तीज, स्पेस र परिवर्तन

  प्रकाशित मिति
४ भाद्र २०७४, आईतवार ११:३५


damodar sir
हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी कामना गरिरहेको भए पनि हिमालयले भगवान विष्णुलाई कन्यादान गर्ने तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भने निर्जला व्रत बसेको हुनाले तीजलाई हरितालिका (सखीद्वारा हरण गरिएकी) व्रत भनिएको पुराणमा वर्णन छ ।
तीजको सन्दर्भमा पुराणमा वर्णित उपर्युक्त अनुच्छेद मात्र चर्चा गरिन्छ । तीजको पौराणिक मान्यता व्रत बस्ने सन्दर्भमा यथावत् नै जस्तो रहेको पाइन्छ । तर, तीज विभेदका जन्जिरले जकडिएका नेपाली नारीहरुले सांस्कृतिक रुपमै विभेद विरुद्ध बोल्न पाउने स्पेस हो । तीज शब्द सम्पूर्ण नेपाली नारीहरुको बिम्ब बनेको छ । यो नेपाली नारीहरुको विशिष्ट रङ्गीन पर्व हो । तीजको रङ्गीन पक्षका अनेक डिस्कोर्स बन्छन् । तापनि तीज पुरुषवादी सत्ताले निर्माण गरेको हेजिमोनी भित्र रहेको छिद्र हो, जहाँबाट नेपाली नारीहरु हेजिमोनी विरुद्ध अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्छन् ।
नारीहरुले विशुद्ध आफ्नो ठानेको पर्व हो तीज । जसलाई उनीहरु स्पेसका लागि सङ्घर्ष गरि रहेका छन् । पुरुषवादी सत्ता विरुद्ध तिनीहरु वाचाल बन्छन् तीजे गीतमार्फत । अभिव्यक्तिका लागि गीत सङ्गीतलाई माध्यम बनाएका छन् । शासकहरुले आफ्ना विरुद्ध उठ्ने आवाज नामेट गर्न बनाएको कठोर सेन्सरसिपमा पनि सबाल्टर्न वर्गले गीत सङ्गीतका माध्यमबाट आवाज मुखरित गरेको इतिहास छ । तीजमा गाइने गीत त्यसैको निरन्तरता हो । एक नेपाली लोकगीतको भाका जुवामा जुटेको रक्सीमा भुलेको
के काम लाग्यो स्वामी राजा बी. ए. पढेको
वर्ष दिनको तीजमा आमा लिन आउनु भो
पापिनी सासूले नजा भन्नु भो
वर्ष दिनको तीजमा दाजु लिन आउनु भो
पापिनी सासूले नजा भन्नु भो
घरमा रुन्छन् छोराछोरी गोठमा भैँसी कराउने
जता जान्छन् स्वामी राजा उतै हराउने
सबाल्टर्न चेतनाका दृष्टिकोणले तीजको सशक्त र पृथक् पक्ष भनेको नै नारीहरु आफ्ना श्रीमान्को दीर्घायुको कामना गरी निर्जला बस्ने र व्रतकै समयमा गीतका माध्यमबाट पुरुषवादी सत्ता विरुद्ध उभिनु र वाचाल बन्नु हो । एकातिर श्रीमान्को दीर्घायुकै लागि व्रत बस्तु अनि त्यही व्रतकै क्रममा समाजले निर्माण गरेका विभेद हटाउन आवाज बुलन्द गर्नु विसङ्गत जस्तो लागे पनि यो पुरुषवादी हैकमले अधीनस्थ बनाएको नारी स्वतन्त्रताको एउटा स्पेस हो ।
तीजमा गाइने माथिको लोकगीतमा नेपालको ग्रामीण समाजको चित्रण छ । ग्रामीण जीवनमा महिलाहरुले भोग्नु परेको कठिनाइ र वेदना उक्त गीतमा प्रस्तुत भएको छ । शिक्षित युवा जुवातासमा रमाएर महिलालाई कमारो जस्तो व्यवहार गर्छ । पुरुषवादी सत्ताले निर्माण गरेको हेजिमोनी प्रति महिलाले उक्त गीतमा आफूलाई श्रीमान् स्वयम्ले मानवीय व्यवहार नगरेकोमा त्यस्तो पढाइको के अर्थ भनी व्यङ्ग्य गरेकी छन् । त्यति मात्र होइन श्रीमतीप्रति उत्तरदायी नहुने तर श्रीमान् र बाबु भएकोमा गर्व गर्ने अनुत्तरदायी पुरुषप्रति कडा प्रहार गरिएको छ । माइतबाट छोरीचेलीलाई बोलाउने वा लिन आउने प्रचलन छ । तापनि सासूको बुहार्तनका अगाडि माइत जान सजिलो नरहेको उक्त गीतको भाव रहेको छ । सासूको दमनकारी व्यवहारका कारण महिलाहरु महिलाबाटै पीडित रहेको उक्त गीतमा देखिन्छ । घरव्यवहार सबै धान्नु पर्ने महिलाको जीवन कति व्यस्त छ भन्ने कुरा र सबै कुरा सम्हालेर पनि उनीहरु स्वतन्त्र नभएको भन्दै महिलाहरु गीतका माध्यमबाट स्वतन्त्रताको स्पेस खोजी गर्छन् । जीवनका जटिलता, सङ्घर्ष, अशिक्षा र असमझदारीका कारण महिलाहरुले भोग्नु परेको उत्पीडन व्यक्त गर्ने अवसरको रुपमा तीज रहेको छ ।
नारीहरु पुरुषवादी सत्ताले निर्माण गरेका मानक भत्काउन सशक्त र स्वतन्त्र देखिन्छन् । तीजे गीतका माध्यमबाट अन्याय, अत्याचार, दमन र शोषण विरुद्ध तथा नारीमाथि थोपरिएका सामाजिक र सांस्कृतिक मूल्य मान्यता विरुद्ध उनीहरु वाचाल बन्छन् । यो हरेक प्राणीले आफ्नो अस्तित्वका लागि गर्ने सङ्घर्षकै रुप हो । यो सङ्घर्ष वर्षमा एक चोटि भए पनि नेपाली नारीहरु प्रयोग गर्छन् । वार्षिक रुपमै भए पनि उनीहरु पुरुषवादी सत्ता विरुद्ध उभिएर स्वतन्त्रताको वकालत गर्छन् । वास्तवमा सबाल्टर्न वर्गको इतिहास टुक्राटाक्री अवस्थामा मात्र हुने भएकाले यो खण्डित हुन्छ तर त्यही खण्डित इतिहासले नै विभेद विरुद्ध जुट्ने उनीहरुलाई साहस दिन्छ । तीज नेपाली नारीहरुका विभेद विरुद्धको त्यही खण्डित इतिहासलाई स्मरण गराइरहने एउटा आन्दोलन हो जो चाडका रुपमा मनाइन्छ ।
नारीहरु सामूहिक रुपमा श्रीमान्को हैकम विरुद्ध बोल्छन् । वर्षौँदेखि उनीहरुले व्यक्त गर्न नसकेका वा दबिएका घटना बाहिर ल्याउँछन् । भनौँ समस्या व्यक्त गर्न उनीहरु वाचाल हुन्छन् । एकातिर उत्पीडन विरुद्ध बोल्ने र अर्काेतिर उत्पीडन पर्दाफास गरेर कथ्यार्सिस पनि अनुभूति गर्छन् । तीजे गीतका प्रस्तोता उनीहरु स्वयम् हुन् । आफ्ना पीर व्यथाअनुसारका भाका सङ्कलन गर्ने सर्जक नारीहरु नै हुन् । यस्ता गीतमार्फत विद्रोह अभिव्यक्ति हुने भएकाले उनीहरु विद्रोही पनि देखिन्छन् ।
तीजको अग्र्यानिक पक्ष यस्तो रहेको भए पनि पछिल्लो समय तीज चेतनाको बाहक भएर होइन उत्तेजनाका रुपमा आउन थालेको छ । तीजको उत्तेजना अग्र्यानिक ग्रामीण जीवनमा पनि रेडियो, टेलिभिजन र इन्टरनेटका माध्यमबाट पुगेको छ । जसले गर्दा तीज सबाल्टर्न महिलाका आवाज मुखरित गर्ने होइन अश्लील र भड्किलो बन्न पुगेको छ । महिला समूह मात्र होइन आज सबै सङ्ठित समूह तीज कार्यक्रम आयोजना गर्छन् । गाउँघरका आमा समूहदेखि टोल विकास संस्था, ब्युटी पार्लरका सञ्चालकहरुदेखि राजनीतिक दल सबै तीज कार्यक्रम आयोजना गर्छन् तर तीजको अग्र्यानिक पक्ष पाउन छाडिएको छ । स्टार होटलमा पोइला जान पाम शिव गीतमा महिलाहरु नचाएर तीज कार्यक्रम गर्ने चलन बढ्दो छ । त्यति मात्र होइन महिला सशक्तीकरण र प्रगतिवादको आफूलाई अब्बल नायक ठान्ने राजनीतिक दलको तीज कार्यक्रम पनि “तीजको लहर आयो बरी लै” बाट माथि उठ्न सकेको छैन ।

 

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: