मेचीनगर । थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूह मेचीनगर–९ को २४ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
संस्थाको कार्यालय परिसरमा सम्पन्न साधारण सभामा पत्रकार र जेष्ठ नागरिकलाई सम्मान तथा विपन्न परिवारलाई न्यायो कपडा वितरण गर्दै आगामी वर्षको नीति एवम् कार्यक्रम सार्वजनिक गरिएको छ ।
संस्थाले पत्रकारिताको माध्यमबाट सूचना प्रवाह गरी योगदान पुर्याएको भन्दै लोकतन्त्र पोस्ट दैनिकका प्रधान सम्पादक झुलन रेग्मीलाई सम्मान गरेको हो । पत्रकार रेग्मी डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
त्यस्तै, संस्थाले थिनिङपुलिङ कार्य गर्ने उत्कृष्ट १० जना, उत्कृष्ट टोली संयोजक तोयानाथ तिम्सिना, ६ जना विपन्न उपभोक्तालाई सम्मानसहित उपहार प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद कोइरालाद्वारा प्रस्तुत प्रतिवेदनमा पर्यटन पूर्वाधार निर्माण गर्ने र उपभोक्तालाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
प्रतिवेदनमा वातावरणीय सन्तुलन, जैविक विविधतालाई जोड दिँदै वन्यजन्तु संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै, लक्षित वर्गका परिवारलाई आवासका लागि घर निर्माणमा अनुदान, विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति, खानेपानीका लागि धारा जडान, स्वास्थ्य उपचारमा राहत कार्यक्रमहरु सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिइने प्रतिवेदनमा छ ।
संस्थाका अध्यक्ष कृष्ण कोइरालाको अध्यक्षता तथा प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर प्रमुख विमल आचार्य, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, मेचीनगर वडा नं ९ वडाध्यक्ष गोपाल खड्का, सामुदायिक वन उपभोक्ता महासङ्घ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, नेपाली काङ्ग्रेस झापा सचिव प्रेम सोम्वाहाम्फे, नेकपा झापा जिल्ला कमिटी सदस्य प्रकाश भण्डारी, धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरे, बाँसवारी सामुदायिक वन अध्यक्ष शम्भू राजवंशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत तथा सचिव जानुका ओलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।