मोहन काजी/अर्जुन कार्की
विर्तामोड । अन्तर्राष्ट्रिय ‘नयाँ वर्ष २०२०’ को पहिलो दिन बुधवार सबैतिर उल्लास र उत्सवको माहोल थियो । विहानैदेखि मानिसहरु फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत शुभकामना साट्न व्यस्त थिए । काठमाडौं लगायत सातै प्रदेशको राजधानीमा नेपाल भ्रमण वर्षको सुरुवातको कार्यक्रम हुँदै थिए । काँकरभिट्टा नाका र चन्द्रगढी विमानस्थलमा पहिलो पर्यटकलाई सम्मान गर्ने कार्य भइरहेको थियो । ठिक त्यसै बेला झापाको विर्तामोड–५ स्थित बीएन्डसी हस्पिटल परिसरभित्र रहेको पूर्वाञ्चल क्यान्सर हस्पिटलमा नेपालमै पहिलोपल्ट भित्रिएको अत्याधुनिक टुविम रेडियोथेरापी मेसिनबाट रेडिएसन दिएर एक युवाको जीवन बचाइँदै मात्र थिएन, क्यान्सरको सफल उपचारको इतिहास समेत रचिदै थियो ।
‘मुस्कुराउँछ नयाँ जीवन’ भन्ने उद्घोषका साथ क्यान्सरविरुद्ध इतिहासको रचना गर्न सफल पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट पहिलो रेडिएसन थेरापी सेवा पाउने ती युवा उनान्तीस बर्षीय पदम मिश्र थिए । उनको ठूलो आन्द्रामा क्यान्सर थियो । उनको क्यान्सर लागेको आन्द्राको ट्युमरमा विश्वकै नविनतम् प्रविधिबाट निःशुल्क रेडियसन थेरापी दिइएको हो ।
यो सेवा सुरु भएसँगै झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटल अब क्यान्सरको उपचार गर्ने नेपालको सबैभन्दा उत्कृष्ट हस्पिटल ठहरिएको छ भने विश्वकै राम्रा हस्पिटलमा दाँजिएको छ ।
पाँच वर्ष अघि २०७१ फागुन १८ गते बीएन्डसी टिचिङ हस्पिटलको स्थापना साहसिक युवा उद्यमी दुर्गा प्रसाईको नेतृत्वमा भएको थियो । प्रसाई आफै पनि क्यान्सरको उपचार गराइसकेका व्यक्ति हुन् । भारतको मेदान्तमा आफुलाई लागेको क्यान्सरको उपचार गराएलगत्तै उनले अरु कसैले क्यान्सरको भरपर्दो उपचारको खोजीमा विदेश धाउनु नपरोस् भन्ने सोचेर विर्तामोडमा पूर्वाञ्चल क्यान्सर हस्पिटलको निर्माणलाई अघि बढाएका थिए । उनले क्यान्सर हस्पिटलको सेवा उद्घाटन कार्यक्रममा बोल्दै आफ्नो एउटा सपना पूरा भएको बताए ।
बीएन्डसीकै सञ्चालकहरुले ४ अर्ब रुपैयाँको लगानीमा ३०० बेडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको स्थापना गरेका हुन् । क्यान्सर हस्पिटल पूर्ण क्षमताका साथ सञ्चालन हुँदा करीव ९ सय जनाले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । नेपालमा अन्यत्र कतै पनि नभएको अत्याधुनिक उपकरण र प्रविधि पहिलोपल्ट भित्राएर हस्पिटलले क्यान्सरको विश्वस्तरीय उपचार थालेको छ । हस्पिटलमा पेट स्क्यान, थ्रीडी स्क्यान, मेमोग्राम, थ्री टेस्लाको एमआरआई लगायतका अत्याधुनिक उपचार उपकरण पनि छन् ।
सञ्चालकहरुका अनुसार उपचारका लागि पूर्वाञ्चल क्यान्सर हस्पिटल आउने विरामीले विश्वमा प्रचलित तीन किसिमको उपचार पद्धति रेडिएसन, किमो र सर्जरीका लागि अब अन्यत्र (बिदेश) धाउनु नपर्ने भएको छ ।
हस्पिटलले रेडियोथेरापी सेवाको उद्घाटनलाई अलिकति पनि तामझामपूर्ण बनाएन । कार्यक्रममा मिडिया खपतका लागि रवाफिला मन्त्री र नेताहरु पनि निम्त्याइएका थिएनन् । बरु, आवाजविहीनहरुको आवाज बनेर राज्यको चौथो अङ्गको रुपमा पत्रकारिता गरिरहेका स्थानीय र राजधानी काठमाडौंबाट आएका स्वास्थ्य बिटमा कार्यरत ४० जना पत्रकारहरुलाई हस्पिटलले अतिथिको सम्मान दिएर पत्रकार सम्मेलनसहितको कार्यक्रम गर्यो । पत्रकारहरुलाई ढाकाको खादा ओढाएर सम्मान गरिएको थियो । सम्मेलनमा हस्पिटल, क्यान्सर उपचार र स्वास्थ्य पत्रकारिताका विषयमा पत्रकारहरु र हस्पिटलविच रचनात्मक सवाल–जवाफ भएको थियो ।
हस्पिटल सञ्चालक, पत्रकार र स्वास्थ्यकर्मीको उपस्थितिमा क्यान्सर रोग विशेषज्ञ (अङ्कोलोजिस्ट) डा. वीरेन्द्र यादवले अमेरिकामा निर्मित विश्वकै सबैभन्दा अत्याधुनिक टुबिम रेडियोथेरापी मेसिनको स्वीच थिचेर मिश्रको आन्द्रामा रहेको ट्युमरमा पहिलो रेडियसन दिएका थिए । भारतको विश्वप्रसिद्ध हस्पिटल मेदान्तमा सेवा गरिरहेका क्यान्सर रोग विशेषज्ञ डा. यादव वीएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईको आग्रहमा मेदान्तको आकर्षण जागिर छाडेर स्वदेशमै सेवा गर्न भनी गत वर्ष बीएन्डसी आएका थिए । उनी हाल पूर्वाञ्चल क्यान्सर हस्पिटलको मेडिकल डाइरेक्टरको जिम्मेवारीमा छन् ।
बीएन्डसीकै दक्षिणी छेउमा पूर्वाञ्चल क्यान्सर हस्पिटलको नौ तला भवन निर्माणाधीन अवस्थामा छ । भवनको मुनिका चार तला हाल पुरै निर्माण भइसकेको हुँदा त्यहीँ क्यान्सर उपचार सेवा सुरु गरिएको हो । भवनको अन्डरग्राउन्ड तलामा व्यवस्थित बङ्कर बनाएर रेडिएसन थेरापी दिने मेसिन जडान गरिएको छ । सोही तलामा रहेको सभाहलमा थेरापी सेवाको उद्घाटन तथा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
रेडियोथेरापी सुरु गर्नु केहीबेर अघि हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र सञ्चालक समितिकी अध्यक्ष इन्दिरा गिरीले संयुक्त रुपमा दीयो प्रज्ज्वलन गरेका थिए । इतिहास रचनाको क्षण भएर होला, हलमा उपस्थित पत्रकार, स्वास्थ्यकर्मी र सञ्चालकहरु प्रसन्न मुद्रामा देखिन्थे । हस्पिटलका मेडिकल डाइरेक्टर डा. यादवले हस्पिटलको परिचय, क्यान्सरको उपचार प्रक्रिया र नयाँ मेसिनको विशेषता बारेमा प्रोजेक्टरबाट प्रस्तुति दिएका थिए ।
विश्वभरि क्यान्सरको सङ्क्रमण डरलाग्दो अवस्थामा छ । हरेक तीन मिनटमा एक जनाको क्यान्सरबाटै मृत्यु भइरहेको अध्ययनले देखाएको छ । भारतको राजीव गान्धी, टाटा मेमोरियल, मेदान्त जस्ता क्यान्सर हस्पिटलमा उपचारका लागि चर्को मूल्य चुकाएर पुग्ने हरेक तेस्रो विरामी नेपाली नै हुने गरेको डा. यादवले बताउँदा उद्घाटन हल स्तब्ध जस्तै बनेको थियो ।
हस्पिटलकी अध्यक्ष इन्दिरा गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक दुर्गा प्रसाई, क्यान्सर हस्पिटलका मेडिकल डाइेक्टर डा. वीरेन्द्र यादव, वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गाइने अङ्कोलोजिस्ट प्रा.डा. गेहनाथ बराल, बीएन्डसी हस्पिटलका मेडिकल डाइरेक्टर डा. निराजन पराजुली, स्वास्थ्य पत्रकार मञ्चकी राष्ट्रि«य अध्यक्ष कल्पना आचार्य, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला र नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजीले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले गरेका थिए । सो अवसरमा हस्पिटलका सीइओ डा. निराजन पराजुली, विभिन्न बैङ्कका उच्च पदाधिकारीहरु र ठूलो सङ्ख्यामा पत्रकार र चिकित्सकहरुको उपस्थिति रहेको थियो ।
(सबै तस्वीर फोटो पत्रकार बिजय बरालले खिच्नु भएको हो ।)