दबावपछि दोहोर्याएर पीच

  प्रकाशित मिति
२ जेष्ठ २०७६, बिहीबार १०:०९


 

झुलन रेग्मी

धुलाबारी । स्थानीय युवाहरुले कालोपत्रे गुणस्तरहीन भएको आवाज उठाएपछि धुलाबारी चोकैको सडकमा दोहोर्याएर पीच गरिएको छ । धुलावारी मोडमा पिच गरेको दुई दिनपछि प्वाक्प्वाकी पिचको पाप्रा उप्किएपछि स्थानीय युवाले गुणस्तरको प्रश्न उठाएका थिए । स्थानीय युवाहरुको दबाब पछि ठेकेदारले बुधबार दोहोर्याएर काम गरेका हुन् ।

धुलाबारी चोकबाट दक्षिण दुई सय मिटर कालोपत्रे गरिएको हो । सडक बोर्ड बजेटबाट कालोपत्रे गरिए पनि कमसल सामाग्री प्रयोग गरिएको थियो । उक्त सडकको दुई सय मिटर कालोपत्रे गर्ने जिम्मा अर्जुनधाराको जलजले निर्माण सेवाले जिम्मा लिएको थियो । निर्माण सेवाका ठेकेदार भाष्कर कार्कीले गुणस्तरहीन सामाग्री प्रयोग नभएका दाबी गरे । उनले स्थानीयले गुणस्तरहीन सामाग्री प्रयोग भएको गुनासो आएपछि फेरि दोहोर्याएर पीच गर्नु परेको बताए ।
स्थानीय युवा चेतन विष्टले कालोपत्रे गर्ने काममा लापरवाही भएको बताए । उनले कालोपत्रे उप्किन थालेपछि आफूहरुले गुणस्तरको प्रश्न उठाएको बताए । उनले कामचलाउ कालोपत्रे गर्न खोजेकाले विरोध गर्नु परेको स्पष्ट पारे ।

बुधबार दोहोर्याएर पीच गराउन नगरपालिका जनप्रतिनिधि तथा कर्मचारी स्वयम् उपस्थित थिए । मेचीनगर वडा नम्बर ९ का वडाध्यक्ष सुदय पनेरु, नगरपालिकाका इन्जिनियर भूपेन्द्र तामाङ लगायतले दोहोर्याएर पीच गर्नका लागि ठेकेदारलाई निर्देशन दिएका थिए ।

खबरदारीको अगुवाई गर्ने युवा नेता प्रकाश खड्काले धुलावारी खण्डमा दोहोर्याएर गुणस्तरीय पिच नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको बताए ।
सोमवार दिउँसो धुलावारीमोडमा नगरपालिका पूर्वाधार विकास हेर्ने समितिका संयोजक कृष्ण कनाल, नगरपालिकाका इन्जिनियर भुपेन्द्र तामाङ, निर्माण ठेकेदारको प्रतिनिधि समेतलाई राखेर सडकको कमसल निर्माण बारेमा छलफल गरिएको थियो ।

छलफल क्रममा स्थानीय युवा तथा उपभोक्ताहरुले ठेकेदार र अन्य सरोकारवाला निकायका प्रतिनिधिलाई र्याखर्याख्ती पारेका थिए । अर्का युवा नेता वीपी भट्टराईका अनुसार ठेकेदार र नगरपालिकाले पिच कार्यमा कमजोरी भएको स्वीकार गरेको छ र केही दिनमै दोहोर्याएर निर्माण कार्य गर्ने आश्वासन प्राप्त भएको छ ।

नगरपालिकाका जनप्रतिनिधि कृष्ण कनालका अनुसार सङ्घीय सरकारबाट प्राप्त भएको ६७ लाख रुपैयाँबाट धुलावारी मोड र काँकरभिट्टामा पिचको काम गरिएको हो । भीडभाड भएको ठाउँ भएकाले रोलरले राम्ररी प्रेसर गर्न नसक्दा सडकको किनाराहरुमा पिच उप्किने र दविने समस्या आएको कनाल बताउँछन् ।
नगरपालिकाले सो सडकको दोहोर्याएर गुणस्तरीय काम नगरेसम्म भुक्तानी रोकिदिने निर्णय भएको पूर्वाधार विकास समितिका संयोजक कनालले जानकारी दिएका छन् ।

उता काँकरभिट्टाको अरुणोदय विद्यालय जाने बाटोमा बालुवामाथि टालटुले पिच गरेको पाइएपछि स्थानीयबासीको सहयोगमा काम रोक्न लगाइएको छ ।
नेपाल पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्य लगायतका केही पत्रकारहरु काम गरिरहेको स्थानमा पुग्दा ठेकेदारले बालुवामाथि अलकत्रा छरछार पार्दै हतारहतारमा पिच गर्दै थिए ।

आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गरेजस्तो गरेर अनियमितता गर्ने देखावटी विकासलाई नै असारे विकासको खेती भन्ने गरिन्छ । मेचीनगरमा सचेत युवाहरुले हस्तक्षेप गरेपछि ठेकेदारले बजेटको दुरुपयोग नसक्ने हो कि भन्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: