चारआली । एकपछि अर्को चौपाय चोरी हुन थालेपछि दुहागढीका कृषकहरु चिन्तित बनेका छन् ।
दुई सातायता मेचीनगर–१४, दुहागढीका आधा दर्जन बढी कृषकका चौपाय चोरी भएका छन् । सोमबार स्थानीय दिपक भट्टराईको चरनमा बाँधेको गाई दिउँसै चोरी भएको छ । सोही दिन राति सोही ठाउँका भोला कडरियाको दुहुना गाई पनि चोरी भएको पीडितले बताएका छन् ।
दुई दिनअघि स्थानीय गोकुल उप्रेतीको गाई चरनबाट दिउँसै चोरी भएको थियो । यसअघि सोही वडाका कृष्णप्रसाद पोखरेल, रामप्रसाद शिवाकोटी, देवीप्रसाद आचार्य लगायतका कृषकका पनि गाई चोरी भएका छन् ।
केही वर्षदेखि रोकिएको चौपाय चोरी पुनः सुरु भएपछि दुहागढीबासी चिन्तित बनेका हुन् । चौपाय चोरी नियन्त्रणका लागि स्थानीय प्रहरीलाई अनुरोध गर्दा समेत नियन्त्रणको पहल नभएको स्थानीयले गुनासो गरेका छन् ।