‘तेल नपठाउँदा’ निगम प्रमुखको सरुवा

  प्रकाशित मिति
११ मंसिर २०७२, शुक्रबार ०९:५४


विर्तामोड,९ मंसिर । मुलुकभर पेट्रोलियम पदार्थको वितरण सन्तोषजनक नभएको गुनासो आइरहेका बेला झापास्थित नेपाल आयल निगमका प्रमुख बासुदेव भण्डारी सरुवामा परेका छन् । मन्त्रीको ठाडो निर्देशनमा उनलाई झापाबाट केन्द्रीय कार्यालयमा तानिएको हो ।

वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनको निर्देशनमा सोमवार झापासहित बाँके र कपिलबस्तुस्थित निगमका प्रमुखहरू केन्द्रमा तानिएका हुन् ।
मन्त्रीको कार्वाहीमा पर्नेमा निगमको चारआलीस्थित कार्यालयका प्रमुख बासुदेव भण्डारी, भैरहवास्थित प्रमुख दिनेशकुमार यादव र नेपालगञ्जस्थित प्रमुख श्रीचन्द्र श्रेष्ठ रहेका छन् ।

मन्त्रीको निजी सचिवालयले सोमवार अबेर विज्ञप्ति जारी गरी ‘पेट्रोलियम पदार्थ वितरणमा अनियमितता गरेको र सन्तोषजनक कार्य सम्पादन नगरेको जनगुनासोपछि तीनै जना प्रमुखलाई केन्द्रीय कार्यालयमा छानविनका लागि झिकाइएको’ जनाएको छ ।

मङ्गलवार कार्यालय खुल्ने समयमा चारआलीस्थित आफ्नै कार्यकक्षमा भेटिएका निगमका शाखा प्रमुख भण्डारीले ‘कुनै गल्ती नै नभई बद्नाम हुने गरी मिडियाबाट कार्वाहीको प्रचार गराइएको’ बताए ।

उनले आफुलाई ‘कार्वाही’ होइन ‘सरुवा’ गरिएको बताउँदै यस निर्णयले समेत आश्चर्यचकित तुल्याएको प्रतिव्रिmया व्यक्त गरे ।

निगमको केन्द्रीय निकायबाट भण्डारीलाई सरुवा गरिएको वा छानविनका लागि बोलाइएको भन्ने बारेमा कुनै लिखित पत्र आएको छैन । केन्द्रका एक उच्च अधिकारीले भण्डारीलाई सरुवाको मौखिक जानकारी मात्र गराएको बुझिएको छ ।

सरुवाको मौखिक निर्देशन आएपछि भण्डारीले मङ्गलवारदेखि कार्यालयको निमित्त भएर कामकाज गर्न निगमकै अर्का अधिकृत लोकमणि पौडेललाई अख्तियारी दिएको बुझिएको छ ।

भण्डारी गत कात्तिक २२ गते विराटनगर कार्यालयबाट सरुवा भई चारआली आएका थिए । यति छिटै स्वाभाविक सरुवा हुनै सक्दैन । तर मन्त्रीको सचिवालयको विज्ञप्ति बाहेक उनीमाथि कहिँबाट कहिल्यै पनि अभियोग लागेको थिएन ।

चारआली डिपोबाट तेलको वितरण व्यवस्थित र पारदर्शी ढङ्गले भइरहेको जिल्ला प्रशासन कार्यालय र मेची पेट्रोलियम डिलर्स एसोसिएसनको समेत भनाई छ ।

‘केन्द्रबाट निगमका प्रमुखलाई किन सरुवा गरियो त्यसका बारेमा हामी केही भन्न सक्दैनौँ’, जिल्ला प्रशासन समेतको सहभागितामा झापामा भइरहेको तेल वितरणमा यस घटनाबाट प्रश्न उठेको बारेमा ध्यानाकर्षण गराउँदा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल भन्छन्–‘निगमको तेल वितरणमा हाम्रा तर्फबाट सहायक प्रजिअ समेत संलग्न रहनु हुन्छ, पारदर्शी र व्यवस्थित नै छ ।’

मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लयप्रसाद भण्डारी पनि निगमका प्रमुख भण्डारीको सरुवा हुँदा आफुहरू अचम्ममा परेको बताउँछन् ।
मेचीमा तेल वितरण एसोसिएसनको राय अनुरुप हुँदै आएको बताउँदै निगममै अनियमितता भएको आफुलाई विश्वास नलागेको अध्यक्ष भण्डारीले बताए ।

एक स्रोतका अनुसार काँकरभिट्टा नाकाबाट भित्रिने तेलको ७५ प्रतिशत मात्रा राजधानी पठाउन बारम्वार निर्देशन दिए पनि चारआली डिपोले झापाबाट अधिकतम ६० प्रतिशत मात्र तेल पठाएको कारण मन्त्री र निगमको केन्द्रीय नेतृत्व भण्डारीसँग असन्तुष्ट थियो । यही कारण उनलाई सन्तोषजनक ढङ्गले कार्य सम्पादन नगरेको आरोपमा सरुवा गरिएको हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: