‘दम्भको श्रीपेच खोल्नुस् केपी कमरेड’

  प्रकाशित मिति
१६ श्रावण २०७५, बुधबार १२:४०


भद्रपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वत्र्तमान सरकारको विरोध गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीलाई निशाना साँधेको छ ।

दुई तिहाई बहुमतप्राप्त सरकार र दुई शक्तिशाली कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर गठन भएको नेकपाको समेत नेतृत्व गरेका प्रधानमन्त्री ओली मङ्गलवार सदरमुकाम चन्द्रगढीमा काङ्ग्रेसले आयोजना गरेको विरोध सभामा आलोचनाको केन्द्र बने ।

विपक्षी काङ्ग्रेसको शीर्ष तहका दुई नेताहरु प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विरोध सभालाई सम्बोधन गर्ने क्रममा अधिकांश समय ओलीकै विरुद्ध खर्चिए ।

प्रवक्ता शर्माले मन्तब्यको सुरुवात नै ओलीले काङ्ग्रेसप्रति लक्षित गरेर केही दिन अघि माइतीघर मण्डलाको विषय जोडेर दिएको अभिव्यक्तिबाट गरेका थिए ।

ओलीले त्यो सम्बोधनमा काङ्ग्रेससँग जनमत नभएको हुँदा उसले विरोध प्रदर्शनका लागि माइतीघर मण्डलाको सानो ठाउँ मागेको टिप्पणी गरेको शर्माले सभामा सुनाए ।
उनले चन्द्रगढीको विरोध प्रदर्शनको तस्वीर वालुवाटार पठाइदिन आग्रह गर्दै दम्भको श्रीपेच फुकालेर विवेकको बाटोमा हिँड्न ओलीलाई सुझाव दिए ।

‘केपी कमरेड तपाईले दुई तिहाइको दम्भको श्रीपेच लगाउनु भएको छ’, शर्माले ओलीप्रति लक्षित गर्दै भने–‘विवेकको बाटो हिँड्नुहोस् र दम्भको श्रीपेच खोल्नुहोस् ।’

उनले ओलीको राष्ट्रबाद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमै खोक्रो सावित भइसकेको, वृद्धभत्ता ५ हजार पुर्याउने आश्वासन झुठो प्रमाणित भइसकेको र मदन भण्डारीले लिएको बहुदलीय जनवादको राजनीतिक मार्ग छाडिसकेको दावी गरे ।

ओली सरकारले इँटादेखि पेट्रोलसम्म महङ्गो बनाएको, प्रश्न सोध्ने पत्रकारलाई जागिरबाट हटाएको, लाखौ नेपाली जनताको समर्थनप्राप्त डा. गोविन्द केसीलाई अधिनायकबादीको आरोप लगाएको, काङ्ग्रेसले गरेको सबै नियुक्तिहरुलाई उल्टाएको आरोप लगाउँदै प्रवक्ता शर्माले सरकारले सडक, संसद र मिडियामा नियन्त्रण थालेकोले नेपाली काङ्ग्रेस बाध्य भएर आन्दोलनमा उत्रिनु परेको धारणा व्यक्त गरे ।

यसैगरी, सोही कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीलाई दुई तिहाइको मात लागेको दावी गरेका छन् ।
ओलीलाई लागेको दुई तिहाइको मात पूर्व राजा ज्ञानेन्द्रलाई लागेको सत्ताको मात जस्तै भएको सिटौलाले टिप्पणी गरेका छन् ।

ओली सत्तामा आएपछि जनताको अधिकारमाथि दमन गर्न उद्धत भएको भन्दै नेता सिटौलाले प्रधानमन्त्री ओलीलाई होशमा आउन चेतावनी दिए ।
‘ओलीजीलाई अहिले सत्ताको मात लागेको छ’, सिटौलाले भने–‘उहाँ होशमा हुनुहुन्न, चेतमा हुनुहुन्न, सपना र कल्पनामा उड्दै हुनुहुन्छ ।’
नेपालमा तानाशाही नटिक्ने र विगतमा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेको चर्चा गर्दै सिटौलाले भने–‘यही कुरा सम्झाउन हामीले देशव्यापी रुपमा उत्रिनु परेको हो ।’
स्वागत मन्तब्यको क्रममा पार्टीका उपसभापति राम कट्टेल र सभाध्यक्षको आसनबाट जिल्ला सभापति उद्धव थापाले समेत ओली र नेकपा सरकारको चर्को आलोचना गरेका थिए ।
चन्द्रगढी रङ्गशाला छेउको खाली चौरमा भएको विरोध सभा कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए ।
कार्यक्रममा संविधानसभाकी सभासद् उषा गुरुङ, सांसद महिन्द्रा सुब्बा, प्रदेश सांसद ओम सरावगी, पार्टीका कोषाध्यक्ष केशवराज पाण्डे लगायतको उपस्थिति थियो ।
…………………….
प्रदर्शनमा सयौंको सहभागिता


मेचीनगर । नेपाली काङ्ग्रेसले कम्युनिस्ट सरकार गठन भए यता पहिलोपल्ट मङ्गलवार आयोजना गरेको सरकार विरोधी प्रदर्शनमा जनसहभागिता उल्लेख्य रह्यो ।
विपक्षी दल काङ्ग्रेसले मङ्गलवार देशैभरका जिल्ला सदरमुकाममा प्रदर्शनको आह्वान गरेको थियो ।
झापा सदरमुकाम चन्द्रगढीमा दिउँसो १ बजे प्रदर्शन सुरु हुने भनिए पनि त्यो भन्दा पहिले नै चन्द्रगढी बजार क्षेत्र काङ्ग्रेस समर्थकले भरिभराउ भइसकेको थियो ।
ट्र«ेड युनियन चोकबाट सुरु भएको जुलुसले प्रशासन अड्डा हुँदै लेखनाथ चोक र बजार परिक्रमा गरेको थियो । जुलुसमा हजारौको उपस्थिति भएकाले काङ्ग्रेसका नेता कार्यकर्ता निकै उत्साहित देखिएका थिए ।
जुलुस ठूलो भए पनि निकै संयमित थियो । चारतारे झण्डा बोकेर आएका कार्यकर्ताले विरोधसभा स्थल भरिभराउ थियो ।

भीड जमेको देखेर मञ्चमा आसिन काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला उत्साही भएका थिए ।

प्रवक्ता शर्माले भीडलाई नै औल्याउँदै ‘आजको तस्वीर वालुवाटर पठाउनु पर्ने’ अभिव्यक्ति भाषणबाटै दिएका थिए ।

‘बर्खाको बेला खेतीपाती छाडेर विरोध सभामा यति मानिस आउनु चानचुने कुरा होइन’–काङ्ग्रेस आस्था नभएकाहरुले पनि भन्ने गरेका थिए ।

एक जना आयोजकले यति ठूलो भीड जम्मा होला भनेर नसोचेको बताए । ‘काङ्ग्रेस हराइसके, बत्ती बालेर खोज्नु पर्ने बेला भो’ भन्ने केपी ओलीको अभिव्यक्तिका कारण इखिएर काङ्ग्रेस कार्यकर्ता विरोधमा उत्रिएको सभाल सहभागी काङ्ग्रेस वृत्तमा चर्चा भएको थियो ।
………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: