थामी समाजको भुमेथान भवन उद्घाटन

  प्रकाशित मिति
५ जेष्ठ २०७६, आईतवार ०९:३१


इटाभट्टा । मेचीनगरका थामी समुदायले निर्माण गरेको भुमेथान सामुदायिक भवन शनिवार उभौली पर्वको अवसर पारेर उद्घाटन गरिएको छ ।

मेचीनगर–८ सिर्जना चोकमा दाताहरुले दिएको ८ धुर जग्गामा निर्माण गरिएको भवनको नाम ‘थामी समाज भुमेथान सामुदायिक भवन’ राखिएको छ ।

विगत वर्षहरुमा मेचीनगर नगरपालिकाले दिएको ३ लाख ९ हजार ९ सय ५० रुपैयाँ, वडा नं. ८ कार्यालयले यसैवर्ष दिएको १ लाख ५० हजार रुपैयाँ र उपभोक्ता सहभागिताबाट टिनको छानो भएको पक्की ढलान र पर्खाल रहेको भवन निर्माण गरिएको हो ।

सो स्थानमा थामीहरुले पूजा गर्ने भुमे देउताको थान रहेको छ । चाडपर्व र अन्य अवसरमा समेत उनीहरुले यहाँ पूजापाठ गर्दै आएका छन् ।

भवन निर्माणका लागि नेपाल थामी समाज झापाका अध्यक्ष लालबहादुर थामीका स्व. वुवा बहादुर थामी र स्व. आमा सञ्चमाया थामीले ८ धुर जग्गा दान गरेका थिए भने स्थानीय डिगबहादुर विष्टले ०.४३ धुर जग्गा दान गरेका छन् ।

शनिवार सोही भवनमा उद्घाटन तथा उभौली पुजाको आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती थिइन् भने नेपाल थामी समाजका केन्द्रीय सल्लाहकार एवम् नेपाल आदिवासी जनजाति महासङ्घ झापाका उपाध्यक्ष मेघराज थामी, समाजकै केन्द्रीय उपाध्यक्ष भरत थामी, समाजकै केन्द्रीय सदस्य टिकाराम थामी, मेचीनगर वडा नं. ८ का अध्यक्ष विकेन्द्र धिमाल र पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजी विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिसहित समाजसेवी गिरराज धमला, नेपाल मगर सङ्घ झापाका सदस्य गम्भीरध्वज थापा, प्रतिभा युवा परिवारका सल्लाहकार टिकाभूषण आत्रेय र साझा मनोरञ्जन संस्थाका अध्यक्ष विष्णु भट्टराईले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

भवन निर्माण अनुगमन समितिका संयोजक एवम् नेपाल थामी समाज झापाका अध्यक्ष लालबहादुर थामीको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता परिवार, मेचीनगर नगरपालिका, वडा कार्यालय र भवन निर्माणमा उल्लेख्य योगदान पुर्याएकाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

भवनको भुमेथानको ढोका शिवसताक्षीस्थित थामी स्टील एन्ड आल्मुनियमले २५ हजार रुपैयाँमा निर्माण गरिदिएको थियो । कार्यक्रमको सञ्चालन सारिका थामी र सञ्जय थामीले गरेका थिए । सो अवसरमा थामी गीतमा नृत्य प्रस्तुत गरिएको थियो भने रिकेश थामीले गीत गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: