तीतो सङ्घर्ष, मीठो सफलता

  प्रकाशित मिति
१ आश्विन २०७३, शनिबार १०:२१


20160914_124618_001
कनकाई । विश्व प्रसिद्ध पुस्तक ह्यारी पोटरकी लेखक एवम् साहित्यकार जेके रोलिङको पहिलो विवाह धेरै टिक्न सकेन । दोस्रो विवाह पनि खटपटका बिच गुज्रियो । तीन सन्तानकी आमा रोलिङ आफ्नो जीवनमा एउटा हिरोको आगमन होस् भन्ने चाहन्थिन् । तर, त्यस्तो हुन सकेन । उनी यात्राका व्रmममा निरन्तर त्यस्तै हिरोको कल्पनामा रमाउँथिन् । पहिलो विवाहको कठिन अन्त्य र सङ्घर्षपूर्ण दैनिकीका बिच यात्राकै दौरान सिर्जना भएको एउटा बाल्य पात्रलाई राखेर लेखेको उनको पुस्तक अहिले पनि हजारौँले पढिरहेका छन् । रोलिङको सङ्घर्षले सिर्जनाको मोड दियो र उनी साहित्यमा जिवन्त इतिहास लेख्न सफल भइन् ।

कनकाई–१ की रुपा मैनाली ओलीको जीवनकथा पनि जेके रोलिङको जस्तै सङ्घर्षशील छ । उनको काम पनि त्यतिकै महत्वपूर्ण र सम्मानित छ । सिलाई बुनाईका लागि आउने प्रशिक्षार्थीलाई ड्राफ्ट बनाउन र कपडा डिजाइन गर्न सिकाउँदैमा बित्ने गर्छ आजकल रुपाको दैनिकी । उनी कहाँ दैनिक १५ देखि २० जना महिलाले चलनचल्तीका ड्रेसको डिजाइन सिक्ने गर्छन् । उनी बिहानदेखि बेलुकैसम्म उत्तिकै व्यस्त हुन्छिन् । उनको पहिचान रुपामा मात्रै सीमित छैन । उनी उत्कृष्ट ड्रेस डिजाइनर हुन् ।

सुरुङ्गा चोकदेखि २ सय मिटर दक्षिणमा उनको सिलाइकटाई डिजाइनर सेन्टर छ । उनले सिलाइकटाईसँगै चाहिने सबै किसिमका सामग्रीको पसल खोलेकी छिन् । उनले डिजाइन गरेका मखमलका ब्लाउज, लेहङ्गा, अनारकली र मटकली अस्ट्रेलिया र अमेरिकासम्म पुग्ने गर्छ । मेहनतकै फल भन्नुपर्छ, उनलाई यतिबेला पैसाको खाँचो छैन । रुपाले सिजनमा खर्च कटाएर पनि महिनामा १ देखि २ लाख रुपैयाँ र अफ सिजनमा ५० हजार रुपैयाँसम्म आम्दानी हुने बताइन् । उनी भन्छिन्–‘मैले सीप सिकाएका धेरै दिदीबहिनीहरू अहिले सिलाई सेन्टर खोलेर स्वरोजगार हुनु भएको छ । कति त प्रशिक्षक नै हुनुहुन्छ ।’ रुपाले सिटिइभिटीबाट ड्रेसमेकरको कोर्स नै गरेकी छिन् ।
रुपा त्यहाँसम्म आउनका लागि गरेको दुःख र सास्तीको फेहरिस्त लामो छ । झापा चकचकी–७ मा बुबा हरिप्रसाद मैनाली र कौशिला मैनालीकी माहिली छोरी रुपा वि.सं. २०३५ मा जन्मिएकी हुन् । रुपाले सङ्घर्षको शिलाशिलामा धेरै विफलताका कथा पनि जोडिएका छन् । वि.सं. २०५४ सालमा कनकाई क्याम्पस पढ्दै गर्दा स्थानीय मार्शल आर्टका प्रशिक्षक पशुपति ओलीसँग विवाह भयो । विवाह पश्चात काठमाडौँ पुगेका ओली दम्पति लामो समय सँगै बस्न पाएनन् । रुपा सिनामङ्गलस्थित पीस प्वोइन्ट बोर्डिङ स्कूलमा पढाउन थालिन् । पशुपति सिङ्गापुर जाने अवसर पाएको भन्दै जान तयार भए । तर, उनीहरूसँग पैसा थिएन । रुपाले नै आफूले काम गर्ने स्कूलमा एक वर्षभरिको तलब मागेर उनलाई सिङ्गापुर पठाइन् ।

rupa-2

सिङ्गापुर पुगेका पशुपतिले धेरै पैसा पठाउँछन् र सुख पाइएला भन्ने रुपाको सोच क्षणमै चकनाचुर भयो । झन् सङ्कट आइलाग्यो, पशुपति सम्पर्कविहीन भए । तलब पनि वर्षभरिको ल्याएर श्रीमानलाई सिङ्गापुर पठाएकी उनले त्यसपछि स्कूलसँगै ट्यूसन पढाएर दैनिकी चलाइन् । डेढ वर्षपछि श्रीमान् आइपुगे । उनी खुशीले पुलकित भइन् । त्यसबेलासम्ममा उनीसँगै छोरा रोबर्ट पनि थियो । तर, त्यो खुशी क्षणभर टिक्न सकेन । आएको दिनदेखि नै पशुपति र उनीबीच झगडा सुरु भयो । त्यसपछि छिटो पैसा कमाउने भन्दै पशुपतिले सिङ्गापुर लैजाने बहाना बनाएर आफन्त नातागोता र अन्यसँग १३ लाख रुपैयाँ असुली भागेपछि रुपालाई प्रहरीले पव्रmेर हनुमान ढोका पुर्यायो । उनी भन्छिन् – ‘उसका सबै कतुर्त प्रहरीलाई भनिदिएँ, अनि म छुटे ।’

त्यसपछि ओली दम्पति झापा फर्किएँ । दैनिक रक्सी सेवन गरेर परिवारलाई दुःख दिन थालेपछि परिवारकै सल्लाह बमोजिम पशुपतिलाई विदेश पठाउने निर्णय भयो । साहुसँग ऋण खोजेर विदेश पठाएको श्रीमान्ले काठमाडौंतिरै बस्ने चरिकोटकी केटीसँग विवाह गरे । ‘दुःख पाएपछि जागिर खोजेँ, तर कतै केही पाइन’, रुपाले अलि भावुक मुद्रामा भन्छिन्–‘अनि सिलाई बुनाई सिकेँ, बुबाले मेशिन खरीद गरी दिनुभयो र व्यवसाय सुरु गरेँ ।’ तर, त्यतिबेला त्यति सजिलो थिएन कपडा सिलाउने काम । सुरुका दिनमा परिवारका अग्रजहरूबाट पनि हौसला पाइनन् उनले । काम सिक्न आउनेलाई पनि गाली गर्ने र आफूलाई ‘के लुगा सिलाएर बसेकी’ भनेर मानसिक यातना दिने काम परिवारबाटै भयो । उनले व्यवसायलाई निरन्तरता दिइन् ।

वि.सं. २०६३ सालमा दोस्री पत्नीले पनि छोडेपछि पशुपति घर फर्किए । पशुपतिको शारीरिक र मानसिक यातनाले उनी बिरामी भइन् । ‘खाली तनावमै बाँच्नु पथ्र्यो, जीवनदेखि हार खाएर एक पटक विष पनि पिएँ’, उनले थपिन्–‘आफन्तले उपचारको लागि धरान वीपी मेमोरियल पुर्याएर बचाएछन्, फेरि बाँचेर केही गर्ने अभिलाषा ममा जाग्यो ।’

ruma-1

रुपाका माइती पक्षले अस्पतालबाट फर्किएपछि उनलाई पशुपतिसँग नजान सुझाए । त्यही अनुरुप उनले कनकाई कलेजमा डेरा गरी पढ्दै गरेका बहिनीहरूसँगै बसेर सिलाई बुनाई व्यवसायी सुरु गरिन् । एउटा मेशिनबाट सुरु गरेको व्यवसायले मनग्यै आम्दानी दिएपछि रुपा आत्मबल बढेको बताउँछिन् । उनले छोरालाई त्यही व्यवसाय सञ्चालन गरेर ११ कक्षामा पढाइरहेको बताइन् ।

रुपाको मात्र होइन यतिबेला थुप्रै हिंसा पीडित महिलाको सहारा बनेको छ, सिलाई कटाई । त्रिदेव क्याम्पसकी अध्यापिका सावित्रा दाहाल पनि यसमा सहमत छिन् । पछिल्लो समय सिलाई बुनाई व्यवसायमा महिलाको आषर्कण बढ्दै गएको उनको टिप्पणी छ । उनले भनिन् – ‘महिलाहरूमा आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतनाको विकास भएको र सानो पूँँजीबाट सुरु गर्न सकिने हुँदा यो व्यवसायमा महिलाहरू बढी आकर्षित छन् ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: