झापा, ९ कार्तिक । यस वर्ष दसैंको टीकाको दिनसम्म देशभर मौसम सफा हुने मौसमविदले बताएका छन् ।
मौसमविद शान्ति कँडेलले यस वर्ष हिले दसैं नहुने सम्भावना बताइन् ।
पूर्वी नेपालको आकाशमा अलिअलि बादल लाग्ने र विशेष गरी प्रदेश १ को पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना भए पनि त्यसले केही असर नपर्ने मौसमविद्को पूर्वानुमान छ ।
‘प्रदेश १ को पहाडी भागका केही जिल्लामा पानी पर्दा पनि क्षणिक मात्रै, हलुका मात्रै हुने हो,’ मौसमविद कँडेलले भनिन् ‘त्यसले दसैंमा कुनै असर गर्दैन ।’
प्रदेश नं. १ सँग नजिक भएका प्रदेश नं. २ र बागमती प्रदेशका कुनै–कुनै ठाउँमा पनि बादल देखिने छ । तर पानी भने नपर्ने कँडेल बताउँछिन् । उनका अनुसार पश्चिम नेपालको आकाश भने पूरै छ्याङ्ग हुने छ ।
यो वर्ष विजया दशमीको टीका लगाउने उत्तम साइत कार्तिक १० गते बिहान १० बजेर १९ मिनेटको लागि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।