‘दसैँ’ नोस्ट्याल्जिया

  प्रकाशित मिति
२८ आश्विन २०७३, शुक्रबार १६:००


coverदसैँको आध्यात्मिक र पौराणिक पक्षभन्दा पृथक् दसैँले हामी नेपालीहरूको दिनचर्या र जीवनमा पार्ने प्रभाव विशिष्ट छ । हाम्रो समाजको आर्थिक संरचना दसैँमा देखिन्छ । त्यसैले दसैँ प्रत्येक पुस्ताको अतीत प्रेम हो । वर्षाैँअघि दसैँ एक पुस्तापछि अर्काे पुस्तामा खासै अन्तर भएर आउँदैनथ्यो तर पछिल्ला करिब बिस वर्षमा नेपाली समाजमा भएको परिवर्तनले दसैँमा स्पष्ट पुस्तान्तर देखिँदै छ । दसैँ प्राकृतिक पर्व हो । दसैँ आउन लागेको सङ्केत प्रकृतिमा देखिन्छ तर अब दसैँ प्रकृतिमा होइन बोनस र बिदामा आउने भएकाले यो कृत्रिम बनेको छ ।

अहिले समाजमा दसैँ दुई वटा अतीत प्रेम बनेर आउँछ । पहिलो अतीत प्रेम हजुरबुबा र हजुर आमाहरूको हो भने दोस्रो छोरा र छोरीको । पहिलो पुस्ता आफूले मानेको दसैँलाई सम्झेर आनन्द मान्दै वर्तमानमा दसैँको महत्त्व घटिरहेको देख्दछन् । छोराछोरी बोनस थापेर, रेमिट्यान्सबाट आएको रेडिमेड दसैँलाई उल्लास मानिरहेछन् ।

मेरा बा इलाममा जन्मीहुर्की जवानीमा झापा झर्नु भएको हो । मेरा बाको दसैँ माइखोला सङ्लेपछि आउँथ्यो । गोरेटोमा पलाएका बुट्यान सफा गरेपछि आउँथ्यो दसैँ । दसैँ एउटा प्रतीक्षा थियो । अम्बक पाकेर बारीभरि हुन्थ्यो, नस्पति त्यस्तै । रातो माटो र कमेरो खन्न जानेले ल्याउँथे दसैँ । धान पसाएपछि आउँथ्यो दसैँ । त्यसैले दसैँ प्राकृतिक चाड थियो । अदुवाको माउ गाउँबाट इलाम बजार लगेपछि त्यसले साटेर ल्याउँथ्यो दसैँ । केराका घरीबाट काइँयो छुटाएर बुङ्गोको भाग छानामाथि फ्याँकिन्थ्यो । त्यो पहेँलो भएपछि दसैँ आउँथ्यो । गाउँमा पिङ हालिन्थ्यो । पिङको सररर हुइयाले ल्याउँथ्यो दसैँ । काँधमा लुगा सिउने मेसिन बोकेर घर घर गई लुगा सिउने सुचीकारहरूले ल्याउँथे दसैँ । आहा ! नयाँ कपडाको गन्ध । त्यही गन्धमा हुन्थ्यो दसैँ । नयाँ लुगा, चुरा, धागोको चर्चाले दसैँ लाउँथ्यो । कपडाले ढाकेको नेसनल पानासोनिक ६४८ किलो हर्जमा बिस्तारै ट्युनिङ गरेपछि रेडियो नेपालबाट बज्ने मालश्री धुनले ल्याउँथ्यो दसैँ । चण्डीपाठ, जमरा राख्ने कार्य, दसैँ घर, दुर्गापूजा, ढिकीमा चिउरा कुटेको आवाजले ल्याउँथ्यो दसैँ ।

मेरो दसैँ बोनसमा आउँछ । मेरो दसैँ रेडिमेड छ तर मनभित्र अर्काे दसैँ छ । दसैँका बाल्यकालीन स्मृति छन् । ती मैले देखेका दसैँका आगमन हुन् । मेरा बुबाले व्यवहार गरेको दसैँ हो । दसैँ ल्याउन गरिएका व्यवहार मेरा अतीत हुन् । म पनि तिनलाई सम्झेर दसैँमा रमाउँछु । अहिले पाटाखाडी गन्हाउँछ तर त्यति बेला हामीलाई पाटाखाडीमा बास्ना चल्थ्यो । किनकि पाटाखाडी दसैँको उद्गम थियो । मेरा बुबा, छिमेकी काका, बडाबा, हजुरबाहरू त्यही खाडीमा पसेर पाटा धोएपछि दसैँ आउने सम्भावना हुन्थ्यो, कुनै आकस्मिक घटना नभए । धोएको पाटा सुकाएर उठाउँदा त्यसको गन्धमा दसैँको लुगाको गन्ध हुन्थ्यो । बुबाहरु पाटाको भारी बोकेर शुव्रmवार धुलाबारी लागेको दिन अत्यन्तै लामो लाग्थ्यो । दिन ढिलो बिते जस्तो । बेलुका झोलामा ल्याइन्थे हाम्रा दसैँका लुगा निलो पाइन्ट र सेतो सर्टका कपडा । सुचीकारलाई वर्षभरिका लुगा सिलाएबापत मङ्सिरमा धान दिने चलन थियो । उनीहरू जिउ कपडाले नै नाप्थे । फिताले नाप्ने चलन त पछि मात्रै देखेको हो । सिएर झुन्ड्याएको लुगा हेर्न सुचीकारको घर भएको बाटो बहुत हिँडिन्थ्यो ।

राजवंशी, चौधरी महिलाहरू चिउरा कुट्ने धान लिन आउँथे । चिउरा कुटिदिएबापत धान दिनुपथ्र्याे । चिउरा कहिले ल्याउलान् भनी पर्खिन्थ्यौँ । त्यही चिउराले त ल्याएको रहेछ नि दसैँ । दसैँको खसीलाई खुब हेर विचार गथ्र्यौँ । भात खाँदा एक गाँस उबारेर भए पनि त्यसलाई दिन्थ्यौँ । गाउँमा दुर्गापूजा गर्न केही केटाहरु बाटामा कागजको चिर्कटो बोकेर गाडी रोक्थे, पैसा उठाउँथे । गाउँभरि दसैँ दुर्गापूजाले ल्याउँथ्यो । बुबाले केराको घरी काटेपछि दसैँको दिनगन्ती सुरु हुन्थ्यो । छानामाथि फ्याँकेको बुङ्गोको भाग पहेँलो भएपछि मात्र घरभित्रका केरा पाक्थे । बिहान त्यो पहेँलियोस् भन्ने कामना गर्दै बेलुका निदाइन्थ्यो । फागुनमा पाकेको तोरी दसैँका लागि सुरक्षित हुन्थ्यो । त्यसलाई पखालेर र सुकाएर तेल पेल्न गाउँ नै नक्सलबारी लाग्थ्यो । त्यही तेलले दसैँ ल्याउँथ्यो । ओहो ! टीकाको दिन नयाँ कपडा निलो पाइन्ट र सेतो सर्ट लगाउन पाइने अनि दक्षिणा पाइने तीव्र प्रतीक्षा ।

अहिले मैले व्यवहार गरेको दसैँ प्राकृतिक रहेन । कुनै पूर्व सङ्केत र तयारी छैन । बोनसमा आउँछ दसैँ । रेडिमेड छ दसैँ । बोनसमा आएको दसैँ चेक साटिएर वा एटिएम कार्डले मेसिनबाट ल्याउँछ दसैँ । रेमिट्यान्सले ल्याउँछ दसैँ । त्यसैले त दसैँ कृत्रिम छ । डिपार्टमेन्टल स्टोरभित्र एकछिनको सपिङमा बास्केटभित्र आउँछ दसैँ । मेसिनले कुटेका चिउरा पातला छन् । दुधमा मिसाउँदा लतक्क पर्छ । फुकै मुक्याउँदा कहाँ मजा आउनु ? फ्रेस हाउसमा छ दसैँको खसी । दुरदराजबाट ल्याइएका ती खसी वजन नघटोस् भनेर सुई हानिएका । अनि कसरी स्वादिष्ट हुन्छ ? घरमा आफूले पालेको जस्तो । कपडाको पर्वाह छैन । दसैँमा निलो पाइन्ट र सेतो सर्ट कसले पत्याउने ? दुध प्लास्टिकका पोकामा छ । दही बट्टामा छ । कसले झन्झट गर्ने ? दुधदही त कारखानाका सोकेसभित्र छिरेपछि मेरो दसैँ प्राकृतिक रहेन । यो त केवल बोनसमा आएको रेडिमेड फुर्सद मात्र हो ।

(लोकतन्त्र पोस्टको दसैँ तिहार विशेषाङ्कमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: