डाँगी र नेपालको उम्मेद्वारी

  प्रकाशित मिति
९ पुष २०७४, आईतवार १३:२६


धुलावारी । पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको मेचीनगरको खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूहमा नयाँ नेतृत्व चयन गर्न आगामी पुस १५ गते निर्वाचन हुँदैछ ।

सर्वसम्मत रुपमा नयाँ समिति चयन गर्ने भनिए पनि अहिलेसम्म सहमति जुट्न नसक्दा उपभोक्ताहरु चुनावी प्रतिस्पर्धामा अलग–अलग समूह बनाएर उत्रिसकेका छन् ।

राजनीतिक दलहरुले आफू निकट उपभोक्तालाई जिताउन ठूलै कसरत गरिरहेका छन् । शनिवार समूहको कार्यालयमा भएको उम्मेद्वारी दर्ता कार्यव्रmममा पनि राजनीतिक दलका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । दलबलका साथ विभिन्न पदमा उपभोक्ताहरुले उम्मेद्वारी दर्ता गराएका छन् ।
आगामी तीन वर्षे कार्यकालका लागि हुन लागेको निर्वाचनमा नेपाली काङ्ग्रेस निकट उपभोक्ता र बाम गठबन्धन समर्थित उपभोक्ता बीच चुनावी भिडन्त हुने निश्चित भएको छ ।

शनिवार भएको उम्मेद्वारी दर्तामा काङ्ग्रेस निकट समूहबाट टङ्कबहादुर नेपालको नेतृत्वमा उम्मेद्वारी प्रस्तुत गरिएको छ भने बाम गठबन्धनबाट दुर्गा डाँगीको नेतृत्वमा प्यानल नै चुनावी मैदानमा उत्रिएको छ । नेपाल वनका वर्तमान अध्यक्ष हुन् भने डाँगी सचिव छिन् ।

काङ्ग्रेसबाट उपाध्यक्ष पदमा खोमनाथ खनाल, सचिवमा सीता पोखरेल, सहसचिवमा गणेशबहादुर कार्की र कोषाध्यक्षमा लीला गौतमले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै, बाम गठबन्धनको तर्फबाट उपाध्यक्ष पदमा गणेश भट्टराई, सचिवमा इन्दिरा नेपाल, सहसचिवमा पुरनपाल राई र कोषाध्यक्षमा भद्रिका दाहालको उम्मेद्वारी परेको छ ।

पाँचवटा टोल रहेको सो वनमा कार्य समिति सदस्य मध्ये दुई वटा टोलबाट सदस्य सर्वसम्मत निर्वाचित भइसकेको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद बञ्जाराले जानकारी दिए ।

सर्वसम्मत हुनेमा १ नम्बर टोलबाट सुशीला विष्ट र ३ नम्बर टोलबाट चित्रकुमार थापा छन् । बाँकी तीन सदस्यका लागि ६ जना चुनावी मैदानमा छन् । जसमा दुई नम्बरमा मनबहादुर दर्जी र कमला राई, चार नम्बरमा यशोदा खरेल र जुना राई तथा पाँच नम्बरमा यशोदा श्रेष्ठ र सुजता बरालले उम्मेद्वारी दर्ता गराएका छन् ।

निर्वाचन समितिका अनुसार आइतवार उम्मेद्वारको नामावली प्रकाशन र सोमवार उम्मेद्वारी फिर्ताको समय तोकिएको छ । ३ सय ३० जना उपभोक्ताले मतदान गर्न पाउने सो वनमा सर्वसम्मत नेतृत्व चयनका लागि राजनीतिक दलहरुले प्रयास भने जारी राखेको बताइएको छ । यद्यपि सहमतिको प्रयास भने कम हुँदै गएको एक उपभोक्ताले दाबी गरे ।
…………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: