दाहाल भ्रमणको अपेक्षा हस्तक्षेप नस्वीकार्नु

  प्रकाशित मिति
१ आश्विन २०७३, शनिबार १०:१६


narendra-modi-vs-puspakamal-dahala

भारत अङ्ग्रेजहरूको उपनिवेशमा रह्यो तर नेपाल सदैव स्वतन्त्र रह्यो भन्दै हामीले इतिहासको गाथा गाएको धेरै भइसक्यो । तर अङ्ग्रेजहरूको उपनिवेशबाट फुत्किएर स्वतन्त्रता प्राप्त गरे पश्चात भारतले छिमेकी देशहरूसँग गरेको अघोषित उपनिवेशवादको शिकार हामी दक्षिण एसियाली मुलुकहरू भएका छौँ भन्ने थाहा पाएर पनि त्यसबाट उम्किन हामी सकेका छैनौ र कति पनि कोशिस गरेका छैनौ भन्न चाहिँ बिर्सिएका छौँ । यो हामी अहिले २१ औँ शताब्दीका नागरिकहरूले इतिहासप्रति गरेको सबैभन्दा ठूलो बेइमानी हो ।

भारतको यो हेपाहा प्रवृत्ति नेपालसँग मात्र नभएर सम्पूर्ण दक्षिण एसियाली छिमेकी राष्ट्रहरूसँग पनि कायम रहेको छ । २००७ सालको परिवर्तनका लागि भारतले खेलिदिएको भूमिकाका लागि उसले राजा त्रिभुवनको मुख्य सचिव भारतीय प्रशासक गोविन्द नारायणलाई बनाउनेसम्मको हैसियत मात्र राखेन, मन्त्री परिषदको बैठक भारतमा राख्नेदेखि लिएर भाषाका लागि माइन्यूटलाई अङ्ग्रेजीमा लेखाउनेसम्मको हैसियत राख्यो । उसको यस्तो प्रवृत्ति राजा महेन्द्रको पालामा केही कम भए पनि त्यसपछिका राजा र प्रधानमन्त्री कसैले पनि उक्त अघोषित उपनिवेशवादलाई कम गर्न सकेका छैनन् वा भनौँ कोशिस गरेका छैनन् ।

पाकिस्तानको विभाजन र बङ्गलादेशको जन्म, सिक्किमको भारतमा विलय, विद्रोही लिट्टेका नाममा श्रीलङ्का माथिको हमला, माल्दिभ्स विद्रोह, भारत–पाकको अनन्त युद्ध आदि भारतको दक्षिण एसिया माथिको अघोषित उपनिवेशवादका उदाहरणहरू हुन् । त्यसो त विश्वका १ सय ४० देशले स्वीकारिसकेको नेपाललाई शान्ति क्षेत्र घोषणाको स्वागतलाई भारतले अस्वीकार गर्नुले पनि भारतीय चरित्रलाई झल्काउँछ ।
एउटा छिमेकी असल भयो भने अर्को छिमेकीलाई पनि सकारात्मक प्रभाव पर्छ भन्ने बुझ्न नसक्नु भारतीय कमजोरी हो । छिमेकीलाई कमजोर बनाएर त्यसभित्र खेल्ने भारतीय चरित्र भविष्यमा उसैका लागि घातक बन्न सक्छ । छिमेकी कथामा गुरुप्रसाद मैनालीले लेखे झैँ असल कामका लागि छिमेकीले नबोलाए पनि उपस्थित भएर असल छिमेकीको आत्मीयता प्रदर्शन गर्ने भावना बोकेका हामी नेपालीहरूलाई छिमेकी भारतीय दादागिरी कति पनि मन परेको छैन ।

भारत आज विश्वको शक्तिशाली राष्ट्र हो तर उसलाई शक्तिशाली बनाउन अङ्ग्रेजहरूको ठूलो योगदान छ । भारतमा अहिले देखिएको पूर्वाधार विकास अङ्ग्रेजहरूको पालाको जगमा अडिएको छ । यदि त्यस्तो नहुँदो हो त आफ्ना नागरिकले खान नपाएर आत्महत्या गर्दै गर्दा उनीहरूलाई खानाको जोहो पक्कै भारतले गथ्र्यो होला । आफ्ना नागरिकको भोको पेट टाल्न नसक्ने भारतको अन्तर्राराष्ट्रिय हस्तक्षेप भौगोलिक दम्भ वाहेक केही होइन ।

संविधान घोषणा पश्चातका दोस्रो प्रधानमन्त्री पुष्पकमल दाहालले यही भात्र ३० गतेदेखि असोज २ गतेसम्म भारतको भ्रमण गरिरहेका छन् । भारतबाट अत्यन्तै कम मात्रामा हुने उच्चस्तरीय भ्रमण र नेपालबाट प्रधानमन्त्री फेरिए पछि नै हुने भारत भ्रमणको पृष्ठभूमिले पनि प्रधानमन्त्रीको भारत भ्रमणको हैसियतलाई जनाउँछ । तथापि कुनै पनि कुरालाई सदैव नकारात्मक रुपमा मात्र हेर्नु हुँदैन भन्ने भावनालाई आत्मसाथ गर्दै प्रधानमन्त्रीको जारी भारत भ्रमणलाई सकारात्मक रुपमा लिँदै सफलताको कामना गर्नु हामी सबै नागरिकको कर्तव्य हो ।
प्रधानमन्त्री दाहालले भारतले सुमधुर सम्बन्ध बनाउन लचकता अपनाएको वताएका छन् । यदि त्यहो हो भने त ठिकै छ । तर भारतले ललिपप मात्र देखाएर विभिन्न सन्धी सम्झौता गर्ने रणनीति लिएको हो भने नेपालले सचेत हुनु पर्दछ । किनकि ९० प्रतिशत जनताले हस्ताक्षर गरेको नेपालको संविधान आफू अनुकूल नभएको थाहा पाउने वित्तिकै नाकाबन्दीमा सम्म उत्रन सक्ने भारतलाई झट्टै विश्वास गरी हाल्नु हुँदैन ।

सन्धी सम्झौताको फेहरिस्त लामो बनाउने भन्दा पनि भएको सन्धी सम्झौतालाई आफू अनुकूल व्याख्या गराउन सक्नु चाहिँ अहिलेका लागि मुख्य उपलब्धी हुन सक्दछ । कुनै विज्ञप्तिमा मात्र हस्ताक्षर गर्दा पनि आफ्नो कुटनीतिक मर्यादा विर्सनु हुँदैन । सन् १९५० को सन्धीमा हस्ताक्षर कर्तामध्ये एक नेपालको तर्फबाट प्रधानमन्त्री छन् भने भारतको तर्फबाट नेपालका लागि भारतीय राजदुत मात्र छन् । यहाँबाट सुरु भएको असमानताको श्रृङ्खला आजसम्म पनि टुङ्गिएको छैन । सन्धीका लागि सन्धी हुने र त्यसको कार्यान्वयनको पक्ष फितलो हुन्छ भने त्यस प्रकारका सन्धीको कुनै पनि औचित्य हुँदैन ।

आर्थिक सहयोगका लागि हारगुहार गर्ने भन्दा पनि नेपालमै फ्रिज भएर बसेको बजेटलाई सही समयमा सही ठाउँमा कार्यान्वयनको अवस्थामा पु¥याउनु अहिलेको प्रमुख चुनौती हो । किनकि कसैले पनि कोही पनि माग्नेलाई दुध भात र खिर दिएको रेकर्ड कहिँ पनि पाँइदैन । यदि मगन्तेले सहयोग मागेर पाइ हाले पनि दाताको शर्त बन्दोवस्त अनुसार उक्त सहयोगलाई खर्च गर्नु पर्दछ । त्यस प्रकारको सहयोग पनि अधिक मात्रामा दाताकै कर्मचारीलाई भरण पोषणको लागि मात्र उपयोग हुने भएकोले नभएको माग भन्दा पनि भएको कार्यान्वयन अहिलेको मुख्य उपलब्धी हो । दाहालले नेपालको आन्तरिक मामलामा हस्तक्षेप हुन नदिन विशेष पहल गर्नु जरुरी छ ।

भारतको शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूलाई दाँजेर केमेस्ट्री मिलाउन खोज्नु भन्दा पनि आत्मीयता र स्वाभिमान मिलाउन पहल गर्नु पर्दछ । यदि यो भ्रमण पनि परम्पराकै निरन्तरता हो भने त्यसका लागि गरिने खर्च भूकम्प पीडितलाई बाँड्दा वा सिटामोल नपाएर मरिरहेका बालबालिकालाई सिटामोल किनिदिँदा उपयुक्त हुन्ने थियो ।

प्रचण्डको दोस्रो पटकको सत्तारोहण केही सुखद् देखिएको छ । उनीले विगतमा आफूबाट भएका कमी कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने बताउँदै त्यसको केही आभाष समेत दिइसकेका छन् । कसैले पनि आफूले विगतमा गरेका गल्ती कमजोरीलाई सच्याउँदै अघि बढ्ने कोशिस गर्छ भने उसलाई सहयोग गर्नु हामी सबै जनताको जिम्मेवारी पनि हो । तसर्त नेपाली काङ्ग्रेस जस्तो इतिहास बोकेको र अहिले सबैभन्दा ठूलो पार्टीको साथ पाएको प्रचण्ड नेतृत्वको सरकारले नेपालीको अहित हुने नभई हित हुने सन्धी गरेमा प्रचण्डलाई एउटा असल नेताको रुपमा जनताले हेर्ने छन् । अन्यथा भ्रमण विगतको निरन्तरता मै सीमित हुनेछ । प्रचण्ड आम प्रधानमन्त्री हुने या एउटा असल राजनेता हुने हुन् यही भ्रमणले तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: