झापा, २० साउन । नेपाली नारीहरुको आउनै लागेको महानचाड तीजको खर्च कटाएर धुलाबारी क्षेत्रका आधादर्जन बढी महिला समूहले भद्रपुर–१ भैसाबाढीका बाढी प्रभावितहरुलाई राहत वितरण गरेका छन् ।
विहीबार मेचीनगर बचत तथा ऋण सहकारीकी महिला विभाग प्रमुख पुष्पा भण्डारी, सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, समाजसुधार महिला समूहकी अध्यक्ष संगीता थापा, नारी कल्याणकारी विकास संस्थाकी अध्यक्ष जानुका ओली, थोप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मञ्जु कट्टेल, लक्ष्मी श्रेष्ठ, एकल महिला ससक्तिकरणका प्रतिनिधि सुत्केरी तथा गर्भवती महिलाहरुलाई सुतीका साडी, क्लासियम, आइरचक्की, सेनेटरी प्याड, तोरीको तेल र आँटा लिएर त्यहाँ पुगेका थिए ।
महिलाहरु त्यहाँ पुग्दा प्रभावित क्षेत्रका बालबालिका र महिलाको बाक्लो उपस्थिति थियो । उनीहरुले भैसाबारी–१ कै चोकमा राहत सामग्री वितरण गरेका थिए भने कतिपय सुत्केरी र गर्भवती महिलाका घरमै पुगेर सामाग्री प्रदान गरेका थिए ।
समूहका महिलाहरुले यसपालीको तीज सामान्य रुपमा मनाउने भन्दै तीजको खर्च कटाएर बाढी प्रभावित क्षेत्रका गर्भवती र सुत्केरीलाई सो सामाग्री प्रदान गरेको जनाएका छन् । उनीहरुले २० हजार रुपैयाँ बढीको सामान हस्तान्तरण गरेका थिए ।
टोलीमा रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला र लोकतन्त्र पोष्ट अनलाइन संस्करणकी सम्पादक अम्बिका भण्डारी को सहभागीता रहेको थियो ।