थोप्लेविरानको साधारण सभा

  प्रकाशित मिति
७ माघ २०७४, आईतवार १०:४६


धुलाबारी । मेचीनगरका मेयर विमल आचार्यले नगरभित्र रहेका सबै सामुदायिक वनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताएका छन् ।

शनिवार मेचीनगर–९ स्थित थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूहको २२ औँ वार्षिक साधारणसभालाई उद्घाटन गर्दै नगर प्रमुख आचार्यले यस्तो बताएका हुन् ।

‘मेचीनगर पर्यटन क्षेत्रको हब बन्दै गएको छ,’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले भने, ‘त्यसमा यहाँ रहेका सामुदायिक वनले ठूलो योगदान पुर्याएका छन् । पछिल्लो समय बनभोज खाने र घुम्न आउनेका लागि वन तथा सिमसार क्षेत्र नै उपयुक्त बन्दै गएको छ । बिदाका दिन घुम्न र रमाइलो गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ । जसको पहिलो रोजाइ नै सिमसार तथा सामुदायिक वन पर्छन् । यसले एकातिर पर्यटनको विकास गरेको छ भने अर्काेतिर वनको आर्थिक स्रोत पनि बृद्धि गर्दै गएको छ ।’

सामुदायिक वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि नगरपालिकाले पनि विशेष योजना ल्याउने बताउँदै नगर प्रमुख आचार्यले भने, ‘वनको संरक्षण गर्दै पर्यटन विकासमा तपाईहरु योजना अघि सार्नुहोस् ।’

आचार्यले मेचीनगरका बाँसबारी, कालिका, थोप्लेविरान, बहुवन, पाँचपोखरी, खुट्टीडाँगी लगायतका वनहरु पर्यटनको गन्तव्य स्थल बन्दै गएको र ती सबै वनको पर्यटन प्रोत्साहनका लागि थप योजना ल्याउने बताए ।

कार्यक्रमकी विशेष अतिथि मेचीनगरकी उपमेयर मीना उप्रेतीले यस क्षेत्रका सबै वनहरु नगरपालिकामा समाहित रहेकाले आफूहरुले अभिभावकको भूमिका निर्वाह गर्ने बताइन् । उनले यस क्षेत्रमा रहेका सबै सामुदायिक वनलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नु नगरपालिकाको पहिलो कर्तव्य र प्रयत्न रहने बताइन् ।

जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले देश सङ्घीय संरचनामा गए पनि सङ्घीय ढाँचाको वन ऐन नबनेसम्म सामुदायिक वनहरु पहिलेकै संरचनामा सञ्चालन हुने बताए । उनले झापाका वनहरु वर्षेनि घट्दो क्रममा रहेकाले यसको संरक्षण गर्नु उपभोक्ताको पहिलो कर्तव्य रहेको बताए । साथै, उनले सामुदायिक वनहरु पर्यटन विकासमा अघि बढ्दै गएकाले यसले वनको आर्थिक स्रोतमा सहयोग पुर्याउने बताए ।

संस्थाको कार्यालयमा सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा विभिन्न विधाका दर्जन बढीलाई सम्मान गरिएको थियो । जैविक विविधताको संरक्षण गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मेचीनगर–९ का कृषक डिल्लीराम उप्रेती, मेचीनगर–९ बाट निर्वाचित वडा सदस्य तथा वनका उपभोक्ता इन्द्रकुमार प्रधान, उत्कृष्ट सहयोगीको रुपमा रुद्रप्रसाद फुँयाल, उत्कृष्ट टोलीको रुपमा टोली नम्बर २२ लगायतलाई सम्मान गरिएको छ ।

त्यसैगरी, समूहका उपभोक्ता मध्येबाट विपन्न तथा असहाय हरिचरण तिवारी र सुशीला राजवंशीलाई कम्मल प्रदान गरिएको थियो ।

कार्यक्रममा सामुदायिक वन जिल्ला महासङ्घका सचिव भवानी खतिवडा, नेपाली काङ्ग्रेसका जिल्ला सचिव प्रेम सम्बाहाम्फे, माओवादी केन्द्रका मेचीनगर इञ्चार्ज प्रकाश भण्डारी, मेची उद्योग वाणिज्य सङ्घका महासचिव ऋषिराज तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समूहका अध्यक्ष कृष्णप्रसाद कोइरालाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४÷७५ को अनुमानित ६८ लाख ८३ हजार ४ सय ८७ रुपैयाँ बराबरको आयव्यय उल्लेख गरिएको छ ।

पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गरेको वनलाई पर्यापर्यटनका रुपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष कोइरालाले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

समूहका अध्यक्ष कृष्णप्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत सहसचिव लक्ष्मी श्रेष्ठले गरेकी थिइन् भने सञ्चालन सचिव जानुका ओलीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: