मेचीनगर, २७ साउन । मूलभन्सार बाहेक भारतसँगको सबै सीमा बन्द छ । तर पनि गौडा गौडाबाट तस्करीका सामान भित्रिने गरेका छन् । कहिलेकाहिँ प्रहरीले त्यस्ता सामान पक्रिने गरेको छ ।
सामान बरामद भए पनि तस्करहरु चाहिँ जहिल्यै उम्किने गरेका छन् । काँकरभिट्टाको गैरीगाउँमा एक सातामा दुईपटक गरी प्रहरीले लगभग ७ लाख दामका महँगा मोबाइलका सेट पक्रियो । तर तस्करहरु भने पक्राउ परेनन् ।
प्रहरी स्रोतका अनुसार काँकडभिट्टा मूलभन्सार नाकाबाट एक किलोमिटर दक्षिण मेचीनगर–७ गैरीगाउँस्थित दशगजाबाट सोमवार विहान पौने ४ बजेतिर काँकरभिट्टा इप्रका र जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले २ लाख ८ हजार ५सय रुपैयाँको ५ थान रेडमी, २ थान रियवमी र एक थान ओप्पो सेट बरामद गरेको छ ।
सोही ठाउँमा गत मङ्गलावर पनि प्रहरीले विहीपख ४ लाख ७५ हजार मूल्यको १९ थान मोवाइल सेट पक्राउ गरेको थियो ।
तस्करहरुले सामान छिराउन गैरीगाउँको गौडा नै रोेजेको देखिन्छ । तर प्रहरीले सामान समाउँदा तस्कर समाउन सकेका छैनन् ।
लकडाउन खुलेपछि नेपाली बजारमा मोबाइल सेटको माग बढेको छ । तस्करले भन्सार छलेर भारतबाट सामान ल्याउने प्रयास गरिरहेका छन् ।