विर्तामोड । जातीय विभेद विरुद्ध जनचेतना जगाउने विषयवस्तुमा आधारित नेपाली मौलिक सिनेमा ‘बाटोमुनिको फुल–२’लाई झापाली दर्शकले अधिक रुचाएका छन् ।
‘मैले छोएको पानी चल्दैन’ जस्ता मर्मस्पर्शी गीतका गायक यशकुमारले निर्माण तथा अभिनय गरेको ‘बाटोमुनिको फुल–२’ हाल झापाको दमक, विर्तामोड र धुलावारीको हलमा प्रदर्शन भइरहेको छ ।
उनको सिनेमालाई सर्वसाधारणदेखि राजनीतिक दलका अग्रणी नेताहरूसम्मले प्रशंसा गरेका छन् ।
‘यशकुमारजीलाई धेरै धेरै धन्यवाद’, आइतवार विर्र्तामोडको कृष्ण चलचित्र मन्दिरमा दीवा शोमा ‘बाटोमुनिको फुल–२’ हेरेका नेपाली काङ्ग्रेस झापाका अध्यक्ष उद्धव थापाले लोकतन्त्र पोस्टसँग भने–‘समाज परिवर्तनका लागि यस चलचित्रले चेतना जगाउने असाध्य राम्रो कार्य गरेको छ ।’
थापासँगै सिनेमा हेरेर हलबाट बाहिरिदै गर्दा नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले समेत ‘बाटोमुनिको फुल–२’ एकपल्ट सबैले हेर्नै सिनेमा भएको प्रतिव्रिmया दिए ।
‘नेपाली समाजमा रहेको जातीय भेदभावको कुप्रथालाई यशकुमारजीले चलचित्रमार्फत राम्ररी चिरफार गर्नु भएको रहेछ’–एमाले अध्यक्ष पाठकले भने ।
नेपाल रेडव्रmस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले समेत ‘बाटोमुनिको फुल–२’ चेतनामूलक सिनेमा भएको उल्लेख गर्दै समाजबाट कुरीति र कुप्रथाको अन्त्य गर्न यस्ता सिनेमाले ठूलो योगदान पुर्याउने धारणा राखेका छन् ।
‘बाटोमुनिको फुल–२’ हेरेका काँकरभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम अधिकारीले सिनेमाको सबै पक्ष राम्रो लागेको बताए ।
‘आजको नयाँ पुस्तामा जातीय छुवाछुत निकै हटिसकेको छ’, डीएसपी अधिकारी भन्छन्–‘तर हाम्रो समाजमा यसले जुन उत्पीडन थोपरेको थियो, त्यसलाई छर्लङ्ग पार्न चलचित्र सफल छ ।’
‘बाटोमुनिको फुल–२’का नायक यशकुमारले आइतवार विर्तामोडको कृष्ण हलमा दर्शकसँगै बसेर सिनेमा हेरेका थिए । दीवा शो सकिएर बाहिरिनासाथ उनलाई फ्यानले घेरेको देखिन्थ्यो । उनीसँग सेल्फी खिच्न चाहने र राम्रो सिनेमा बनाएको भन्दै बधाइ दिनेको घुइँचो थाम्न उनलाई हम्मे हम्मे परेको थियो ।
हलका सञ्चालक बालकृष्ण पोखरेलले ‘बाटोमुनिको फुल–२’लाई दर्शकले अत्यधिक रुचाएको बताएका छन् ।
…………………………………………………………….
यशकुमारजीलाई धेरै धेरै धन्यवाद ।
–उद्धव थापा
एकपल्ट सबैले हेर्नै पर्ने सिनेमा रहेछ ।
–चिन्तन पाठक
कुप्रथा हटाउन योगदान पुग्नेछ ।
–लोकराज ढकाल
उत्पीडन छर्लङ्ग पार्न चलचित्र सफल ।
–श्याम अधिकारी