त्रिदेवले विश्वस्तरीय ‘क्युएए’को मान्यता पाउँदै

  प्रकाशित मिति
२१ पुष २०७६, सोमबार २०:३६


अर्जुन कार्की

मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन अब गुणस्तर सुनिश्चितता प्रत्ययन (क्युएए) सेवा थपिने भएको छ ।

गुणस्तर सुनिश्चितता प्रत्ययनका पीआरटी टिमका नेतृत्वकर्ता त्रिभुवन विश्वविद्यालयका प्रा.डा. केशरजङ्ग बराल र स्टाफ मेम्बर नविना चौलागाईले सोमबार त्रिदेव बहुमुखी क्याम्पसको अनुगमन गरेका छन् ।

क्युएएको मान्यता प्रदान गर्ने सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको यो अन्तिम अनुगमन भएको प्राडा बरालले बताएका छन् ।
क्याम्पसले क्युएएका लागि प्रस्ताव बुझाए यता क्युएए दिने कि नदिने भनेर प्रतिबेदन तयार गर्ने उद्देश्यले त्रिविको टोली चारआलीस्थित क्याम्पसको अनुगमनमा आएको हो ।

टोलीले क्याम्पसको आर्थिक, शैक्षिक, प्रशासनिक, भौतिक लगायतका पूर्वाधार र क्षमताको विषयमा अध्ययन र अनुमगन गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरि घिमिरेले जानकारी दिए ।

‘यो उच्चस्तरीय अनुमगन टोलीले बुझाएको प्रतिबेदनका आधारमा क्याम्पसले क्युएएको मान्यता पाउनेमा हामी पूर्ण आशाबादी छौं’, क्याम्पसका अध्यक्ष घिमिरे भन्छन्–‘त्रिदेव क्याम्पसलाई मुलुककै नमुना कलेजको रुपमा स्थापित गर्न क्युएए फलदायी हुने हाम्रो अपेक्षा छ ।’

क्युएए मान्यता पाएपछि क्याम्पसको प्रमाणपत्रमा क्युएएको लोगो समावेश हुने र यहाँको प्रमाणपत्रले अन्तर्राष्ट्रिय समकक्षता प्राप्त गर्ने क्याम्पसका प्रमुख माधव प्याकुरेलले बताए । क्युएएमा गएपछि क्याम्पसले शैक्षिक तथा भौतिक सुधारका लागि ठूलो मात्रामा आर्थिक सहयोग पाउने छ ।

सोमबार क्याम्पस परिसरमा क्युएएका प्राडा बराल र स्टार्फ मेम्बर चौलागाई क्याम्पसका अध्यक्ष घिमिरे, क्याम्पस प्रमुख माधव प्याकुरेल, लोकराज ढकाल, मेचीनगर–१३ वडाध्यक्ष कृण्ण सिग्देल, हरिचरण बाँनिया, विश्व थापा लगायतले क्याम्पसको शैक्षिक उन्नतिका विषयमा छलफल गरेका थिए । छलफलमा फोकल पर्सन ज्ञानु खतिवडा, क्याम्पसका पूर्व अध्यक्ष हरिचरण बानियाँ लगायतको उपस्थिति थियो ।

क्युएए भनेको विश्व बैङ्कले विश्वविद्यालय अनुदान आयोग (युएसजी)को सहकार्यमा नेपालका क्याम्पसहरुको गुणस्तर बढाउने ल्याएको कार्यक्रम हो । यसमा पर्न क्याम्पसहरुले पहल गरिरहेका छन् । पछिल्लो समय त्रिदेव क्याम्पस यसका लागि छनौट भएको छ ।

क्युएएले क्याम्पसलाई सहयोग गर्ने भएको छ । क्याम्पसको निर्माणाधीन भवनको भुईतलाका लागि प्रस्ताव पठाइएकोमा क्युएएकै पहलमा ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको क्याम्पस अध्यक्ष घिमिरेले बताए । प्रकृति हेरी प्रस्ताव अनुसार ५० हजारदेखि माथि लाखौँ रुपैयाँ सहयोग गर्ने गरेको क्युएएका फोकल पर्सन खतिवडाले बताए ।

क्युएएले यसअघि दमक क्याम्पसलाई स्वीकृति दिइसकेको छ । मेची बहुमुखी क्याम्पसको अनुगमन भइसकेको छ भने त्रिदेव र सुरुङ्गाको कनकाई क्याम्पसको अनुगमन सुरु भएको बताइएको छ । दमक र सुकुना क्याम्पस बाहेक अरुले मान्यता पाइसकेका छैनन् ।

क्याम्पस प्रमुख प्याकुरेलले आगामी असार मसान्तसम्ममा त्रिदेव क्याम्पसले क्युएएको स्वीकृति पाउने दावी गरे ।

क्याम्पसले अनुदान आयोगको सहयोगमा भौतिक स्तर उन्नतिका लागि क्याम्पसको भवन निर्माण, फर्निचर, सिसि क्यामेरा जडान, विद्यार्थी विवरण, लेखा प्रणाली, पुस्तकालय लगायत कामलाई व्यवस्थित गर्न सफ्टवेयर मार्फत कामहरु गरेको छ ।

चारआलीका समाजसेवी चित्र कुँईकेल, देवी मैनाली र होम पाण्डेको १५ लाख लगानीमा २०६४ सालमा त्रिदेव क्याम्पस स्थापना भएको थियो । क्याम्पसमा वीएड, वीवीएस र एमएड विषयमा पढाई भइरहेको क्याम्पसकी अध्यापक सावित्रा दाहालले जानकारी दिइन् । उनका अनुसार क्याम्पसमा हाल ७ सय ५० जना विद्यार्थी अध्ययनरत् छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: