दमक तीज महोत्सव : महिलाले बनाएका सामानको प्रदर्शनी

  प्रकाशित मिति
१९ भाद्र २०७८, शनिबार १०:०६


।। अम्बिका भण्डारी ।।
झापा, १९ भदौ । हिन्दू नारीहरुको महान पर्व तीजको पूर्वसन्ध्यामा दमक नगरपालिकाले महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले पाँच दिवसीय तीज महोत्सव सञ्चालन गरेको छ ।

दमक नगरपालिका–५ मा शुक्रवारदेखि आयोजित महोत्सवमा स्थानीय कच्चा पदार्थ, श्रम र सीप प्रयोग गरी दमकका उद्यमी महिलाले उत्पादन गरेका सामाग्रीको प्रदर्शनी गरिएको छ ।

जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न समयमा सीप मूलक तालिमहरु दिएको थियो ।

महोत्सवमा पूर्वाञ्चल बहिरा संघ, दमक अपांग सहयोग समिति र भूटानी शरणार्थी अपांग संगठनमा आवद्ध महिलाले उत्पादन गरेको घरेलु सामानको स्टल राखिएको छ ।

सुनको जस्तै देखिने ग्यारेन्टीका गहना, ढाका टोपी, ढाकाका कपडा, गुडिया, कपासको बाती, चुरा, पोते र माला लगायतका अनेकन सामान प्रदर्शनीमा राखिएका छन् ।

तालिम लिएका धेरै महिला समूहले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्ने र उनीहरुलाई प्रोत्साहन दिने उद्देश्यले तीजको अवसर पारेर महोत्सवको आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन् ।

तीज नाचेर, गाएर र तामझाम गरेर मात्र मनाउने पुरानो परम्परालाई परिमार्जन गर्दै महिलाहरुलाई उत्पादनसँग जोड्ने नयाँ कार्यको थालनी गरिएको उनको भनाई छ ।

“सीप सिकेका धेरै दिदी बहिनीहरुले गुणस्तरीय समाग्रीको उत्पादनसहित व्यावसायिक बन्नुभएको छ”, उनले भनिन्, “तर, उहाँहरुले उत्पादन गरेका सामग्रीको प्रचार नहुँदा बजारीकरण हुन सकेको छैन । हामीले सानो अभ्यास गरेका छौं । यसबाट उहाँहरुलाई भविष्यमा सहयोग पुग्ने पनि अपेक्षा छ ।”

दमक नगरपालिकाको नारा नै छ “दमकका महिला उद्यममा पहिला” । नारा जस्तै काम पनि हुने गरेको छ । तीजलाई महिलाको उद्यमशीलतासँग जोड्ने दमक नगरपालिकाको यो प्रयास रचनात्मक र उदाहरणीय भएको पत्रकार टिकाराम उप्रेती बताउँछन् ।

गतबर्षदेखि नै यो कार्यक्रमको थालनी गर्ने सोच बनाएको नगरपालिकाले कोभिड १९ को संक्रमणका कारण गर्न नसकेको नगरका प्रमुख रोमनाथ ओलीले बताए ।

महिलाले आफ्नै शिप र श्रममा उत्पादन गरेका सामानलाई बजारमा लैजान र आयआर्जन वृद्धिमा सघाउन नगरपालिकाले आगामी दिनमा थप प्रयासहरु गर्ने उनले बताए ।

सामाजिक दुरी कायम गरेर १० वटा स्टलमा स्थानीय महिलाले उत्पादन गरेका सामग्री प्रदर्शनमा राखिएको छ । आत्मज्ञान महिला समूहले महोत्सवमा परम्परागत ग्यारेन्टीका गरगहनाको स्टल राखेको छ ।

नगरपालिकाले तालिम दिएर गहना बनाउन सिकाएपछि महिला समूहले कण्ठ, शिरफूल, शिरबन्दी, नाकढुंग्री, मारवाडी, छड्के तिलहरी, माइली, साइली र कान्छी तिलहरीलगायतका गरगहना बनाउने गरेको समूहका अध्यक्ष इन्दिरा प्रसाईले बताइन् । उनीहरुले बनाएको गहना हेर्न र किन्न महोेत्सवमा भीड लागेको छ ।

दमक नगरपालिकाको नारा नै छ “दमकका महिला उद्यममा पहिला” । नारा जस्तै काम पनि हुने गरेको छ । दमक नगरपालिका क्षेत्रका एकल महिलाहरुले अग्र्यानिक कपुरका बाती, पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड लगायतका सामान बनाउँदै आएका छन् । उनीहरुले भारतीय वातीलाई विस्थापित गर्ने उद्देश्यले बनाइएका स्वदेशी बाती महोत्सवमा प्रदर्शन गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

कोभिड १९ का कारण गतबर्ष झै यसपाली पनि तीज नजिकै आइसक्दा रौनक कहीँ कतै देखिएको छैन । तर नगरपालिकाले महिलाहरुको उत्पादनलाई महत्व दिएर तीजको अवसरमा आयोजना गरेको महोत्सवले अन्यत्रका महिलामा समेत सकारात्मक सन्देश प्रवाह गरेको झापा जिल्ला समन्वय समितिकी सदस्य शुशीला अधिकारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: