दर्जी परिवारमा शोकसँगै विपत

  प्रकाशित मिति
१४ फाल्गुन २०७४, सोमबार १३:०६


इटाभट्टा । मेचीनगर–५ मन्छिगाउँको दर्जी परिवार आइतवार अभिभावक गुमाएको गहिरो पीडामा थियो । उनीहरुकी ५४ वर्षीया आमा कालीमाया दर्जीको निधनले विव्हल परिवारले उनको अन्त्येष्टि गरिनसक्दै घरसमेत गुमाउनु परेको छ । उता खोलामा आमा कालीमायालाई छोराहरुले दागबत्ती दिँदै गर्दा यता दर्जी परिवारको घर आगोले तीब्र गतिमा निल्दै थियो । आमाको सदगद गर्न निन्दा नदीमा पुगेर फर्किएका यी दलित परिवारको बस्ने बासस्थान पनि मेटिएको छ ।

हो मेचीनगर–५ मन्छिगाउँका गरिब दर्जी परिवारले यस्तै नियति भोग्नु पर्यो । सुन्दा नाटक जस्तो लाग्ने आइतवारको घटना ह्दयविदारक थियो । ‘कस्तो सोच्नै नसक्ने विग्न पर्यो यो परिवारमा’ मेचीनगर–५ का वडा अध्यक्ष योगेन थापा भन्छन्–‘कुनै कुनै घटनाले मन बुझाउने ठाउँ पनि नदिँदो रहेछ । यो परिवारले यस्तै पीडा भोग्न पुग्यो ।’

यतिबेला उनीहरु आमाको निधनले शोकमा डुबेका छन् । अर्काेतिर भएको घर पनि आगलागीमा ध्वस्त भएपछि थप विपत आइलागेको छ । सम्झँदै काहाली लाग्दो यो घटनाले सिंगो गाउँ नै स्तब्ध बनेका छन् । आइतवार बिहान ९ बजे आमा कालीमायाको निधन भएको थियो । पछि ११ बजे स्थानीय निन्दीमा दाहसंस्कारको लागि लगियो । गाउँका सबै मानिस मलामी गए । घरमा एक महिनाकी सुत्केरी बुहारी ८ महिना र ८ वर्षका दुई जना बच्चा घरभित्रै थिए । स्थानीय सन्तबहादुर तामाङ र भक्त सिवा कोरो ढिकुरो बनाउनका लागि भन्दै घरमा आए । उनीहरु घर आइपुग्दा घरको धुरीबाट आगोको मुस्लो गइरहेको थियो । उनीहरुले हारगुहार गर्न थालेपछि बच्चासहित सुत्केरी महिला पनि भागेर बचिन् ।


गाउँमा कोही पनि अन्य माछे नभएपछि आगो नियन्त्रण गर्ने केही उपाए थिएन् । मेचीनगर नगरपालिकाको दमकल पनि अन्तिम समयमा मात्र आइपुगेको थियो । घरको विद्युत सर्ट भएर आगलागी भएकोे स्थानीय युवा उपेन मगरले बताए । उनका अनुसार आगलागीबाट आमाको उपचारका लागि जोहो गरेको ७० हजार, छोरीहरुको मोवायल, सुन, चाँदी, खाद्यान्न, लत्ताकपडा, स्कुले नानीहरुको कपि कितावलगायतका सबै सामाग्रीहरु जलेर नष्ट भएको भएको छ ।

घर जलेपछि यतिबेला दर्जी परिवार बाख्राको खोरलाई सरसफाइ गरेर बसेका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएको दर्जी परिवारका लागि स्थानीयबासीले केही रकम संकलन गरेर सहयोग गरेको अर्का युवा लक्ष्मण मगरले बताए ।

वडा अध्यक्ष योगेन मगरले यो घटनामा परेको परिवारलाई थप सहयोग गरी राहत प्रदान गरिदिन सबैमा आग्रह गरेका छन् ।
मृतक कालीमायाका २ छोरा केदार दर्जी र अमिर दर्जी, छोरीहरु सम्झना दर्जी, कल्पना दर्जी, झल्कना दर्जी र धनु दर्जी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: