दलहरुले आफै हटाए झण्डा र व्यानर

  प्रकाशित मिति
१३ असार २०७४, मंगलवार १४:२६


मेचीनगर । चुनावी आचारसंहितामा व्यवस्था भए बमोजिम मौन अवधिको पालना गर्दै मेचीनगरका प्रमुख दलहरुले सार्वजनिक स्थलबाट प्रचार सामग्री आफै हटाएका छन् ।

नगरका मुख्य बजार काँकरभिट्टा, इटाभट्टा र धुलावारी क्षेत्रमा सोमवार दिउँसो स्थलगत अनुगमन गर्दा सडकका दुबै किनार दलका प्रचार सामग्रीमुक्त पाइए ।

राजमार्गका चोक, रेलिङ र रुखहरुमा राखिएका व्यानर, झण्डा र पोस्टर हटाउन दलहरुले आफ्ना कार्यकर्तालाई परिचालन गरेका छन् ।

निर्वाचन आचारंहिता अनुसार राजमार्ग लगायतका स्थानमा झण्डा राख्न, पोस्टर टास्न र भित्तेलेखन गर्न पाइँदैन । निजी घरमा भने अनुमति लिएर मात्र पाइन्छ । तर दलहरुले मौन अवधिमा आएर बल्ल आचारसंहिता पालना गरेका छन् ।

आचारसंहिताका अनुसार मौन अवधिमा झण्डा, निर्वाचन चिह्न वा प्रचार प्रसार हुने कुनै सामग्री प्रयोग वा प्रदर्शन गर्न वा गराउन हुँदैन ।
‘मेचीनगरका कुनै पनि चोक र राजमार्गमा अब काङ्ग्रेसको झण्डा र रुख चिह्न अङ्कित व्यानरहरु अब देख्न पाउनु हुने छैन’, सोमवार कार्यकर्ता परिचालन गरेर प्रचार सामग्री हटाइएपछि लोकतन्त्र पोस्टसँग कुराकानी गर्दै नेपाली काङ्ग्रेस मेचीनगरका प्रचार प्रमुख पुष्पराज पौडेलले भने–‘अरु पार्टीहरुले पनि यसरी नै आचारसंहिताको पालना गरुन् भन्ने चाहन्छौँ ।’

काङ्ग्रेसले तरुण दलका कार्यकर्तालाई काँकरभिट्टादेखि धाइजनसम्म राजमार्ग र मुख्य चोकका प्रचार सामग्री हटाउन सोमवार निर्देशन दिएको थियो ।

काङ्ग्रेसका प्रचार प्रमुख पौडेलले मतदानसम्मै कुनै पनि कार्यकर्ताले प्रचार सामग्री अङ्कित टीसर्ट र टोपी नलगाउने बताए । यसैगरी, नेकपा एमाले र माओबादी केन्द्रले समेत सार्वजनिक स्थलबाट प्रचार सामग्री हटाएका छन् ।

एमालेका मेचीनगर अध्यक्ष एवम् वडा नं. ६ का वडाध्यक्ष पदका उम्मेद्वार राजु पोखरेलले आचारसंहिता पालनमा आफ्नो पार्टी सचेत रहेको बताउँदै नगरका चोक र राजमार्ग क्षेत्रमा यसु अघि राखिएका सबै प्रचार सामग्री आफैले हटाएको जानकारी दिए ।

उनले भने–‘निर्वाचनलाई मर्यादित बनाउनका लागि पार्टीले आचारसंहिता पूर्ण रुपमा पालना गर्नेछ ।’ एमालेले पनि कार्यकर्ता परिचालन गरेर सिटी सफारीदेखि सार्वजनिक स्थलमा राखिएका सम्पूर्ण प्रचार सामग्री हटाएको छ ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रको मेचीनगर प्रचार विभागका संयोजक राजु दाहालले मौन अवधि सुरु हुन अगावै पार्टीले सार्वजनिक स्थलका सम्पूर्ण प्रचार सामग्री हटाइसकेको बताए ।

उनले मेचीनगर मात्र नभएर जिल्लामै चोक बजारमा राखिएका पोस्टर व्यानरलगायतका प्रचार सामग्री हटाउनेमा माओवादी केन्द्र पहिलो भएको दाबी गरे ।

दलहरुले नगरको चारआली र प्यारीभिट्टामा भने राजमार्गमै रहेका प्रचार सामग्री हटाएको पाइएन । सामाजिक सञ्जालमा समेत दलका प्रचार ह्वात्तै घटेको छ । पुराना सामग्री बाहेक फेसबुकमा नयाँ पोस्ट देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: