विर्तामोड । नेपाली काङ्ग्रेसको जिल्ला राजनीतिमा राम्रै प्रभाव जमाएका कतिपय नेता क्षेत्रीय प्रतिनिधिको चुनावमा वडाबाटै पराजित भएका छन् ।
झापामा माघ १६ गते सम्पन्न गाउँ तथा नगर निर्वाचनमा ९ सय ५० जना क्षेत्रीय प्रतिनिधि, गाउँ सभापति, नगर सभापति र नगरको वडा सभापति निर्वाचित भएका छन् ।
यति धेरै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुँदा समेत जिल्लाका दर्जनौँ ठूला नेता पराजित भएका छन् । प्राध्यापक कृष्ण मैनाली पार्टीको भद्रपुर नगर कार्य समितिका कार्यवाहक सभापति थिए । उनी क्षेत्रीय प्रतिनिधिको चुनावमा पराजित भएका छन् ।
पराजित हुनेमा भद्रपुरका पूर्व सभापति रुद्र भूर्तेल पनि छन् । सभापति पदमा उम्मेदवार बनेका उनी पराजित भएका छन् । भद्रपुरकै वार एशोसिएसनका सचिव यज्ञ अधिकारी र चन्द्रगढीका सभापति चन्द्र भट्टराई क्षेत्रीय प्रतिनिधिमा पराजित भए ।
झापामा काङ्ग्रेसलाई हुर्काउन र प्रतिबन्धित अवधिदेखि नै अटुट योगदान पुर्याउँदै आएका खगेश्वर उप्रेती र टिका प्रसाई क्षेत्रीय प्रतिनिधि पदमा वडामै पराजित भए ।
शनिअर्जुनका मदन बुढाथोकी तरुण दलका केन्द्रीय सदस्य हुन् । उनी पनि क्षेत्रीय प्रतिनिधिको चुनावमा हारेका छन् । शनिअर्जुनकै काङ्ग्रेस हस्ती मानिने लिलक सिटौला र गाउँ सभापति मोहन काफ्ले समेत क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित हुन सकेनन् ।
जिल्ला सदस्य भइसकेका छत्रमणि ढकाल, बाहुनडाँगीका सनत अधिकारी, महेशपुरका पूर्व गाविस अध्यक्ष पवनलाल माझी, ३ नं. क्षेत्रीय सचिव खड्ग लिम्वु र जिल्ला सदस्य एवम् उद्योगी जेपी शर्मा समेत वडामा भएको क्षेत्रीय प्रतिनिधिको चुनावमा पराजित भएका छन् ।
झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरु, मेचीनगरका काङ्ग्रेस हस्ती सोम खनाल, बनियानी गाविसका पूर्व अध्यक्ष कुलप्रसाद सङ्ग्रौला, बनियानीकै पूर्व सभापति गणेश दाहाल र गीता खरेल क्षेत्रीय प्रतिनिधिको चुनावमा पराजित भएका छन् ।
झापा उद्योग वाणिज्य सङ्घ शाखा विर्तामोडका अध्यक्ष वलराम कार्की, निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र पोखरेल, नेपाल विद्यार्थी सङ्घका पूर्व झापा सभापति युवराज दाहाल, नेपाल तरुण दलका जिल्ला सचिव अनिल ढुङ्गाना, रिक्सा ठेला सङ्घका केन्द्रीय सचिव रामकुमार राजबंशी र डाँगीवारीका पार्टी सभापति धनपति उप्रेतीले क्षेत्रीय प्रतिनिधिको चुनावमा पराजय व्यहोरेका छन् ।
पार्टीको नगर तथा गाउँ सभापतिको कार्यकारी जिम्मेवारी सम्हालेका कतिपय नेता सभापतिको पद दोहोर्याउन खोज्दा चुनावमा पराजित भएका छन् ।
कनकाई नगरका पार्टी सभापति लीलाबहादुर कटुवाल नगर सभापति पदमा पराजित भएका छन् भने शिवसताक्षीका पूर्व क्षेत्रीय सभापति नारायण बजगाइँ सभापति पदमा फेरि उठ्दा पराजित भएका छन् ।
नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्व जिल्ला सचिव गङ्गा ओडारी विर्तामोडमा क्षेत्रीय प्रतिनिधिको चुनावमा पराजित भएका छन् ।
नेपाल महिला सङ्घका पूर्व जिल्ला सचिव लीला मैनाली र वत्र्तमान सचिव टीकादेवी मैनाली क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । भूपू सैनिक सङ्घ झापाका जिल्ला कमिटी सदस्य खड्ग गुरुङ, चारपानेका सभापति रामलाल उप्रेती र नेपाल किसान सङ्घका जिल्ला अध्यक्ष पशुपति अधिकारी क्षेत्रीय प्रतिनिधिको चुनावमा पराजित भएका छन् ।
शिवसताक्षी निवासी पार्टीका पूर्व जिल्ला सचिव ज्ञानेन्द्र न्यौपाने, पूर्व जिल्ला सदस्य केदारनाथ काफ्ले, पूर्व जिल्ला सदस्य देवी राजबंशी, गौरादहका पूर्व जिल्ला सदस्य पुण्यप्रसाद सिग्देल र ठाकुर समाजका केन्द्रीय सदस्य अनुरुद्र ठाकुर क्षेत्रीय प्रतिनिधि पदमा पराजित भएका छन् ।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याव्सन) झापाका अध्यक्ष मिलनकुमार ढुङ्गाना शिवसताक्षीबाट क्षेत्रीय प्रतिनिधिमा उम्मेदवार बनेका थिए । उनी पराजित भएका छन् ।
नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयका सचिव जयकुमार दाहाल, महिला सङ्घ दमककी सभापति मन्थरा पौडेल र किसान सङ्घका केन्द्रीय सदस्य गोपाल भण्डारी समेत क्षेत्रीय प्रतिनिधिमा पराजित हुन पुगेका छन् ।
नेपाल विद्यार्थी सङ्घका पूर्व जिल्ला सभापति पर्शुराम रिजाल दमक नगर सभापति पदमा पराजित भएका छन् । खजुरगाछी गाउँ सभापति रामेश्वर यादव आफ्नै भतिज बद्रीनारायण यादवबाट सभापति पदमा पराजित भएका छन् ।
गौरादह नगरका सभापति हेमन्त कार्की फेरि सोही पदमा उठ्दा पराजित भए । झापामा गाउँ र नगर चुनावमा १७ हजार ४ सय ५४ व्रिmयाशील सदस्य मतदाता रहेका थिए । चुनावमा विभिन्न पदमा ७ हजार जना उम्मेदवार बनेका थिए भने क्षेत्र र जिल्ला चुनावमा मतदान गर्न पाउने गरी ९ सय ५० जना क्षेत्रीय प्रतिनिधि, नगर सभापति, नगरका वडा सभापति र गाउँका सभापति निर्वाचित भएका छन् ।
चुनावबाट नगर, गाउँ र वडाको कार्य समितिको १ हजार ४ सय विभिन्न पदमा निर्वाचित भएका छन् ।
१ सय १७ मतदान केन्द्रमा भएको चुनावमा ६ सयभन्दा बढी सङ्ख्यामा शिक्षक, वकिल र पत्रकारहरू निर्वाचन कर्मचारीको रुपमा परिचालित भएका थिए ।