दल, अन्तरघात र लोकतन्त्र

  प्रकाशित मिति
२३ श्रावण २०७४, सोमबार १०:४७


kumar bhattarai

देशमा प्रजातन्त्र आएको उत्सव दुईपटक र लोकतन्त्र आएको उत्सव एकपटक धुमधामका साथ मनाइसकेका छन् नेपाली जनताले । यो हुँदाहुँदै पनि दुईपटक प्रजातन्त्र संस्थागत हुन नपाई बाटबाटैबाट हराएर गयो भने लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा आज हामी रस्साकस्सीसँग लागेका छौँ । पन्ध्र वर्षदेखि जनप्रतिनिधिविहीन गाउँ–नगरले थुप्रैपटक चुनाव गरेर जनप्रतिनिधिहरु पाउने क्रम जारी छ । समग्रमा तीन चरणमा चुनाव हुने जस्तो देखिए पनि भरतपुरको रोकिएको चुनावलाई अब कुन चरणको भन्ने नै द्विविधा जस्तो लाग्छ मलाई । तेस्रो चरणको भनिएको चुनाव अब कति पटकमा सकिने हो, त्यसको अत्तोपत्तो छैन ।

जनतालाई सङ्गठित गर्न कुनै न कुनै संस्था चाहिएको हुन्छ जहिल्यै । दल नभएका युगहरुमा पनि बलियोको नेतृत्वमा आधिपत्य स्वीकार गर्न नसक्नेहरु सङ्गठित हुँदै आएकै हुन् । यो प्राकृतिक नियम पनि होला । त्यसैले पशुपन्छी पनि एउटालाई झुण्डको मुखिया मानेर हिँडेकै छन् । त्यसरी हिँड्नु दुई कारण हुन्छन्, पहिलो–सुरक्षा, दोस्रो–सहभागिता र उपभोगको अवसर । मान्छेहरु सुरुका दिनहरु मान्छे बाहेककाहरुसँग जोगिन सङ्गठित हुँदै गए । विस्तारै विस्तारै मान्छे, मान्छेकै विरुद्ध क्रियाशील हुन थालेपछि अझ बढी सङ्गठित हुँदै जान थाले । जसले विस्तारै राज्यहरु जन्माउँदै ल्यायो ।
राज्यभित्रका साझा एजेण्डाहरु माझ पनि विकासका सम्भावनाहरुको द्रूतगतिका लागि शासकहरु शक्तिशाली हुँदै आए । आफ्नै नागरिकहरुमा आधिपत्य जमाएकाहरुबाट आफ्नो स्वतन्त्रता खोज्न शासकका विरुद्ध नागरिक सङ्गठित हुने क्रममा दलहरु गठन हुने प्रक्रिया बन्यो । सुरुवाती अवस्थामा दलहरुको गठन शासकका विरुद्ध नै गठन हुने हो । जब दलहरुको आफ्नो विद्रोह सफल हुन्छ, नागरिक सर्वोच्चता प्राप्त पछि तिनै दलहरुको आफ्नो सामूहिक एजेण्डाहरु टेकेर नयाँ शासन पद्धतिको थालनी हुन्छ । जसलाई विशेष गरेर अहिलेको अवस्थामा प्रजातन्त्र वा लोकतन्त्र भन्ने गरिएको छ ।
यसलाई लोकतन्त्र वा प्रजातन्त्र भन्नुका पछिको मुख्य दर्शन भनेको कुनै दलमा आवद्ध एउटा आम नागरिक दलीय कुशलताका आधारमा जनताबाटै अनुमोदित भएर निश्चित अवधिका लागि शासक बन्छ र आम नागरिकको मनोभावना बमोजिम आमनागरिकको पक्षमा संरक्षण, प्रवर्धन र सबै किसिमको विकास गर्छ । त्यति मात्रैले लोकतन्त्रको व्याख्या पूरा हुँदैन । लोकतन्त्र भन्नु भनेको प्रत्येक नागरिकले अरु कसैलाई शारीरिक र मानसिकसहित कुनै पनि किसिमको हानीनोक्सानी नहुने गरी सामाजिक र कानुनी मूल्यमान्यता अनुरुप हरेक किसिमको स्वतन्त्रता प्राप्त गर्नु पनि हो ।
त्यसो हो भने के यही मूल्यमान्यता अनुरुप हामी स्वतन्त्र छौँ ? हामीले लोकतन्त्र प्राप्त गरेका छौँ ?

सम्पन्न चुनावको परिणामले एउटा प्रश्न खडा गरिदिएको छ दलहरुभित्र । देशका ठूला तीन दलहरुले आआफ्ना किसिमले आन्तरिक समीक्षा पनि गरेका छन् । सबैको साझा छलफल छ–चुनाव कसरी हारियो । २०५४ को स्थानीय निकायसको चुनावमा ६० प्रतिशतभन्दा माथि चुनाव जितेको एमालेले अहिले ४४ प्रतिशतमा झर्नु उसले चुनाव हारेकै भयो । आफ्नै सरकार हुँदा समेत अहिले ०५४ सालको परिणामभन्दा खासै फरक पार्न नसक्नु र एमालेभन्दा धेरै कम हुनु दुबै कुराले काङ्ग्रेसले पनि हारेकै भयो । अघिल्लो संविधानसभाको चुनावको ठूलो दल माओवादी केन्द्र तेस्रो स्थानमा समेटिनु त्यो पनि धेरै कमले उसले पनि हारेकै भयो । यो हारको कारणहरुभित्र आफ्नो हारको कारण खोज्न व्यस्त छन् दलहरु । र, सबैको साझा निष्कर्ष पनि छन् केही ।

आफूले हार्नुमा पहिलो–अन्तरघात, दोस्रो–विपक्षीले पैसा बाँड्यो । जितेका ठाउँहरुमा आफ्नो सङ्गठन बलियो । पैैसा बाँड्यो भन्ने अभिव्यक्तिले विपक्षीको बदनाम मात्र गराउने होला । तर, अन्तरघातको मुद्दालाई हरेक दलका नेताहरुले कार्यकर्तालाई पार्टी कारवाही गर्ने अभिव्यक्तिहरु, सार्वजनिक सूचना र समाचार आइरहेका छन् । जुन मूल्यमान्यता र सङ्गठनको निर्णय मान्छु भनेर सङ्गठनको सदस्य भएको हुन्छ, त्यसको निर्णय विपरीत कार्य गर्नु अन्तरघात नै हो ।
यो अन्तरघातको सुरुवात कहिलेदेखि भयो त ? यसको उत्तर कोसँग छ मलाई त्यति थाहा छैन तर मैले थाहा पाएअनुसार तेत्रायुगमा रावणका विरुद्ध विभिषणले अन्तरघात गरेको हाम्रा पौराणिक ग्रन्थमा उल्लेख छ । र, ती अन्तरघातीप्रति हामी धेरैले श्रद्धा नै गर्ने गरेका छौँ । त्यसपछि मौलाएको अन्तरघातको बिऊ आजसम्म फैलिएको फैलेकै छ ।

नेपालको दलीय राजनीतिभित्र अन्तरघातको बिऊ पहिलो चोटी गिरिजाप्रसाद कोइरालाले २०५१ सालको मध्यावधिमा रोपेको बताउँछन् नेपाली काङ्ग्रेसकै अगुवाहरु । कृष्णप्रसाद भट्टराईलाई पराजित गर्न कोइरालाले गरेको अन्तरघातबाट सुरुवात भएको यो क्रियाले काङ्ग्रेस आज आक्रान्त छ । सुनिन्थ्यो–काङ्ग्रेस आफ्नै कारणले हार्छ, अरु कसैले हराउन सक्दैन ।

त्यो रोग फैलिएर एमालेभित्र पनि भुसको आगो जस्तो सल्किएको बल्ल यसपाली स्थानीय निकायको चुनावमा अनुभूति गर्न सके सबैले । अर्थात् गिरिजाप्रसाद कोइराला यस मानेमा अब सबै दलका सर्वमान्य नेता भएका छन् नेपालभित्र ।
किन गर्छन् त सङ्गठनप्रति प्रतिवद्ध व्यक्तिहरुले समेत अन्तरघात ? यसको कारण खोज्न जरुरी छ ।

विशेष गरेर गरीव मुलुकमा धार्मिक आस्था र राजनीतिक चेतना अलिक बढी नै हुँदोरहेछ । त्यसको एउटै कारण हो–विकल्प नदेख्नु । अब राजनीतिभन्दा बाहेकको विकल्प नदेखेपछि व्यवहार बिगारेर पार्टीगत राजनीतिमा अन्धभक्तको रुपमा समर्पित भएका कयौँ कार्यकर्ताहरु छन् । अन्तरघात भएका भनिएका ठाउँहरुमा मिहीन अध्ययन गर्ने हो भने जनमुखी होइन, धनमुखी व्यक्तिहरुलाई जनप्रतिनिधिको रुपमा नेतृत्व वर्गले छनोट गर्नु प्रमुख कारण रहेको छ ।
जनप्रतिनिधिका उम्मेद्वारहरु छनोट गरिरहँदा नेतृत्व वर्गले पैसाको प्रलोभनमा परेको प्रष्ट देखिन्छ । जसले गर्दा सामाजिक अभियान्ताभन्दा बढी उद्योगी, व्यापारी, ठेकेदार र विलासी सम्पन्नता बोकेकाहरुलाई जनप्रतिनिधिको रुपमा उभ्याएको देखिन्छ । अर्को, गुट र उपगुटको जन्जालभित्रको बाँडफाँडमा समुदायले मन पराएकोभन्दा फरक व्यक्ति उभ्याएको पाइएको छ । जसले असन्तुष्ट कार्यकर्ताहरु र स्वतन्त्र मतदाताहरु वितृष्णत भएको देखिन्छ । अन्तरघातका पनि तीन प्रकारबाट हुँदोरहेछ । पहिलो– आफ्नो समेत मत विपक्षमा हाल्ने र अरुलाई पनि त्यसै गर्न उत्प्रेरित गर्ने, दोस्रो–मत हाल्नै नजाने र तेस्रो–आफू मत हाल्ने तर आफ्ना प्रभावमा भएकाहरुलाई उत्प्रेरित नगर्ने । यसरी अन्तरघातलाई दलहरुले आफै प्रश्रय दिए जस्तो पनि देखिन्छ । त्यसको कारण भने देशलाई सङ्घीयताको मोडलमा अघि बढाइरहने नेतृत्वमा भने केन्द्रीयताको चेत रहिरहनु पनि हो । दलहरुको चुनावप्रतिको सुक्ष्म अध्ययनको कमी, प्रतिनिधि चयनमा त्रुटी, आन्तरिक असन्तुष्टिको व्यवस्थापन गर्न नसक्नु आदि अन्तरघातका कारणहरु हुन सक्छन् ।

दलीय व्यवस्थामा लोकतन्त्र भन्नु दलमाथि विश्वास गर्नुमात्र रहेछ खास अर्थमा । दल बाहेकका व्यक्तिहरुको स्वतन्त्र अस्तित्व रहँदैन कहीँ पनि । अर्थात् नागरिक नागरिक रहन पाउँदैन, उसका हरेक काम गर्नु वा गराउनु छ भने कुनै न कुनै दलको सदस्य वा समर्थक रहनै पर्नेछ । ती दलहरुका शक्तिशाली नेताहरुका निर्णयभन्दा फरक सोच्न हुँदैन नागरिकले । सोच्यो भने कि त प्रतिपक्ष हुन्छ, कि त अन्तरघाती । त्यसैले मलाई लाग्छ–हाम्रो देशमा भने दलीय व्यवस्था भनेको अर्ध लोकतन्त्र मात्र हो, पूर्ण लोकतन्त्रको जग बस्न अझै धेरै बाँकी छ ।

कार्यकर्ताले अन्तरघात गरेको त सङ्गठनले कार्वाही गर्ला तर आफ्नो वर्चश्व रहेको दम्भमा असक्षम जनप्रतिनिधिहरुलाई समेत जिताएर आम नागरिक र देशप्रति अन्तरघात गर्ने दल र आफ्नो दलले जित्ने ठाउँमा अलोकप्रिय प्रतिनिधि पठाएर दल हराउने त्यस्ता अगुवाहरुलाई कसले कारवाही गर्ने ?
पगदजबण्ण्ज्ञ२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: