तीजका सवल र दुर्वल पक्ष

  प्रकाशित मिति
४ भाद्र २०७३, शनिबार १३:१७


manoj dahal

हिन्दु नारीको महान् पर्व हरितालिका तीज घरआँगनमा आइसकेको छ । भाद्र शुक्ल द्वितीयादेखि सुरु भएर पञ्चमी तिथीमा समापन हुन्छ । विवाहित तथा अविवाहित नारी ब्रत बसेर आराध्य देव भगवान शिवको आराधना गर्छन् । एक प्रकारले दैनिकीबाट निस्केर आफ्नो स्वतन्त्रताको पर्व मनाउँछन् । तीजको अवसरमा अहिले हेर्ने हो भने प्रायः महिला फुर्सदिला पनि देखिँदैनन् । तीजको महिमाको कालखण्डलाई हेर्दा, यो पर्व परापूर्वकालदेखि विविध सभ्यता र संस्कृतिसँग सुरक्षित हुँदै आएको पर्व हो । विशेषतः विवाहित नारीले आफ्नो पतिको र अविवाहित नारीले सुयोग्य र राम्रो पति पाइयोस् भन्ने कामना गरी ब्रत बसी गरिने पवित्र कार्य हो । जताबाट पनि पतिकै कामना देखेपनि समग्रमा यो पर्व नारीले पुरुषका लागि गरिने मङ्गलमय शुभकामना हो ।

पूर्वकालमा तीज एक सीमाभित्र रहेर मनाइने पर्व थियो । यसमा केही सामाजिक बन्धनहरु थिए । महिलाहरु रातो सारीमा दुःख–सुखका गीत गाउँदै एकापसमा मित्रता र पारिवारिक नाता गाँस्दै मनाइन्थ्यो । चेलीहरु कर्मघरको दुखेसो बिसाउन माइतीघरको आँगनीमा माइतीको निमन्त्रणामा आइपुग्थे । माइतीघरको जे–जस्तो पकवान तथा व्यञ्जन पाक्थ्यो, त्यसको स्वाद लिएर तीज मनाउँदा वास्तविक तीज झलकिन्थ्यो । तीजमा रेडियोबाट दुखका गीत, सेलो बज्दा माइती घर जान नपाएका घरका बुहारी र कर्मघरको थकाई मार्न माइतीघर आएका छोरीको करुण, रोदन र खुशीले पनि यो पर्व खुशी र सुखी हुन्थ्यो ।

अहिले पश्चिमी संस्कृतिले यो पर्व ओझेलमा पर्दै गएको छ । कन्यादान चलचित्रको ‘तीजको लहर आयो बरिलै’ गीत बज्दा साँच्चै नै तीज आएको आभाष हुन्थ्यो । तीजको नाममा विकृति र विसङ्गति बढ्दै गएको छ । तीजमा बज्ने गीत र लगाउने रातो सारी, गुन्यु चोली, चौबन्दी एकादेशको कथामा मात्र समेटिएको छ । तीजमा गाइने र बजाइने गीतले महिलामा शुभकामना दिनुको साटो समाजमा अपाच्य र पारिवारिक सदस्यसँग बसेर सुन्न नसकिने गीत बज्न थालेको छ । गीतहरु प्रसारित भएका छन् । हाम्रो धर्म र संस्कृतिमा विकृति र विचलन ल्याउने खालका छन् गीत । कतिपय त अश्लील र भड्किला खालका छन् । जुन गीत परिवारमा बसेर सुन्न सकिँदैन । यसमा सुधार आवश्यक छ । आफ्नो संस्कृति चिन्नु पर्छ ।

पहिले तीजमा महिलाहरु गाउँभरमा भेला भएर खुला चौरमा वा मन्दिरमा नेपाली सङ्गीत बजाएर धीत मरुञ्जेल नाचगान गर्दथे । पुरुषलाई त्यस्ता नाचमा पस्न अधिकार थिएन । हेर्न पनि बन्देज थियो । गएमा ‘चिवे नकटो’ को संज्ञामा परिहालिन्थ्यो । आजकाल त पोइला जान पाम–पाम भन्दै पुरुषकै हात समाएर नाच्ने गरेको देखिन्छ । तीजमा घर वा मन्दिरमा नाच्न लाज हुने भएको छ । महँगो रकम खर्चेर पार्टी प्यालेसमा तीज मनाइन्छ । घरको दर नखाएर होटलको दर खानै पर्ने तीज आएको छ । खीर, दही, चिउरा, केरा खाँदा तीज नहुने संस्कार बस्दै गएको छ । यो कस्तो चाड ? कस्तो परम्परा ? हुने खानेको देखासिकी गर्न नहुनेले नाक, कान तथा अन्य सम्पत्ति धितो राखेर भएपनि यो समाजको पर्वमा उफ्रिनु पर्या छ । हुने खानेले हेप्ला कि भनेर मध्यम वर्गका महिलाहरुले पनि हो मा हो मिलाएको उनीहरु सँगै हिँडेको देख्दा यो तीज नहुनेलाई ऋणको भारी बोक्ने पर्वको रुपमा उकालो लागिरहेछ । सबै महिला सम्पन्न र सक्षम हुँदैनन् । कतिपय महिला दैनिक गुजारामा, कतिपय मेलापातमा, कतिपय एकल कमाइमा बाँच्नु पर्ने सत्यता हाम्रै आँखा अगाडि प्रष्ट छ ।

छिमेकी दिनँहु तीज मनाउन पार्टीमा हिँड्दा पल्लो घरका विपन्न महिलाले कि त घरको सम्पत्ती लिलामीमा राखेर छिमेकीको सङ्गत गर्नु पर्या छ, कि छ आँखा बन्द गर्नु पर्या छ । महिला–महिलामा तीजमा यो असमान खाडल बनाउने कार्यमा महिलाहरु नै देखिएका छन् । तीजमा धपक्कै गहनाले पुरिएर हिँडी दिँदा गहना नै धितो राखेर गहना लगाउन नसक्नेहरु आफूलाई हेर्नेको दृष्टिकोणले हेरिने डरले बरु तीजमै सहभागी नहुने परिपाटीले महिलाको तीज कार्यव्रmममा महिलाले नै महिलालाई प्रवेश निषेध गरेका छन् । अझ धनी र सम्पन्न महिलामा गहना तथा लुगा प्रदर्शनको द्वन्द्व चलेको छ । महिलाहरुले आपसी द्वन्द्वमा गहना प्रदर्शन गरेर सम्पन्नता र विपन्नताको खाडलको कसी नाप्दै लगेका छन् । यसले तीजको महत्व र संंस्कृतिलाई ओझेलमा पारेको छ । तीजलाई विसङ्गतितिर लगेको छ । नारी हकहित र नारीप्रधान कुरा गर्ने महिला नै पार्टी प्यालेसमा भड्किला गीत र पहिरनमा तीज मनाउन थालेका छन् । यिनै विकृतिले तीजलाई सांस्कृतिक रुपमा कमजोर बनाएको छ । तीज महिलाको पर्वभन्दा एक अर्काका सम्पत्ति र पहिरन प्रदर्शनी कार्यव्रmम भएको छ ।

आखिर यो के र कसका लागि ? के सरल र सभ्यतामा तीज हुँदैन ? घरको दरले तीज मनाइँदैन ? नेपाली मौलिक गीत र गुन्यु चोलीमा तीज आउँदैन ? यस्ता विसङ्गतिको सीमाङ्कन गरेर तीजलाई निश्चितता गर्ने कामसम्म सरकारले गर्न सकेको छैन । नेपालका शासक सामाजिक विकृति नियन्त्रण गर्न मौन देखिन्छन् । समाज र सरकारी निकायका ओहोदाका मान्छेले पनि आफ्नो घरको लागि विशेष छुट दिँदा आज तीजले उग्ररुप लिएको हो । केसम्म गर्ने हो कतिसम्म गर्ने हो ! तीजलाई मर्यादित र सुसभ्य कसरी बनाउने हो ? यस्ता कार्यमा सबैले एकरुपमा आवाज उठाउने हो । र, नियम बनाइ पालना गर्ने हो भने नेपाली तीज विदेशी शैली र पश्चिमी सङ्गीतमा मनाउनु पर्ने थिएन कि ! हुन त सबै कुरामा विकृति छ, विसङ्गति छ, आधुनिकताको नाममा भित्रिएको पाश्चात्य शैली र यो सबै हेरेर बस्ने र केही गर्न सकिएको छैन । हामीले त पुराना तीज देख्यौँ, तीज बुभm्यौँ । तर, अहिले पश्चिमी सङ्गीत, पहिरन र शैलीमा मनाइँदै आएको तीजबाट हाम्रा सन्नतीले के शिक्षा लिने ? यसलाई कस्तो सामाजिक पर्वको रुपमा मनाउने त ? हाम्रो मौलिक संस्कृति र पर्व जोगिएला कि बसाइँ सर्ला ?

अन्त्यमा, तीजलाई देखासिखी होइन मौलिकतामा मनाऔँ । अन्य संस्कृतिसँग मिसिएर होइन, आफ्नै गीत र सङ्गीतमा रमेर मनाऔँ, तपाईं हामीले जोगाए संस्कृति जोगिने हो, यसवर्ष तीजको सबैलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: