त्यो सर्वेक्षण र उम्मेद्वारका अनुहार

  प्रकाशित मिति
२० जेष्ठ २०७४, शनिबार १०:३७


gyanendra
ज्ञानेन्द्र निरौला

चैतको पहिलो साता स्थानीय तहको निर्वाचनका लागि बैशाख ३१ को मिति घोषणा मात्र भएको थियो । त्यही मितिमा निर्वाचन हुन्छ भन्न सक्ने गरी वातावरण पनि बनिसकेको थिएन । तर पनि राजनीतिक दलहरु आफ्ना तर्फबाट उम्मेद्वार हुने व्यक्तिको छनौटको छलफलमा जुट्न सुरु गरेका थिए । झापाको मेचीनगरमा पनि उम्मेद्वार छनौटको तयारी बैठकहरु दलका नेतृत्व वर्गले सुरु गरेका थिए । प्रारभ्भिक छलफल सुरु भएको थिए उम्मेद्वार छनौटको ।

नयाँ संरचनामा मेचीनगरको भूगोल निकै ठूलो भइसकेको थियो । साविकका बाहुनडागी, ज्यामिरगढी, धाइजन र दुवागढी मेचीनगरको भूगोलमा समाहित भएर १५ वटा वडामा व्यवस्थापन भइसकेकाले पनि दलहरुलाई उम्मेद्वार चयन गर्न त्यति सजिलो काम थिएन ।

उम्मेद्वारका बारेमा चर्चा चलिरहेकै बेला लोकतन्त्र पोस्ट दैनिकका सम्पादक मोहन काजी दाई र म बिचमा एउटा बिषयको सल्लाह भयो । हामी दुवैले संयुक्त रुपमा खास गरी हामी आबद्ध दुईवटा सञ्चार गृह लोकतन्त्र पोस्ट दैनिक र रेडियो सरगमले जनस्तरमा गएर टिकट पाउन सक्ने उम्मेद्वार कस्ता होलान् भनेर सर्वेक्षण गर्ने सल्लाह भयो । त्यसो गर्न मिल्ने कि नमिल्ने भनेर सँगै बसेर निर्वाचन आचार संहिता हेरियो । निर्वाचन आचार संहिताले उम्मेद्वार छनौट कै बिषयलाई सर्वेक्षण गर्न रोकेको नदेखिए पछि हामी दुवै सर्वेक्षण गर्ने निधोमा पुग्यौं ।

सर्वेक्षण त गर्ने तर त्यसका लागि हामीसँग न अनुभव नै थियो, न कुनै सर्वेक्षण फारम नै । सर्वेक्षण त गर्ने तर कसरी भनेर हामी एक दिन भरी घोत्लियौँ । बिभिन्न सर्वेक्षण सम्बन्धी विधिहरुको बारेमा छलफल गरिसके पछि हामी प्रत्यक्ष भेटघाट र कुराकानीको आधारमा गरिने सर्वेक्षण विधि नै उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुग्यौं ।

पहिलो चरणमा मेचीनगरको प्रमुख र उपप्रमुखमा मुख्य ठूला दलका तर्फबाट कस कसले उम्मेद्वारको टिकट पाउन सक्छन् भन्नेमा हामीले सर्वेक्षण केन्द्रित ग¥यौं ।
उक्त सर्वेक्षणमा हामीले मेचीनगरका १५ वटा वडाका दलका अगुवा कार्यकर्ता, नेता, सामाजिक अगुवा र आम मतदाताहरु बिच प्रत्यक्ष भेटघाट र कुराकानी केन्द्रित ग¥यौं । भेटमा हामीले सोध्ने प्रश्न यति मात्र थियो कि “तपाईको बिचारमा विभिन्न पार्टीबाट मेचीनगरको प्रमुख र उपप्रमुखमा कस कसले टिकट पाउँछन् ?” यो एउटा प्रश्नको उत्तरमा कुनै तीन जना ब्यक्तिको नाम भनिदिन हामीले अनुरोध गरेका थियौं । केही केहीलाई हाम्रो उत्तर पछि आएको जवाफका नाममा किन र कसरी भन्ने पनि प्रति प्रश्न गरेका थियौं । यो बाहेक हामीले भेटेका सबैलाई अर्को प्रश्न गरेनौं र गर्ने योजना पनि थिएन ।

loktantraप्रत्यक्ष भेटघाटबाट आएको तथ्याङ्कीय प्रतिवेदनलाई समाचारमा रुपान्तरण गर्न पनि हामीलाई दुई दिन लाग्यो । सामान्यतया सर्वेक्षणको प्रतिवेदन हुन्थ्यो, त्यो बारेमा हामीलाई जानकारी थियो तर हामीले समाचारका लागि सर्वेक्षण गरेका थियौं र हामीले त्यो प्रतिवेदनलाई समाचार कै रुपमा बाहिर ल्याउने नै लक्ष्य थियो । करीब दुई सय मानिससँग प्रत्यक्ष कुराकानी सहितको सात दिनको मेहनतमा पछि हामीले उक्त सर्वेक्षणको रिपोर्टरुपी समाचार लोकतन्त्र पोस्ट दैनिक, त्यसकै अनलाइन र रेडियो सरगम र त्यसको अनलाइनमार्फत एकै साथ प्रकाशन र प्रसारण गर्ने तयारी ग¥यौं । योजना अनुसार नै हामीले सर्वेक्षणको समाचार हामी आवद्ध सञ्चार गृहबाट चैतको १६ गते बाहिर ल्याउन सफल भयौं । जसै त्यो समाचार बाहिर आयो, त्यसले मेचीनगर मात्र नभई जिल्लाभरि नै एउटा तरङ्ग पैदा ग¥यो ।

सर्वेक्षणमा हामीले टिकटको दौडमा पहिलो दोस्रो र तेस्रो स्थान भनेर तोकेर नै समाचार प्रकाशन प्रसारण गरेका थियौं । केहीले त्यसलाई नकारात्मक रुपमा लिएर त्यही ढङ्गबाट प्रतिक्रिया पनि दिए । तर समग्रतामा त्यो नौलो सामाग्री आम नागरिकले अत्यन्तै मन पराएको पाइयो । खास गरी दलका नेतृत्वलाई त्यो समाचारले अतिरिक्त दवाव महशुस गराएको पाइयो ।

स्वाभाविक छ आफु अनुकूल नहुनेहरुले त्यो समाचारको चर्को बिरोध पनि गरे । केहीले सामाजिक सञ्जालमा मोहन दाई र मलाई खुईल्याउन पनि भ्याए । तर हामी बिचलित भएनौं । किनकि हामीले समाचारमा नै भनेका थियौं कि यो कसैको लोकप्रियता जाँच गरिएको होइन । त्यो त आम मतदाता, नागरिक समाज, दलका नेता कार्यकताको मूल्याङ्कनमा पार्टी भित्रबाट उम्मेद्वार बन्न कसको सम्भावना बढी छ भन्ने मात्र थियो । र, त्यसमा हामीले हाम्रो कुनै राय, सुझाव र भनाई राखेका थिएनौं । हामी दुईको काम त हामीले भेटेर कुराकानी गरेका मानिसबाट आएको जवाफलाई पहिलो दोस्रो र तेस्रो क्रम छुट्याएर प्रस्तुत गर्ने मात्र थियो ।

प्रमुख र उपप्रमुखको सर्वेक्षणले हामीलाई हौस्याएको थियो । चुनावी माहोल तात्तै गए पछि अन्य नगर र गाउँको पनि सर्वेक्षण गरिदिन अनुरोध नआएको पनि होइन तर हामी नयाँ काम सीमित क्षेत्रमा मात्र गर्न सक्ने थियौं र अन्यतिर जान सक्ने अवस्था पनि थिएन । तर, पनि हामीले मेचीनगरका सर्वाधिक जनसङ्ख्या र महत्वका दुई वटा वडाहरु वडा नं ६ काँकरभिट्टा क्षेत्र र वडा नं. १० धुलाबारी क्षेत्रको वडाअध्यक्षको उम्मेद्वारको टिकट सम्बन्धमा त्यही प्रकृतिको सर्वेक्षण पनि ग¥यौं । त्यो पनि धेरैले मन पराइदिनु भयो ।

सर्वेक्षणको समाचारले बिस्तारै चुनावी माहोल तताउँदै लग्यो । सुरुमा नकारात्मक प्रतिक्रिया दिनेले पनि चुनावी छलफल अघि बढ्दै जाँदा भइरहेको प्रगति सर्वेक्षणको समाचार नजिक देख्न थाले पछि भने सकारात्मक बन्न थाले । आवेगमा दिएको प्रतिक्रियाले केही व्यक्तिलाई अहिले पनि हामीसँग खुलेर कुरा गर्न असहज महसुस गरेको भान हुन्छ ।

बैशाख ३१ कै लागि गरेको सर्वेक्षण थियो त्यो । तर चुनाव पछाडि धकेलिँदासम्म पनि हाम्रो दुवै खाले सर्वेक्षण सही सावित बन्दै गइरहेको छ । अहिलेसम्म छनौट भएका उम्मेद्वारहरुमा हाम्रो सर्वेक्षण पूर्णतः सही प्रमाणित भएको छ । प्रमुख र उपप्रमुखको हकमा काङ्ग्रेस, राप्रपा र नयाँ शक्ति नेपालमा हाम्रो सर्वेक्षण शतप्रतिशत सही सावित भयो । माओबादी केन्द्रमा प्रमुखमा हाम्रो सर्वेक्षणले दोस्रो नम्बरमा रहनु भएकाले प्रमुखको टिकट पाउनु भयो भने उपप्रमुखमा हामी सही सावित भयौं ।

अब नेकपा एमालेले मेचीनगरको प्रमुख र उपप्रमुखका उम्मेद्वार छान्न बाँकी छ । एमाले भित्रको छलफल र नेताहरुले दिएको प्रतिक्रिया हेर्दा हाम्रो सर्वेक्षणमा देखिएका पहिलो र दोस्रो नम्बरमा रहेका मध्ये एकले नै प्रमुखको टिकट पाउने पक्का छ भने उपप्रमुखको हकमा पनि हाम्रो सर्वेक्षण सही सावित हुने सभ्भावना नजिक बन्दै गएको देखिन्छ ।

वडा स्तरमा गरिएको सर्वेक्षणमा पनि हामी सही सावित भइसकेका छौं । अहिलेसम्म छनौट भएका उम्मेद्वारको नाम हाम्रो सर्वेक्षण भित्रबाट नै आइरहेको छ । अब आउने नाममा पनि सर्वेक्षण कै आधारमा आउने प्रप्ट सङ्केत देख्न थालिएको छ ।

सीमित श्रोत र साधन अनि अनुभवबिहिन तर निस्वार्थ, तथ्यपरक र कुनै दल बिशेषको आग्रह र पूर्वाग्रह बिना गरेको त्यो सर्वेक्षण आज सही सावित बन्दै गर्दा रोमाञ्चित बनाएकै छ, त्यसभन्दा फरक निर्वाचनका बेला स्वतन्त्र भएर पत्रकारिता गर्न सके आम नागरिकका लागि सकारात्मक सन्देश सहितको चुनावी माहोल बनाउन सकिन्छ भन्ने बिश्वासले सगरमाथा छोएको छ ।

सुरुमा हाम्रो सर्वेक्षण प्रकाशित प्रसारित हुँदा कसैकसैले मनगढन्ते जस्तो भनेर पनि आलोचना गर्नु भयो । तर नतिजाले नै त्यस्तो आरोपको खण्डन गरिसकेकाले अब केही भनिरहनु नपर्ला । स्थानीय मिडियामा सर्वेक्षण गर्न सकिन्छ र त्यो यथार्थको नजिक हुन सक्छ भनेर नजिर स्थापना गर्न पाएकोमा हामी हर्षित छौँ । हुन त चुनाव नै कुन उम्मेद्वारले जित्ने सम्भावना छ भनेर अझ परिस्कृत ढङ्गले सर्वेक्षण गर्ने योजना छ । तर निर्वाचन आचारसंहिताले त्यस कार्यमा अघि बढ्न हामीलाई रोकिरहेको छ । सर्वेक्षणमा सहभागी र सहयोगी सबैलाई धन्यवाद ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: