मेचीनगर, २१ जेठ । पश्चिम रुकुममा भएको हत्याको घटना छानविन गरी कारवाही गर्न झापाका राजनीतिक दलहरुले आह्वान गरेका छन् ।
बुधवार विर्तामोडमा आयोजना गरिएको श्रद्धाञ्जलि एवम् खवरदारी सभामा झापाका प्रमुख राजनीतिक दलले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै यो आन्दोलनलाई साझा रुपमा अघि बढाउने बताए ।
सत्तारुढ नेकपा, नेपाली कांग्रेस र राप्रपाका नेताले रुकुम घटना विरुद्धको आन्दोलनमा साथ दिने बताउँदै आन्दोलन नरोक्न सुझाव दिए ।
दलका नेताहरुले नवराज विक सहित हत्या गरिएका ६ जनाले न्याय नपाएसम्म आन्दोलन रोक्न नहुने धारणा व्यक्त गरे ।
संयुक्त दलित राजनीतिक संघर्ष समितिले ‘जातीय विभेद तथा छुवाछूत विरुद्धको राष्ट्रिय दिवस’ को अवसरमा आयोजना गरेको श्रद्धाञ्जलि एवम् खवरदारी सभामा बोल्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जातीय विभेद्को असर सबै जातिलाई पर्ने बताएका छन् ।
उनले दलित समुदायमाथि विभेद् र हत्या हुँदा सामाजिक अभियन्ताहरु चुपचाप रहेको आरोप लगाए । प्रमुख पोर्तेलले तत्काल दोषीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।
नेकपा झापाका सचिव विजय साम्पाङले सामाजिक रुपमा रहेको जातीय विभेद् नेपाली समाजकै ठुलो समस्या रहेको बताए । उनले दलित जातिमाथि भइरहेको विभेद विरुद्ध नेकपा सधैं खवरदारी गर्दै आएको जानकारी दिए ।
यस्तै नेपाली कांग्रेस झापामा जिल्ला सदस्य जलकुमार गुरुङले रुकुम घटनाले जातीय विभेद् हाम्रो समाजको सबैभन्दा ठुलो अपराध रहेको उजागरगरेको बताउँदै त्यसका विरुद्ध सबै प्रकारका आन्दोलनमा आफुहरुको ऐक्यवद्धता रहने बताए ।
राप्रपाका झापा सचिव केशव ओझाले विभेद् विरुद्धको आन्दोलन निरन्तर चलिरहनु पर्ने बताएका छन् । उनले यस प्रकारका संघर्षका कार्यक्रम एक दिन मात्र गरेर माग पुरा नहुने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै उत्पीडित विद्यर्थी संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले न्याय नपाएसम्म आन्दोलन सेलाउन नदिने चेतावनी दिए ।
संयुक्त दलित राजनीतिक संघर्ष समितिका संयोजक हुकुम नेपालीले जेठ २१ छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिनमा दलित समुदायले खुशीयाली मनाउन नपाएको बताए । खुशी मनाउने दिनमा पनि अझै विभेद् विरुद्ध आन्दोलन गर्नुपरेको बताउँदै उनले राजनीतिक दलले सामुहिक खवरदारी गरेमा विभेद अन्त्य गर्न सकिने बताएका छन् ।
सो कार्यक्रममा दलित नेता हस्त परियार, मानवअधिकारकर्मी डा.रुपक खनाल लगायतले सम्बोधन गरेका थिए ।