तीजको खर्च जोगाएर विपन्नका लागि एक करोडको कोष

  प्रकाशित मिति
१ भाद्र २०७७, सोमबार १५:१०


मेचीनगर, १ भदौ । मेचीनगरका महिलाले तीजमा खर्च हुने रकम बचत गरेर विपन्न जनहित कोष स्थापना गरेका छन् ।

आज पत्रकार सम्मेलन गरी कोषको अवधारणा सार्वजनिक गरिएको छ । कोषले विपन्नलाई आकस्मिक स्वास्थ्य सेवा पुर्याउने बताइएको छ ।

कोषमा अहिले नै दुई लाख भन्दा बढी रकम संकलन भइसकेको र भविष्यमा एक करोड पुर्याउने लक्ष्य रहेको कोष सञ्चालक समितिकी अध्यक्ष रेणुका डाँगीले बताइन् ।

डाँगीकै अध्यक्षतामा २५ सदस्यीय कोष सञ्चालक समिति घोषणा गरिएको छ । समितिको उपाध्यक्षमा चण्डिका बानियाँ, सचिवमा जानुका ओली, सहसचिवमा पुष्पा भण्डारी र कोषाध्यक्षमा लिना भण्डारी रहेका छन् ।

समितिको सदस्यमा माया शिवाकोटी, इन्दिरा कार्की, खिला खनाल, अस्मिता खरेल, मञ्जु पौडेल, अनिता पाठक, निर्मला काफ्ले, लक्ष्मी श्रेष्ठ, पवित्रा दाहाल, गीता भण्डारी, धनमाया राई, इन्दिरा नेपाल, प्रतिक्षा पराजुली, संगीता गजुरेल, हिमा कट्टेल, मीना डाँगी, सुशिला बिष्ट, पार्वती उपरकोटी, मन्दिरा सुन्दास र रुबिना किसान रहेका छन् ।

पत्रकार सम्मेलनमा कोषको अवधारणा सुनाउँदै अध्यक्ष डाँगीले कोष वृद्धिका लागि एक परिवारबाट प्रति महिना ५ रुपैयाँ स्वेच्छिक सहयोग उठाइने र मनकारी दाताबाट प्राप्त हुने सहयोग स्वीकार गरिने बताइन् ।

हाल विदेशमा रहेका मेचीनगर ९ का सन्तोष गौतमले कोष स्थापनाको खबर सुनेर २९ हजार रुपैयाँ प्रदान गरेको अध्यक्ष डाँगीले जानकारी दिएकी छन् ।

कोषको कार्यक्षेत्र मेचीनगरभरि रहने सोच बनाएको र यसबाट नगरका गरीव, विपन्न, असहाय र सीमान्तकृत समुदायका व्यक्तिहरु लाभान्वित हुने उनको भनाई छ ।

मेचीनगर ९ का महिलाहरुले विगतमा समेत चाडपर्वमा खर्च हुने रकम कटौती गरी प्रकोपका परेकाहरुलाई सहयोग गर्दै आएको स्मरण गर्दै उनले छिट्टै कोष दर्ता गरिने, सञ्चालनको कार्यविधि बनाउने र कोषको सञ्चालन र हिसाबकिताबलाई अत्यन्त पारदर्शी बनाइने बताइन् ।

संस्थाकी सचिव जानुका ओलीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् भने अध्यक्ष डाँगीले पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: