तीन घण्टामै किन उल्टियो निर्णय ?

  प्रकाशित मिति
१ असार २०७३, बुधबार १५:११


city
विर्तामोड । सोमवार विहान विर्तामोडको मुक्तिचोकमा एउटा पनि सीटी सफारी देखिएनन् । कारण थियो–जिल्ला ट्राफिक प्रहरी कार्यालयले मुक्तिचोक वरपर एक सय मिटरमा लागू गरेको निषेधित घोषणा ।

ट्राफिक प्रहरीले फोर्स परिचालन गरेर विहानैदेखि विर्तामोडको चारैतिर सीटी सफारीलाई प्रवेश निषेध गरेको थियो । शनिश्चरे रोडको पुरानो नेपाल बैङ्क अगाडि सीटी रोक्न खटिएका प्रहरीसँग सीटी चालकहरूको घम्साघम्सी नै भएको थियो । प्रहरीले केही सीटी सफारीलाई नियन्त्रणमा समेत लिएको थियो ।

सीटीलाई मुक्ति चोकतिर जान नदिन भद्रपुररोड, चारपाने रोड र काँकरभिट्टा रोडतिर पनि प्रहरी परिचालित थिए । अचानक सीटी सफारीतिर ट्राफिक खनिएको देखेर सीटी चालक मात्र होइन, सर्वसाधारण समेत चकित भएका थिए ।

तर मुक्ति चोक वरपर एक सय मिटर क्षेत्रलाई सीटी सफारीमुक्त बनाउने ट्राफिकको निर्णय ३ घण्टाभन्दा बढी टिकेन । दिउँसो ट्राफिक प्रहरीले आफ्नो घोषणा फिर्ता लियो । फेरि मुक्तिचोकमा सीटी सफारीको ओहोरदोहोर बाक्लियो ।
किन ट्राफिक प्रहरीले निर्णय फिर्ता लियो ? कि त त्यस्तो घोषणा गर्नै हुन्न थियो, कि त निर्णयमा अडिन सक्नु पथ्र्यो । यस्ता टिप्पणी सुरु भएका छन् ट्राफिक प्रहरीप्रति लक्षित हुँदै ।

नियत गलत थिएन
सीटी सफारी चालकहरूले प्रहरीमाथि विभिन्न लाञ्छना लगाए पनि वास्तवमा ट्राफिक प्रहरीको नियत नराम्रो देखिदैन । विर्तामोडमा लामो समयदेखि सीटी सफारीको अराजकता फैलिइरहेको छ । यसलाई व्यवस्थित गर्न जरुरी थियो ।
विर्तामोडको सडक र आवश्यकता भन्दा अत्यधिक मात्रामा सीटी सफारी सञ्चालनमा आएपछि ट्राफिकको टाउको दुखाइ हुनु स्वाभाविकै हो । दमक, लखनपुर, गौरादह समेतमा दर्ता भएका सीटीहरू विर्तामोडमा ओइरिने गरेका छन् ।

लाइसेन्स नभएका, ट्राफिक नियम नजानेका र जथाभावी बाटो काट्ने सीटीका कारण मुक्तिचोकमा सवारी जाम हुने समस्या बढेको थियो । ट्राफिक प्रहरीले यही समस्याको निकास खोज्ने क्रममा निषेधित क्षेत्र घोषणा गरेको देखिन्छ ।

विकल्प नसोच्नु ट्राफिकको कमजोरी
ट्राफिक प्रहरीका लागि आफ्नै निर्णय ‘व्याक फायर’ हुनुमा विकल्पका बारेमा राम्रो सोचविचार नगर्नु प्रहरीको गल्ती देखिन्छ । मुक्ति चोकमा सीटी कुदाउन नदिने प्रहरीले चालकहरूलाई रिङरोड जस्तै लाग्ने अतिथि सदन, अन्नपूर्ण लाइन र कृषि थोक रोडमा सीटी कुदाउन निर्देशन दिएको थियो ।

तर ती गल्लीहरू सीटी कुदाउनका लागि योग्य थिएनन् । पुरानो भद्रपुररोड, कृषि थोक र अतिथि सदन रोड जाने रोडको अवस्था खराव भएकाले त्यहाँ सीटी कुद्नै सकेनन् । यसबाट सीटी चालक र सर्वसाधारण यात्रु दुबै पक्षलाई सास्ती भयो । यहीकारण ट्राफिकको निर्णयविरुद्ध चालकको आक्रोस बढ्यो ।

सीटीको विगबिगी
विर्तामोडमा पाइडल रिक्सालाई विस्थापित गर्दै सीटी सफारी भित्रिएपछि यसको बाढी नै उर्लियो । यतिसम्मकि विर्तामोडको मुख्य ट्राफिक चुनौती बन्न पुग्यो । ठूला बस तथा ट्रकलाई मात्र होइन, मोटरसाइकल र पैदल यात्रुका लागि पनि सीटी सफारीको भीड अवरोधक बन्न पुग्यो ।

जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार झापामा कूल २ हजार ४ सय ४६ वटा सीटी सफारी सञ्चालनमा रहेकोमा विर्तामोडमा मात्रै आधाभन्दा बढी छन् । जिल्ला ट्राफिक प्रमुख ढुण्डीराज गिरीका अनुसार विर्तामोडमा १ हजार ४ सय ६५ वटा सीटी सफारी सञ्चालनमा छन् । त्यसपछि दमकमा धेरै अर्थात ८ सय १ वटा सीटी सञ्चालनमा छन् । मेचीनगर र भद्रपुरमा सीटीको सङ्ख्या ठिकठिकै छ ।

सीटीले गर्दा दुर्घटनाको जोखिम
राजमार्ग र चोकमा आवागमन क्षेत्र ढाकेर बस्ने गरेका सीटीका कारण दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाई छ ।

जिल्ला ट्राफिक प्रमुख गिरीका अनुसार मुक्ति चोकमा सीटीकै जामका कारण लामा बस र ट्रकलाई टर्निङ काट्न मुस्किल हुने गरेको छ ।

हिजोसम्म पाइडल रिक्सा चलाएका वा भर्खरै सीटी रिक्स चलाउन सिकेका चालकको सङ्ख्या बढी भएको प्रहरीको भनाई छ । बाटो काट्न र सवारी सङ्केत दिन नसक्दा सीटीका चालक र यात्रु नै दुर्घटनाको जोखिममा पर्ने भएकाले मुख्य चोकमा सीटीलाई निषेध गर्ने सोचाई बनाइएको उनको तर्क छ ।

मुक्तिचोकमा रोक्न नदिइने
मुक्ति चोकबाट एक सय मिटर टाढै सीटीलाई डाइभर्ट गर्ने योजना असफल भएपछि ट्राफिक कार्यालयले आफ्नो निर्णयमा सुधार गर्दै मुक्ति चोकम सीटीलाई रोक्न र स्टेन्ड लगाउन नदिने नयाँ निर्णय लागू गरेको छ ।

सीटी चालक, नगरपालिका र अन्य सरोकारवालाहरूसँगको सहमति पश्चात ट्राफिकले निर्णय बदलेको हो । सीटीको प्रवेशमै निषेध गर्ने निर्णय ट्राफिकले जारी राखेको भए विर्तामोडमा सीटी चालकहरूले हड्तालको मुड बनाइसकेका थिए ।
‘मुक्तिचोकमा रोक्न र स्टेन्ड लगाउन पाइँदैन’, नयाँ निर्णय बारे जानकारी दिदै ट्राफिक प्रमुख गिरी भन्छन्–‘चालकले व्लुबुक र नागरिकता चाहिँ अनिवार्य बोकेकै हुनु पर्नेछ ।’

प्रहरीले एक हप्तासम्म यो नयाँ नियमबारे प्रचार गर्ने र त्यसपछि नियम उल्लङ्घन गरेको पाइए कार्वाही गर्ने चेतावनी दिएको छ । असारभित्रमा सीटीको रुटको टुङ्गो लगाएर अराजक चलखेल बन्द गराउने प्रहरीको योजना छ ।
ट्राफिकले जुन क्षेत्रका लागि भनेर दर्ता भएको हो, सीटीलाई उतै सञ्चालना गर्नु पर्ने कडा उर्दी जारी गरेको छ । अन्तैका लाति दर्ता गरेर विर्तामोडमा ल्याएका सीटीलाई फर्काइने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: