दार्जीलिङको धुवाँ

  प्रकाशित मिति
१४ फाल्गुन २०७६, बुधबार १६:०५


।। यात्रा संस्मरण ।।

खगिन्द्रा खुसी

‘आ… जे सुकै गर्नु ! मलाई किन सुनाइरहनु त ! कहिलेकाहीँ त परिवारलाई पनि त समय दिनु पर्यो नि !’ छोरोको पनि दुई दिनको छुट्टि भएको समयमा कहीँ घुम्न जान मन लागेको थियो, मलाई, बुढोको पनि छुट्टि परेको समय भनेर मनमनै बनाएकी थिएँ नि योजना चैँ, तर के थाहा त्यही समय पारेर बुढोले पनि मनमनै अर्कैतिरको योजना बनाइसक्या रहेछ । त्यही योजना सुनेपछिको झ्वाँकमा मुखबाट फ्याट्ट निस्किएको थियो माथिको कुरा ।

‘के साँच्चै जाने त ?’ म त्यति भनिसके पछि बनाउँदै गरेको घर हेर्न गएँ, फर्किंदा त बुढोको योजनै फेरिइसकेछ नि । ‘हौ…. किन नजानु त अनि, तपाईंको योजना चैँ ?’ ‘अब बुढीले त्यति भनिसकेपछि….।’ मैले कुरो बुझिहालेँ । कुरा गर्दागर्दै घरबेटी दिदी आइपुग्नु भयो ‘हँ दिदी ! हामी त जाने भयौं त, कि जौँ त?’ ‘कहाँ हौ ?’ दिदीको प्रश्नमा मैले बेलिबिस्तार लगाएँ । ‘जाँदा त हुन्थ्यो नि अब बाले के भन्नुहुन्छ ? साँझ परेको थियो कुरा गर्दागर्दै दिदीका बापनि आँगनाँ टुप्लुक्क देखिनुभयो, दिदीका बालाई देख्नेबित्तिकै मेरा बाले कुरा राखिहाल्नुभयो । ‘होइन दाजु त्यस्तो पो कुरा आयो त !’ ‘के कुरा, कस्तो कुरा ?’ भन्दै बरण्डाको सोफामा बस्नुभयो घरबेटी दाइ । उहाँलाई खेमसरले (मेरो जीवन साथी) बेलिबिस्तार लगाउनु भयो । ‘ए… लु जौँ भने जौँ न त….’ घरबेटी दाइले त्यति भनेपछि पक्का भएको थियो यो यात्राको ।

२०७६ सालको फागुन ९ गते शुक्रबारको विहान हाम्रा घरबेटीका जोइपोइ र हामी जोइपोइ सहित हाम्रो छोरो प्राञ्जल सहितको जम्बो टोली सरस्वती चोकस्थित चिरञ्जीवी र मीना खड्का (हाम्रा अहिलेका घरबेटी) को घरबाट निस्कियौँ । आँगनमा निस्किएर सबैले एउटा फोटो खिच्यौँ, म फेस्बुकाँ पोस्ट्याउन थालेँ, ज्याहै ! पैदलै पो लागेछन् । मलाई त अटोमा जानेहोला भन्ने लागेको थियो ।

मलाई हिँड्न मन नै लागेको थिएन । मन नलाग्नुको कारण चैँ थियो मेरो चप्पल । धेरै होची नभए पनि धेरै अग्लि पनि छैन म, त्यसैले अलिकति अग्ला चप्पलले मेरो उचाइलाई ठिक देखाउँछ जस्तो लाग्छ, म आफैँलाई, देख्नेले चैँ कस्तो देख्छन् थाहा छैन । त्यसैले अलि टाढाको यात्रा गर्दा चैँ, अग्ला चप्पलमा ठाँटिन मन लाग्छ तर त्यो चाहनाले कहिलेकाहीँ यस्तै अफ्ठ्यारोमा पर्छु । दुईचार पाइला हिँड्दा त सानदारै लाग्छ आफूलाई, त्यो भन्दा धेरै हिँड्नुपर्दा चैँ हुर्मतै लिन्छ नि अग्ला चप्पलले । अरु निकै अगाडि पुगिसकेका थिए, नहिँडी धरै थिएन, लागेँ बाटो बनाउँदै गरेको भत्केको बाटोबाट बङ्ग्याङ, बङ्ग्याङ गर्दै अरुको पछिपछि । लेखनाथ चोक पुग्दा ठिक्क विर्तामोड जाने बस लागिरहेको रहेछ, तर हामी त्यसमा गएनौँ । छेउमा भएको अटोसँग भाडामा दलाली गर्यौँ, के घट्थ्यो अटोवाला, बरु हामी नै अलिकति बढ्यौं र विर्तामोडस्थित इलाम स्टेसनसम्मको यात्रामा निस्कियौँ । छोरोसहित पाँचजना थियौं हामी त्यो अटोमा आँटी नआँटी जस्तो देखियो तर सहजरूपमा नै विर्तामोड पुग्यौं ।

विर्तामोडको इलाम स्टेसन पुग्नै पाएको छैनौं । गाडी स्टेसन पुग्न आँट्दा के हुन्छ त्यो त सबैले भोगेकै कुरा त हो नि ! हो त्यस्तै भयो हामीलाई । तर, अरुबेलाको जस्तो यात्राको आन्द्राभुँडी नै निक्लनेगरी तानातान चैँ गर्न पाएनन् । हामी हाम्रो गन्तव्य तिर जाने गाडीमा पुगिहाल्यौँ, हामी यही गाडीका भन्ने बनायौँ अरु गाडीवालाहरुलाई । जहाँ पनि कसैको हो भन्ने चैँ बनाउनै पर्ने रहेछ, नभए अर्कोले अधिकार जमाउन खोजिहाल्ने, मान्छेको सम्बन्धमा जस्तै, आजभोलि त कसैको हो भन्दा पनि छाड्दैनन् पो त, अर्को गाडीको पेसिन्जर ताने जत्तिकै तान्न खोज्छन् । अर्काका श्रीमतीहरुलाई, श्रीमान नै तान्न पनि पछि पर्दैनन् केटीहरु । जे भएपनि हामी चैँ त्यसकुराको लागि सुरक्षित भयौँ त्यो समयको लागि । तर, पशुपतिनगर जाने गाडीमा पनि सुरुमै कहाँ बस्न पाइयो र ? सिट छ मेरोमा भन्दै ड्राइभरले झोला बोकेर लगिदिइहाल्यो, होलातानि भन्दै पछि लाग्यौं । गाडीमा चढ्ने बेलामा पो ‘एकजना चैँ पछाडिको सिटमा जानुपर्छ है’ पो भन्छ ! म पनि ठाउँमा अबुझ बन्न सक्ने मान्छे परेँ ‘भो ! हामीलाई ढिलो हुँदैन, हामी अर्को गाडीमा जान्छौं’ भन्दै अर्को गाडी तिर लागेँ, मीना दिदी पनि पछि लाग्नुभयो । विचरा ड्राइभर अगाडि बस्ने पेसिन्जरलाई अनुरोध गर्न थाल्यो, ‘पछाडि बसिदिनु न है’ उ त हामी जस्तो अबुझ निक्लिएन, सरक्क पछाडि सरेर बस्यो । हामी गाडीमा चढेर आनन्दले बस्यौं । हाम्रो पशुपतिनगर इलामसम्मको सहज यात्राको सुनिश्चित भयो । यात्रा साँच्चै भनेसम्मको भयो, कसैलाई वाक्वाकी भएन, रिँगटा लागेन, टाउको दुखेन, हाँसी हाँसी पशुपतिनगर पुगेर ओर्लियौँ ।

गाडीमा चढेपछि ड्राइभरदाइलाई हाम्रो यात्राको बारेमा जानकारी गराएका थियौँ, उनले म उहाँसम्म पुग्ने ब्यवस्था मिलाइदिन्छु भने । पशुपतिनगरमा हामीलाई ओरालेर अर्को गाडीमा चढाउने व्यवस्था पनि मिलाइहाले, उनले पनि के मिलाए भन्नू र ! उनी जस्तै त हुन् अरुपनि, गाडीबाट ओर्लन नपाउँदै घेरिहाले गाडीवालाहरुले । हामी चार र हाम्रै गन्तव्यसम्म पुग्ने दुई गरेर जम्मा छ जना रहेछौं, त्यो गाडी त हामीले नै भरिने रहेछ । झोला गाडीमा राखेर होटल तिर पस्यौँ । शिवरात्रीको दिन आफ्ना शिवजी साथै लिएर हिँडेका हामीले बाह्र बजेसम्म त वर्तै लिएछौँ । होटलमा पस्दा बाह्र बजिसकेको थियो । म प्युर भेजवाली अरु त नन्भेज सबै । मैले भेज खाना सोधेँ अरु चैँ नन्भेज नै दन्काउँछन् होला भनेर तर खै सबैले भेजनै पो मगाए ! अरु त अरु चिरञ्जीवी दाजु जसले एकछाकी र श्राद्ध भन्दा वाहेक कहिले सादा खाना खानुभएको रहेनछ, उहाँले पनि सादा नै खानुभयो त्यहाँ मात्रै होइन दुई दिने त्यो यात्राभरि मासु खोज्नु भएन, हामी जस्तै त के भनौं म जस्तै हुनुभयो सबैजना । खाना त खायौं तर खाइसकेपछि चैँ बरु वर्तै लिएको भए हुने रहेछ भनेर थक्थकी लाग्यो । भारु एकसयको त्यो खानाभन्दा त साठी रुपैयाँको मम खाएको भए सन्तुष्टि मिल्थ्यो होला ।

जसोतसो खाइसकेर बाहिर निस्क्यौँ, गुरुजीले गाडी होटलकै अगाडि राखिदिएका रहेछन् । तर पनि चढिहालेनौँ, एकछिन बजार घुम्यौँ, फोटो खिच्नका लागि भनेर एउटा कालो रङको छत्रे टोपी किनेँ मैले । छोरोले पशुपतिनगर पुगेदेखि नै मेसमेल्लो, मेसमेल्लो भनेर कराइरहेको थियो मैले चैँ कहिल्यै नसुनेको नाम, के हो भनेर थाहा पनि नभएको थाहा पाउनका लागि भएपनि किनिदिएँ ।

झन्डै एक बजिसकेको थियो, हामी गाडीमा चढ्दा । तर, अघि हामीसँगै रहेका दुईजना पेसिन्जर कता हराए कता, ड्राइभर पेसिन्जर खोज्दै यताउता डुले तर भेटिएनन् । नभेटेपछि उनले बुद्धि लगाए । हामीलाई नै लोभ देखाए ‘तपाईंहरु घुम्न हिँड्नु भएको रहेछ, किन अरुलाई राख्नुहुन्छ, नराख्नु अरुलाई तपाईंहरु मात्रै जानू, अरु दुई जनाको भाडा पनि तपाईंहरु नै दिनु । ‘भो ! हामीलाई चाहिँदैन सहज, खोज्नु पेसिन्जर’ तर उनले हामी मात्रै जाँदा हुने फाइदा देखाउन छाडेनन् । अन्ततः उनी सफल भए, उनको कुरा ठिकै जस्तो लाग्यो, मन फेरियो, हामी तयार भयौँ थप दुई जनाको भाडा तिर्न । गाडी हामीलाई मात्रै बोकेर दार्जीलिङ तिर लाग्यो ।

साहित्यमा लागेपछि मैले धेरै ठाउँको यात्रा गरेकी छु, तर इलाम विराटनगर भन्दा बाहिरका लामो दुरीका यात्रा कहिल्यै दोहोर्याएको छैन ।

मलाई दोहोर्याउन पटक्कै मन लाग्दैन, केही कुरा पनि । नयाँ मनपर्छ जे पनि, घरमा पनि पलङ, भान्साका सामान राख्ने तरिका फेरिरहन मन लाग्छ, म सिरियल प्रेमी नहेरी नसक्ने, युट्युवमा भए पनि हेर्नुपर्ने मान्छे तर दोहोर्याएर हेर्नै नसक्ने मान्छे । म कुनै पनि पुस्तक दोहोर्याएर पढ्नै सक्दिनँ । अस्ति घरको चुलो किन्न जाँदा पसलेले घरमा भएकै जस्तो चुलो देखाएर ‘यै लानु नि यै ठिक छ’ भने । मैले ‘यस्तो चलाउँदा चलाउँदा दिक्क लागेर अर्को खालको लान खोजेको फेरि यस्तै देखाउनु हुन्छ ?’ भनेको बुढोले दोकानेसँग भनिहाल्नुभयो, ‘यी यस्ती छन् बुढी, पुरानो भएको चैँ केही नराख्नु, फेरिहाल्नु भन्छिन्, धन्न मलाई चैँ पुरानो भयो भनेकी छैनन् !’

दोकाने हाँसेर हुरुक्क भयो । यो यात्राको गन्तव्य पनि नयाँ मेरो लागि र यात्रामा हिँड्ने यात्री साथीहरू पनि यात्राको लागि चैँ नयाँ । यस्तो हुँदा चैँ नयाँ ठाउँहरु पनि कस्तो होला, कसरी पुग्ने, के–के हेर्ने, के खाने, कहाँ बस्ने भनेर जिज्ञासा लागिरहन्छ, नयाँ मान्छेर साथीहरूका पनि जीवनका सुखदुःखहरुले मनमा नयाँ खालका अनुभूतिहरु दिइरहन्छन्, त्यसैले मलाई नयाँ मनपर्छ । मलाई मनपर्ने यात्रा भइरहेको थियो नयाँ मान्छेसँग नयाँ ठाउँको । गाडी अगाडि बढ्यो । फस्र्याइलो, बोलैलो ड्राइभरले हामी पेसिन्जरको मन खिचिसकेको थियोे हाम्रो फस्र्याइलोले पनि उनलाई बाँकी राखेको थिएन । गाडी सुरु गर्ने बित्तिकै उसले दार्जीलिङका घुम्न लायक ठाउँहरुका बारेमा जानकारी दियो, त्यहाँ चैँ नछुटाउनु होला भन्यो । हामीले उसैलाई घुमाइदिन अनुरोध गर्यौँ । उसले नाईं त भनेन तर भाडामा केहीबेर मोलमोलाइ चल्यो । अन्त्यमा उसले नै ‘लु तपाईंको पनि छैन मेरो पनि छैन चौध सय गरौं !’ भन्यो । खेमसरले ‘किन छैन ? छ नि !’ तपाईंको पनि छ हाम्रो पनि छ बाह्र सय गरौँ !’ भन्नुभयो । ‘होइन हौ अन्त डल्लै घाटा लाग्छ नि त ! भन्यो ड्राइभरले । अन्तिममा १३ सयमा कुरा मिल्यो र उसले नै दिनभरि घुमाइदिने पक्का गरेर आनन्दले अगाडि बढ्यौं ।

नेपाल र भारतको सीमास्तम्भ बाटोको छेउमा देखियो । सीमाबाट देब्रेतिर नेपाल दाहिने तिर भारत । नेपालतिर उदाङ्गो नाङ्गो डाँडाहरु भारततिर सयौं वर्ष भएको जस्तो लाग्ने धुपीको जङ्गल ! मैले भनेँ ‘कसरी यस्तो हुन्छ ? सीमा भए पनि माटो त एउटै हो नि ?’ ‘कानुनले गर्दा हो भारत कानुन रुख काट्नेको लागि साह्रै कडा छन्त !, अन्त रुख काट्यो भने त नि हो ! जेलमै राखेको राखेको गर्छ, मान्छेलाई त जेलमै सडाइदिन्छ हो !’ ड्राइभरले सिधा उत्तर दियो । अगाडि बढ्दै गयौँ हामी एउटा बाटोको सिमाना रहेछ नेपाल–भारत छुट्याउनको लागि । ड्राइभर भन्थ्यो ‘यता फटाइँ गरेर यता कुद्छन्, यता फटाइँ गरेर यता कुद्छन् सीमा कटेपछि समात्न मिल्दैन ! यैँ छ भनेर के गर्नु ?’ एउटा बाटोले माटाको भाग छुट्याउने अचम्मको नियमभित्र बाँधिएको संसारमा छौं हामी । यस्तै विचित्रको संसारमा विचित्र विचित्र हेर्दैहेर्दै, भोग्दै जीवन काट्ने विचित्र प्राणी हौं हामी ।

त्यहाँ भन्दा निकै पर, अलि माथि जोरपोखरी रहेछ । एउटा भरी, एउटा रित्तो पोखरी थिए । भरी पोखरीको बीचमा सिमेन्टको ठूलो नाग बनाइएको । नागको फेदमा वरिपरि ज्यूदा हाँसहरु पनि बनाएकै जस्तो गरी बसेका । वरिपरि वारेको, अलि तलतिर पटि बस्न हुने साना साना चौर । अलि तलतिर दुईवटा लालिगुराँसको बोट । रातै भएर फूलेको लालिगुराँस । हामीलाई त्यो भन्दा अरु के चाहिन्थ्यो र । आधाघण्टा लगाएर भए सम्मका पोजमा लालिगुराँस आउने गरी फोटो खिचियो । जोरपोखरीको सेरोफेरोमा अघाउन्जेल फोटो खिचेपछि त्यहाँबाट पनि बाटो लाग्यौं । अलि पर पुगे पछि ‘घुमपहाड स्टेसन आइपुग्यो’ भने ड्राइभरले । सानो बजार जस्तो, बजारकै बीचमा रेलको लिग, बजार बजार कुदेको रेलको लिग हेर्दै अगाडि पुग्यौं । घुम पहाड भन्ने बित्तिकै मलाई राधिका दिदीको सम्झना आयो, यही क्षेत्रमा जन्मी, हुर्की गरेकी दिदी राधिका रायासँग उहाँको जीवनको अन्तिम समयमा साथी बन्ने मौका पाएकी थिएँ मैले । उहाँको बारेमा पढ्दा यस क्षेत्रका बारेमा पनि पढेकी थिएँ, राधिका रायाले टेकेको माटोमा पुगेर उहाँप्रति मन पोखियो एकपटक । मनमनै उहाँलाई नमन गरेँ । अलि अगाडि पुर्याएर ‘एउटा गुम्बा छ हेरेर आउनुहोला’ भनेर गाडीबाट गुम्बा भएको ठाउँ देखाइदियो । हामी ओर्लिएर त्यतैतिर लाग्यौँ, फेरि हिँड्नु पर्ने भयो, फेरि चप्पलको सम्झना भयो ओरालोमा अग्ला चप्पल लगाएर शरीर थाम्नु कम्ति गाह्रो कुरा हुँदैन नि त । थामिँदै थामिँदै बल्ल तल गुम्बामा पुगियो, हामी जस्तै घुम्न आउनेहरु थिए त्यहाँ ।

भित्र पस्यौँ हामी, ओम माने पेमे हुँको धुन बजिरहेको, शान्त लाग्यो ठाउँ, त्यहाँ पनि फोटो खिच्यौँ, पोजपोजमा र फर्कियौँ आधाघण्टा पछि । त्यसपछि भने अर्को रमाइलो ठाउँ थियोे, दार्जीलिङको पार्क, गोर्खाली सेनाहरुले बनाएको भन्ने बुझेँ मैले, राम्रो फूलबारी, बीचमा गोर्खाली सेनाको शालिक, छेउमा दुरविन, त्यसबाट त्यहाँबाट देख्न सकिने दार्जीलिङको मुख्यमुख्य ठाउँ देखाइँदो रहेछ, छोरोलाई देखाइदियौँ । वरिपरि घुम्दै फोटो खिच्दै गर्दै थियौं, पर धुवाँको मुस्लो देखियो । के भएछ भनेर हेरेको त रेल पो आउँदै रहेछ, आम्मम ! यति धेरै धुवाँ ! मलाई त रेल भन्दा धुवाँले पो आकर्षण गर्यो, यस्तै धुवाँ उडाउँदै वर्षौंदेखि कुदिरहेको रहेछ दार्जीलिङको रेल ।

विश्वकै अग्लो स्थानमा कुद्ने रेल रे दार्जीलिङको रेल । कोइलाले चल्ने रेलको धुवाँ खाएर बसेको रहेछ दार्जीलिङ त । यो थाहा पाएपछि त कस्तो धुवाँ लागेको घर जस्तो धमिलो देख्न थालेँ दार्जीलिङलाई, वर्षौंदेखि आगोमा भात पकाउने घरको भान्सा जस्तो, किन किन, सहानुभूति पलायो दार्जीलिङप्रति । हेर्दाहेर्दै त्यही पार्कमा आएर रोकियो रेल । धुँवाले झ्याप्पै छोप्यो पार्कलाई, धुवाँ भित्र भित्रबाट रेलतिर दौडे सबै, हामी पनि मुख छोप्दै उतैतिर लाग्यौं । मुख छोप्दै भए पनि फोटो खिच्यौँ, दस पन्ध्र मिनेट जति रोक्यो त्यहाँ, रोकिउन्जेल पनि धुवाँ झन् जोडले निकाल्यो । मैले सुनेकी थिएँ यो रेल विश्वको अग्लो स्थानमा रहेको भनेर किर्तिमान रचेकोले घाटा खाएर पनि चलाइरहेको छ रे । दस पन्ध्र मिनेट नै बसेर, रेललाई विदा गरेरै मात्रै हामी विदा भयौं ।

त्यहाँदेखि चिडियाखाना पुगुन्जेलका बजारमा मैले धुवाँ नै मात्रै देखेँ, एउटा चुरोट खाँदाको धुवाँले गर्ने असर पनि कति भयङ्कर हुन्छ र त्यसबाट बच्न कत्रो पहाड भइरहेको समय छ, त्यत्रो कोइलाको धुवाँले दार्जीलिङबासीहरुलाई असर गर्दैन कि ? एउटा बत्ती बाल्दा पनि भित्तामा लाग्छ भनेर सलेदोवाला बत्ती बाल्न पाइँदैन घरमा त्यो वर्षौंदेखि रेलको धुवाँ लागेको दार्जीलिङमा पेन्टरलाई बोलाएर घर कलर गरेजस्तै कलर गराउन मन लाग्यो । हामी दार्जीलिङको चिडियाखानामा पुग्यौं ।

जङ्गली बाख्रा जस्ता लाग्ने हरिणमृग, चित्तल, जरायोहरुलाई व्यवस्थित रुपमा राखेको चिडियाखाना रहेछ । बाघ, भालु, चितुवा र रेडपाण्डाहरु लगायत अन्य धेरै जङ्गली जनावर र चराचुरुङ्गीलाई जङ्गल भित्रै बेरा लगाएर व्यवस्थित गरेर राखिएको रहेछ, माथि प्रथम हिमाल आरोही तेन्जिङ नोर्गे शेर्पा म्युजियम रहेछ ।

तेन्जिङले हिमाल आरोहण गर्दा लगाएका लुगासहित उनीसँग सम्बन्धित सबै चिजहरुलाई म्युजियममा राखिएको रहेछ, नजिकै अर्को म्युजियम, जीवजन्तु र किटपतङ्गका विभिन्न प्रकारहरुलाई एकैठाउँमा देख्न पाइने त्यो म्युजियम अत्यन्तै भव्य र राम्रो लाग्यो ।

चार बजेदेखि जू (चिडियाघर) बन्द हुने रहेछ । चार बजिसकेको थियो, हतार–हतार गरेर निस्कँदा साढे चार भैसकेको थियो । हिँड्दै गाडी पार्क गरेको ठाउँमा पुग्यौं । ड्राइभर हामीलाई नै पर्खिरहेका रहेछन् । उनलाई गाडीमा चढ्दै शर्त राखेका थियौं ‘हामीलाई होटलमा राख्ने सम्मको जिम्मा लिनुपर्छ’ उनले हामीलाई सेन्टर पोइन्ट होटलमा पुर्याएर बस्ने बन्दोबस्त मिलाएर विदा भए । सुनिल मगर नाम गरेका ती ड्राइभरले हामीलाई राम्रो सहयोग गरे, सेवा दिए । उनलाई धन्यवाद सहित विदा गर्यौँ । सेन्टर पोइन्ट होटलको दोश्रो तलाको २०३ र २०४ नं कोठा हाम्रा लागि बुक भयो । मीना दिदीका दम्पती २०४ मा हामी २०३ मा बस्यौँ ।

दिनभरिमा झन्डै तीन घण्टा हिँडेछौँ, त्यो पनि अग्लो चप्पल लगाएर, हालत के भयो होला अनुमान लगाउन सकिन्छ । ओछ्यानमा पुगेर थ्याच्च बसेको उठ्नै गाह्रो भयो । तर, नउठी पनि धर थिएन । खाना खान अर्काेतिर जानुपर्ने थियो । त्यो त बस्ने होटल मात्रै रहेछ, बरु खान्न म त कहीँ जान्न भन्न मन लागेको थियो । तर, छोरोसँगै भएर फेरि तीनै अग्ला चप्पल लगाएँ र खल्ट्याङ खल्ट्याङ गर्दै तल झरेँ । खाना खाने होटल पनि कहाँ राम्रो छ थाहा थिएन । खोज्दै खोज्दै आधा घण्टा हिँडेर बल्ल एउटा राम्रो खाना खाने ठाउँमा पुग्यौं । शुद्ध शाकाहारी खाना पाइने होटलमा पुगेर खाना खान बस्यौं ।

हात धोएर एकछिन पर्खिँदा पनि खाना ल्याएनन् । ‘किन ढिलो बहिनी’ भनेँ मैले ‘एकछिन ल ! खाना गरम हुँदैछ ।’ भनिन् बहिनी ले त । ‘के रे ? पकाएको कि गरम गरेको त ?’ भनेको । ‘अन्त भ्यानै पकाएकोन्त हो ! चिसो भाको छन्त हो ! अन्त गरम गर्नु पर्योन्त !’ उनी बोलिनसक्दै हामी हाँस्दै उठ्यौँ त्यहाँबाट । साँचो बोलेकोमा धन्यवाद भन्दै त्यहाँबाट फेरि होटलको खोजीमा हिँड्यौँ । धेरै बेरपछि एउटा थकाली होटल फेलापर्यो । त्यहीँ बसेर आनन्दले थकाली खाना खाएर भोलि पनि खाना खान यहीँ आउनेछौँ भन्दै विदा माग्यौँ । फिर्दा पनि बाटाका बजार घुम्दै घर सेन्टर पोइन्टमा पुग्यौं । पेट त अघायो तर निद्रा आउने छाँट थिएन, साह्रै जिउ दुखेको थियो । गलेर लखतरान भएको शरीर, निद्रा नपरे पनि ओछ्यानमा पल्टिन पाउँदा आनन्दै आनन्द आयो ।

भोलिपल्ट विहान सात बजेमात्र ओछ्यान् छोडियो, चियापानी केही पनि बसेका ठाउँमा नहुने भएकोले चाँडोभन्दा चाँडो होटल छाड्नुको विकल्प थिएन । सबैजना तयार भएर त्यहाँबाट विदा भयौं र ब्याग बोकेर हिजो खाना खाएको होटल तिरै लाग्यौं । त्यो होटल भन्दा अझै पर रहेछ चौरास्ता । गाडी कुदन नपाउने, पैदलै हिँड्नु पर्ने ठाउँ रहेछ चौरास्ता । हामी होटलतिर पसेनौँ सिधै चौरास्तातिर गयौं ।

विहानैको समयमा हिँड्दै चौरास्तामा घुम्दा आनन्द आयो । त्यहीँ बसेर चिया पियौँ ।

चौरास्तादेखि दस मिनेट जति अगाडि महाकाल मन्दिर रहेछ, त्यस ठाउँको नामी मन्दिर । धेरै टाढा–टाढाबाट पनि दर्शन गर्न आउँदा रहेछन् त्यहाँ । हामी पनि पुग्यौं त्यहाँ । त्यस भेगको सबैभन्दा अग्लो ठाउँमा रहेको त्यो मन्दिर एकदिन अघि मात्रै शिवरात्रीको कार्यक्रम भएकोले फूलले सजिसजाउ गरिएको थियोे । केहीबेर त्यतै अल्मलिएर फेरि चौरास्तामा झर्यौं हामी । त्यसपछि भने पेटले हिजो खाएको थकाली खानाको खोजी गर्नथाल्यो । अरु अलमल नगरी सिधा होटलमा गयौं । हामी पुग्दा होटलको ढोका खोलेकै रहेनछ । हामी पुगेपछि मात्रै ढोका खोल्न लगायांै, बाहिरदेखि बन्द देखिएपनि भित्र खाना भने बनिरहेको रहेछ ।

पुग्नासाथ तात्तातो खाना खायौं । अघिल्लो दिन खाने बेलामा कुरा गर्दागर्दै थाहा भएको थियोे त्यहाँको मुख्य कुक पनि झापा बाहुनडाँगीकै रहेछन् । बाहुनडाँगी हाम्रो पनि मुल घर भएको ठाउँ । त्यही भएर पनि हामी त्यहीँ पुगेका थियौं खानाखान । खाना खाइसकेपछि भने हाम्रो अरु घुम्ने योजना नभएकाले सिधा सिलगढी जाने गाडी पाउने ठाउँमा पुग्यौं । जाँदाजाँदै बाटोमै गाडी (जिप) भेट्यौं र सिलगढी सम्मको लागि बस्यौं जिपमा । यात्रा त्यो पनि सुखद रह्यो । विशेष कुरा केही भएन यात्राभरी, सामान्य तरिकाले सिलगढीसम्मको यात्रा गरियो । दार्जीलिङबाट फेरि पशुपति नगर तिरबाटै फिर्ने कुरा भएको थियोे । तर, पानीट्याङ्की तिरबाट फिर्दा हाम्रा लागि फाइदाजनक हुन्थ्यो । सस्तोमा तेलचिनी लिएर जान पाइने भएकाले पानी ट्याङ्कीको बाटो रोजेका थियौं । हामीले तर त्यस्तो भएन । हामीले केही ल्याएनौँ पानीट्याङ्कीबाट । यसरी काँकरभिट्टा हुँदै साँझ छ बजेतिर हामी आफ्नै घर सरस्वती चोकमा आइपुगेर झोला बिसायौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: