगर, गुरुङ, राई, लिम्बू लगायतका जातिहरू किराँतबाट छुट्टिएका थिएनन् ।

हिन्दू धार्मिक ग्रन्थमा यमलोकको परिकल्पना गरिएको छ । यमलोक, स्वर्ग र नर्क स्वैर कल्पना मात्र हुन् । ती लोकहरू ठूला ठूला ग्रन्थहरूमा मात्र सिमित छन् । यमराज र यमूना चेली माइती भेटेर खुशियाली मनाइएकै हो भने पनि काग, कुकुर, गोरु, गाईको पुजासँग चेली माइती भेटको सन्दर्भ मिल्दैन । हिन्दू ग्रन्थमा गोवर्धन पर्वतको पुजाको प्रसङ्ग छ, तर गोरुको पुजा गरिन्छ । चेली माइतीको भेटमा पशुहरूको पुजा गर्न आवश्यक छैन ।

हिन्दू धर्म ग्रन्थमा समेत विष्णुले वलिहाङलाई पाताल पुर्याएको काल्पनिक कथा आउनुले पनि तियाहाबाट तिहार, फाईलोबाट भैलो र तेअङ्सि, तेअङ्रिेबाटै देउसिरे भएको भौतिकवादसँग नजिक देखिन्छ । त्यसकारण तिहार किराँतवासीहरूले वलिहाङलाई बचाउन सफल भएको उत्सवको रुपमा मनाउन थालिएको हो ।

अहिले यो उत्सवलाई नेपाल लगायत बिभिन्न देशमा किराँत, हिन्दू, बौद्ध लगायतका धार्मिक सम्प्रदायले मनाउने गर्दछ । यो चाड हिन्दूको मात्र हो भन्ने भ्रम अझै पनि छँदैछ ।

तत्कालिन किराँत राजा साइलाइङको छोरालाई ब्राह्मण पण्डितले अमर राय र विजयपुरका चौतारिया पानोहाङको नाम विद्याचन्द्र राखेर हिन्दूकरण गरेका थिए । तत्कालिन हिन्दू पण्डितहरूले विभिन्न असल सँस्कृति, समुदायलाई मात्र होइन ब्यक्तिलाई समेत हिन्दूकृत गरिएको प्रमाण भेटिन्छ । त्यसकारण तिहार तत्कालिन रुपमा किराँतीहरूबाट सुरु भएर सबै जाति, धर्म मान्ने सम्प्रदायले मान्दै आएको चाड हो । लामो समयपछि सबै नेपालीले आफ्नो मानेर यो चाड मनाउँदै आएका छन् । यसलाई तेरो वा मेरो नभनिकन हाम्रो भनेर मनाउन जरुरी छ ।

(साभार ः सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: