विर्तामोड । कराँते खेलको विकासका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापालाई बिहीबार मानार्थ ब्ल्याक बेल्ट प्रदान गरिएको छ ।
उप्रेती समाज सेवा समितिको विर्तामोडस्थित भवनमा करातेका सिनियर प्रशिक्षकहरुले आयोजना गरेको प्रशिक्षक तथा खेलाडी भेटघाट एवम् स्वागत कार्यक्रममा उनलाई ब्ल्याक बेल्ट प्रदान गरिएको हो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल कराते महासङ्घ र सितोरियो कराते सङ्घका संस्थापक थानेश्वर राई (टिएस)ले थापालाई ब्ल्याक बेल्ट प्रदान गरेका हुन् ।
सो अवसरमा प्रमुख अतिथि एवँ साँसद् रविन कोइराला, विशिष्ट अतिथि राई, नेपाल कराते महासङ्घ र सितोरियो कराते सङ्घका संस्थापक सदस्य कुलप्रसाद दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु आचार्य, ब्ल्याक बेल्ट प्राप्त गरेका थापालगायतले बधाइ मन्तव्य राखेका थिए ।
कराते सिनियर प्रशिक्षक कालु मेचेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत कराते वरिष्ठ प्रशिक्षक मदन उप्रेती र सञ्चालन कराते प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।