तीन पाङ्ग्रेको लाइसेन्स अब नगरपालिकाले दिन्छ : रविन कोइराला

  प्रकाशित मिति
१२ असार २०७९, आईतवार १९:३०


मेचीनगर, १२ असार । संविधान सभा सदस्य रविन कोइरालाले टेम्पो, ई–रिक्सा र अटो कुदाउने चालकहरुको सवारी चालक अनुमति पत्र (लाइसेन्स) स्थानीय सरकारले दिने बताएका छन् ।
आइतबार काँकरभिट्टा स्थित पूर्व मेची बस व्यवसायी सघंको हलमा मेचीनगर टेम्पो, ई–रिक्सा एण्ड अटो यातायात प्रालिले आयोजना गरेको ‘तीन पाङ्ग्रे सवारी साधनमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा एमालेका झापा सहइन्चार्ज कोइरालाले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले प्रदेश नम्बर १ सरकारले तीन पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्र स्थानीय सरकारलाई हस्तान्तरण गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि कोइराला, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञानकुमार महतो, लागूऔषध व्युरो काँकरभिट्टाका प्रहरी नायव निरीक्षक टेकनाथ पौडेल, ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका हवलदार रामचन्द्र दाहाल लगायतले तीन पाङ्ग्रे सवारी साधनमा देखिएको समस्या र समाधानका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा प्रालिले तत्काल समाधान गरिनु पर्ने ७ वटा माग राखेको प्रालिका दुर्घटना समितिका संयोजक एकराज तिम्सिनाले बताए ।

उनले सिटी चालक अनुमति पत्र प्राप्त गर्नका लागि सरल प्रक्रिया अपनाइयोस्, सिटी, ई–रिक्सा र अटोको पाकिङ्ग स्थलको व्यवस्था गरियोस्, ब्लुबुक नविकरणका लागि एकपटक सहुलियत दरमा नविकरण गर्ने व्यवस्था मिलाइयोस्, लागूऔषध, चेलीबेटी बेचविखन, लुटपाट, चोरी, डकैती लगायतका समस्याहरुका विषयमा चालकहरुलाई सचेतना कार्यक्रम दिइयोस्, टेम्पो, ई–रिक्सा र अटोको बीमा तथा चालक स्वारोजगार श्रमिकहरुलाई दुर्घटना बीमा स्थानीय सरकारले गरिदिनु पर्ने र सवारी साधनको बढ्दो चापलाई नियन्त्रण गर्नुपर्ने भएकोले त्यसको उचित समाधान खोजी गर्न माग गरिएको जानकारी दिए ।

मेचीनगर टेम्पो, ई–रिक्सा एण्ड अटो यातायात प्रालिका अध्यक्ष गणेश चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत दुर्घटना समितिका सचिव विवेक लिम्बु र सञ्चालन प्रालिका सचिव दावा तामाङले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: