‘दलालको शैली फेरिएको छ’

  प्रकाशित मिति
२६ मंसिर २०७३, आईतवार ०९:००


govinda-ghimire

१६ दिनमै हिंसा निमिट्यान्न हुँदैन ।

उद्धार भन्दा पुनस्र्थापना गाह्रो हुँदोरहेछ ।

फेसबुकले पनि सम्बन्ध बिगार्दैछ ।

प्रहरीबाट ठूलो सद्भाव पाएका छौँ ।

 

मानव बेचविखनविरुद्ध अभियान सञ्चालन गरिरहेको माइती नेपाल ख्यातिप्राप्त संस्था हो । काँकरभिट्टामा यस संस्थाको पूर्वाञ्चल क्षेत्रीय कार्यालय छ । कार्यालयको क्षेत्रीय प्रमुखको जिम्मेवारी गोविन्द घिमिरेले वहन गरिरहेका छन् । महिला हिंसाविरुद्ध १६ दिने अभियानकै सन्दर्भ पारेर मानव वेचविखन नियन्त्रण र महिला हिंसा न्यूनीकरणको विषयमा उनीसँग लोकतन्त्र पोस्टले लिएको अन्तरवार्ता प्रस्तुत छ–

महिला हिंसाविरुद्ध १६ दिने अभियान कस्तो रह्यो ?
आजको समानता र मानवताको युगमा हिंसा कुनै वहानामा पनि स्वीकार्य हुन सक्दैन । हत्या, बलात्कार, आतमहत्या, बेचविखन, कुटपिट, मानसिक दवाव, बहुविवाह, दाइजो लगायतका घटनाका शिकार महिला भइरहेका छन् । गरीवी, अशिक्षा, लैङ्गिक विभेद, कुसंस्कार र दण्डहिनताका कारण हाम्रो मुलुकमा महिलामाथि चर्को हिंसा हुने गरेको छ । १६ दिने अभियानले हिंसामा परेका महिला, सामाजिक अभियन्ता, सरोकारवाला र राज्यलाई एकै ठाउँमा उभिएर हिंसारहित समाज निर्माणका लागि हातेमालो गर्ने गजवको अवसर प्रदान गरेको छ । हामी पनि यस अवधिमा विभिन्न कार्यक्रममा व्यस्त रह्यौँ । तर हामी सबैले के भुल्नु हुँदैन भने मात्र १६ दिनको अभियानले हिंसा सम्पूर्ण रुपमा रोकिने होइन । निरन्तर खवरदारी र सक्रियताको खाँचो हुन्छ ।

लामो अभियानका बाबजुत मानव वेचविखन रोकिन सकेको छैन, किन होला ?
माइती नेपाल मानव वेचविखन रोक्ने अभियानमा लागेको अग्रणी संस्था हो । दलालहरूले सीधा नाकाबाट छक्याएर नेपाली चेलीहरूलाई विदेशका नारकीय कोठी पुर्याउने प्रवृत्ति केही वर्ष अघिसम्म थियो । अहिले मानव वेचविखनमा संलग्न दलालहरूले तरीका बदलेका छन् । खाडी मुलुकमा राम्रो रोजगारीको अवसर दिलाइदिने, उतै घरजम गरेर बस्ने जस्ता प्रलोभनमा पारेर नेपाली चेलीहरूलाई लैजाने गर्छन् । हामी अभियन्ताहरूले के स्वीकार्नै पर्छ भने अहिले पनि मानव वेचविखन ठप्प हुन सकेको छैन । तर सबैले के पनि स्वीकार्नु पर्छ भने हाम्रै कारणले पहिलेको तुलनामा यस्तो अपराधिक कार्य न्यूनीकरण हुन सकेको छ । वर्षेनी हजारौँको सङ्ख्यामा उद्धार कार्य भएको छ । हामीले सचेत बनाएकै कारण हजारौँ छोरी वुहारी वेचिनबाट जोगिएका छन् । समस्याको जड गरीवी, अशिक्षा र दण्डहिनता हो ।

मानव वेचविखनमा संलग्न दलाललाई कसरी चिन्ने सर्वसाधारण महिलाहरूले ?
सर्वसाधारण महिलाले मात्र होइन, घरका अभिभावक तथा पुरुषहरूले पनि दलाल चिन्न जरुरी हुन्छ । यदि घरमा कोही अपरिचित महिला या पुरुष बारम्वार आएर घरका मूलीसँग भेटघाट नगरी घरका छोरी र वुहारीहरूसँग मात्र खसाक्खुसुक कुराकानी गरिरहन्छ भने सतर्क हुनु पर्ने हुन्छ । त्यस्तो शङ्कास्पद गतिविधि गर्ने व्यक्ति मानव वेचविखनको दलाल हुन सक्छ । उसले छोरी र वुहारीलाई अनेक तरहले फकाइरहेको हुन सक्छ । दलालहरूले छोरी र वुहारीहरूलाई भेटेर ‘पढेर मात्र के हुन्छ, घरमै बसेर के हुन्छ, हिँड विदेश जाउँ, यहाँ केही काम हुँदैन, उता गइयो भने धेरै पैसा कमाउन सकिन्छ’ भनेर फकाइरहेका हुन्छन् । दलालले फकाउने क्रममा आमावुवा, दाजुभाउजु, पति, माइती कसैलाई पनि नभन्नु भनेर मोहनीजाल फिजाइरहेका हुन्छन् । धेरैेले विहे गर्ने, विहे गराइदिने र जागिर लगाइदिने भनेर लोभ्याउँछन् । विदेश जान भनेर इण्डियाको बाटो लानेहरूप्रति पुरै शङ्का गर्नु पर्ने हुन्छ ।

हिंसाको शिकार भइसकेका महिलालाई समाजमा पुनस्र्थापना गर्न निकै गाह्रो भइरहेको छ भनिन्छ, तपाईलाई कस्तो लाग्छ ?
महिला भन्ने वित्तिकै दोस्रो दर्जाको नागरिक ठान्ने अनि उनीहरूमाथि हुने हिंसा सामान्य एवम् स्वाभाविक ठान्ने गलत संस्कार हुर्किएको छ । त्यसलाई चिरेर अघि बढ्दैछ हाम्रो नयाँ पुस्ता । बलात्कारमा परेकी होस् वा वेचविखनमा परेर उद्धार गरेर ल्याइएकी कुनै पनि चेलीमाथि झन् हिंसामा पार्ने र हतोत्साही तुल्याउने सोचका मानिस धेरै छन् । हाम्रै कर्मचारी वहिनीहरूलाई कतिपयले ‘तपाइँहरू पनि बेचिएर आउनु भएको त होला नि’ भनेर हेलापूर्ण व्यवहार गर्नेहरू भेटिएका छन् । हाम्रा कर्म चारी वेचिएर उद्धार गरेर ल्याइएकाहरू होइनन् । बलात्कार, वेचविखन जस्ता हिंसाको शिकार भएकाहरूले आफ्नो गाउँ र समाजमा स्वाभिमानीपूर्वक बस्न पाएका छैनन् । उनीहरू बाध्यतावश पलायन हुने र फेरि अर्को जोखिमपूर्ण काममा फर्किन वातावरण हाम्रै समाजको गलत व्यवहारले निर्माण गरिरहेको हुन्छ । यस्तो परिस्थितिमा पुनस्र्थापन कार्य चुनौतिपूर्ण हुन्छ नै । रोजगारीको ग्यारेन्टी गर्न सकियो र सामाजिक दृष्टिकोण बदल्न सकियो भने मात्र पुनस्र्थापना कार्य सहज र प्रभावकारी हुन्छ ।

महिला हिंसा बढ्नुको कारण के होला जस्तो लाग्छ ?
हाम्रो देशमा मात्र होइन, भारत, बङ्गलादेश, श्रीलङ्का जस्ता गरीवी ज्यादा भएको मुलुकमा रोजगारीका अवसर अति कम छन् । शिक्षा र चेतना बढ्न सकेको छैन । महिलालाई हेर्ने पुरातनबादी दृष्टिकोण पनि यसका लागि जिम्मेवार छ । महिला भनेका तलव दिनु नपर्ने घरेलु कामदार र भोगविलासका साधन हुन् भन्ने विभेदपूर्ण सोच पनि हिंसा बढाउने कारण हो । समाजलाई कुसंस्कार र विभेदको जालोले छोपेको छ । यिनै समस्याको सही समाधान खोज्ने हो भने विभेद र कुसंस्कार घट्छ, रोजगारी बढ्छ, अनि विस्तारै समाजमा समानता र समृद्धि बढिहाल्छ । हाम्रामा लोग्ने मानिसहरू जाँड रक्सी र तास जुवाको कुलतमा फँसिरहेका छन् । गृहिणी र छोरीवुहारीहरू हिन्दी टेलिसिरियल र फेसबुकको लतमा फँसेका छन् । विकृतिलाई बढावा दिने जुनसुकै गतिविधि नियन्त्रण हुँदै जाँदा महिलामाथिको हिंसा पनि स्वतः घटेर जाने छ ।

सामाजिक सञ्जालले पनि हिंसा बढाउँछ भन्नु भएको हो ?
सामाजिक सञ्जाललाई कसरी उपयोग गरिएको हुन्छ, त्यसमै निर्भर गर्छ यो विषय । फेसबुकले आज संसारलाई जोडिरहेको छ भनिन्छ । तर हाम्रो मुलुकमा त्यसको सदुपयोग भन्दा ज्यादा दुरुपयोग र विकृत प्रयोग भइरहेको पनि छ नि । फेसबुककै कारण पति र पत्नीविच झगडा चलेको छ कतिपय ठाउँमा । फेसबुककै कारण परिवार र सम्बन्धमा विग्रह आएका घटना बढ्न थालेका छन् । फेसबुक जस्ता सामाजिक सञ्जाललाई हामीले सद्भाव, मित्रता, आपसी हित बढाउने गरी प्रयोग गर्न सक्दा यसबाट ठूलो लाभ लिन सकिन्छ । अभिभावकहरू फेसबुकले केटाकेटी विग्रिए भन्ने चिन्तामा छन् । स्कुल कलेजमा फेसबुक प्रतिबन्ध लगाउन थालिएको छ । मैले यसो भनिरहँदा फेसबुक वा सामाजिक सञ्जालको विरोध गरिरहेको होइन, मात्र मेरो आग्रह के हो भने त्यसको दुरुपयोग नगरौँ । विकृत प्रयोग गर्दा हिंसा र अनेकखाले समस्या निम्तिएका छन् । सामाजिक सभ्यता र सुसंस्कार भत्किन दिनु हुँदैन ।

लैङ्गिक हिंसा भन्नासाथ महिलामाथि भएको हिंसा मात्र बुझिन थालेको छ । पुरुष चाहिँ हिंसाको शिकार हुँदैनन् र ?
यो महत्वपूर्ण प्रश्न हो । पुरुष पनि हिंसामा परेका होलान् भन्दैमा आम महिलाले भोग्नु परिरहेको हिंसालाई नजरअन्दाज गर्न मिल्दैन । महिलाको तुलनामा पुरुष अति कम हिंसामा परेका छन् । पछिल्लो समयमा नेपाली पुरुषहरू विहे गर्ने वित्तिकै वैदेशिक रोजगारीमा फर्किहाल्ने प्रवृत्ति बढेको छ । यसले केही विकृति अवश्य निम्त्याएको देखिन्छ । विदेशबाट फर्किएका पतिहरूले कमाएर पठाएको आर्जन मात्र नभएर पत्नी नै नभेटाएका घटना पनि छन् ।

महिलामाथि भइरहेका हिंसा रोक्न के गर्नु पर्ला ?
महिला आफै पनि सचेत हुन जरुरी छ । आफु वेचिन र हिंसाको जोखिममा पर्न लागेको समेत थाहा नपाएर धेरैले कस्ट भोग्नु परेको छ । तडकभडक र देखासिकीमा लाग्नु हुँदैन । कसैले प्रलोभन दिइरहेको छ भने आफ्ना अभिभावकहरूलाई धक नमानी सुनाउनु पर्छ । ठूलो समस्या भनेको वेरोजगारी रहेछ । काम र मामका लागिमा मानिस प्रलोभनमा पर्न बाध्य हुन्छ । राज्यले रोजगारीका अवसर सिर्जना गर्ने हो भने कोही पनि विदेश जानु पर्ने थिएन । शोषित हुने एउटा अवस्थाकै अन्त्य हुने थियो । अर्को समस्या दण्डहिनता पनि हो । चेलीवेटी वेचविखनमा संलग्न व्यक्तिमाथि कडा कार्वाही हुन सकेको छैन । हत्या, बलात्कार जस्ता जघन्य अपराधीमाथि यस्तो कडा दण्ड हुनु पर्यो कि उसले कारागारको सजायबाट फुत्किएर आउने सम्भावनै रहन दिनु हुन्न ।

सीमामा बसेर मानव वेचविखन रोक्न भन्दै थुप्रै संस्था सक्रिय छन् । आपसी समन्वय कस्तो छ ?
मानव वेचविखन रोक्ने कार्य ज्यादै सम्वेदशील र महत्वपूर्ण सामाजिक कार्य हो । यसमा माइती नेपाल अग्रणी मोर्चामा रहेको सर्वविदितै छ । तथापि अहिले यही कामका लागि भन्दै थुप्रै आएका छन् । व्यापार चलाए जस्तो होला कि भन्ने डर छ । सबै संस्था काँकरभिट्टामै थुप्रिनु पर्छ भन्ने छैन । कोही बाुहुनडाँगीतिर, कोही भद्रपुरतिर जाँदा राम्रो हुने हो । हामीले सबैलाई समन्वय गरेर लैजाने कोशिस गरिरहेका छौँ ।

माइती नेपालले मानव वेचविखन रोकथाम र महिला हिंसा न्यूनीकरणका लागि गर्दै आएको काममा प्रहरी प्रशासन र राजनीतिक दलहरूबाट कतिको सहयोग वा अनुचित दवाव मिल्ने गरेको छ ?
राजनीतिक दलहरू असहयोगी हुनुहुन्न । प्रहरी प्रशासनबाट हामीले प्रशस्त सहयोग र सद्भाव पाएका छौँ । कतिपय मुद्दामा हामीविच संयुक्त अनुसन्धान र सहकार्य हुने गर्छ । अपराधिक गतिविधि रोक्न प्रहरीले सघाउ पुर्याउँछ भने सचेतना फैल्याउन शिक्षक वुद्धिजीवी, पत्रकार, विद्यार्थी, अन्य सामाजिक संस्थाहरूबाट हामीले सहयोग पाइरहेका छौँ । जहाँसम्म अनुचित दवावको कुरा छ, हामी अपराधीमाथि यति कठोर हुन्छौँ कि कसैको दवाव नै काम लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: