झापा, ११ साउन । कमल गाउँपालिका वडा नम्बर २ स्थित क्याम्पा बजारमा तोपगाछी बजारको पहिचान झल्कने तोप र गाछीको प्रतिमा बनाइएको छ ।
स्थानीय युवाहरुको सक्रियतामा बनाइएको प्रतिमाको आइतबार गाउँपालिका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु शिवाकोटीले संयुक्त अनावरण गरेका छन् ।
स्थानीय युवाहरुको सक्रियतामा गोल चक्कर बनाएर सो माथि प्रतिमा राखिएको पालिकाकी अध्यक्ष काफ्लेले बताइन् । उनले तोपगाछीको पहिचान नमेटियोस् भनेर युवाहरुले स्थानीय व्यवसायी, सहकारी र दाताहरुको सहयोगमा सो प्रतिभा बनाएको बताइन् । उनले सो प्रतिभाले तोपगाछीको इतिहास र पहिचानलाई जीवन्त राख्ने बताइन् ।
वडाको सिलिङ बजेटबाट रु. एक लाख पचास हजार र अन्य दाताको सहयोग गरी रु. तीन लाख पचास हजारमा सो प्रतिभा बनाइएको जानकारी प्रतिमा निर्माण समितिका सचिव कुमार बस्नेतले बताए । स्थानीयबासीले सोही स्थानमा तोप आकारको रुख रहेको बताउँछन् भने कतिपयले रुखको टोड्का तोप नै फेला परेको हुँदा वि.सं. २०१८ सालमा सो स्थानको नाम तापगाछी राखिएको भनाई छ ।