दिग्भ्रमित भाषिक शुद्धता

  प्रकाशित मिति
९ माघ २०७२, शनिबार ०७:१०


damodar sir copyभाषा प्रयोगका सन्दर्भमा कथ्य र लेख्य भाषामा त्रुटि छ भनेर औँल्याइदियो भने प्रयोगकर्ताको साझा प्रतिव्रिmया हुन्छ–‘मैले त पहिल्यैदेखि यस्तै प्रयोग गर्दै आइरहेको छु ।’ यसको कारण भाषिक प्रयोगमा त्रुटि संस्थागत हुनु हो ।
…………………

मानवीय उच्चारण अङ्गबाट निस्केका सार्थक ध्वनिहरूको समूहलाई भाषा भनिन्छ । त्यसैले भाषा मानवीय वस्तु हो । मानिसले समाजमा भाषाको प्रयोग गर्ने भएकाले भाषालाई सामाजिक वस्तु भनिन्छ । मानिसबाहेक पशुपन्छीले पनि मानवीय भाषाको प्रयोग गर्छन् भनिए पनि त्यो भाषा होइन । किनभने सुगा मैनाले प्रयोग गरेको ध्वनि मानिसकै जस्तो सुनिए पनि त्यसमा उत्पादनात्मकता हुँदैन । भाषाको विशिष्टता नै उत्पादनात्मकता हो । सीमित शब्द प्रयोग गरी असीमित वाक्य प्रयोग गर्नसक्नु उत्पादनात्मकताकै कारण हो । जुन गुण मानिसबाहेक अन्य प्राणीमा नहुने भएकाले भाषा मानिस मात्रको निजी सम्पत्ति हो । मानिसले विभिन्न सङ्केत र इसारा पनि प्रयोग गर्छ तर ती भाषा होइनन् । किनभने भाषाको उत्पादनमा मानवीय उच्चारण अङ्ग प्रयोग भएको हुनुपर्छ भने ध्वनिहरू पनि सार्थक हुनुपर्छ ।
भाषा वस्तुलाई बुझाउन प्रयोग गरिने सङ्केत मात्र हो । भाषा र वास्तविक वस्तुबिच कुनै सम्बन्ध हुँदैन । यदि वस्तुमा भएको कुनै खास गुणका कारण वस्तुलाई बुझाउन नाम (भाषा) प्रयोग गरिन्थ्यो भने संसारमा एउटा मात्र भाषा हुन्थ्यो । तर, एउटै वस्तुलाई बुझाउन संसारमा भाषापिच्छे फरक फरक नाम छन् । त्यसैले भाषा प्रतीक मात्र हो । यस्ता प्रतीकहरू एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरित हुन्छन् । त्यही भएर भाषा परम्परामा बाँचेको हुन्छ । भाषा व्यवस्थित वस्तु हो । सबै भाषाको आन्तरिक व्यवस्था हुन्छ । भाषाको व्यवस्थित प्रयोग सिकाउन मानक तथा स्तरीय रूप निर्माण गरिन्छ । यसका लगि व्याकरण लेख्ने, शब्दकोश निर्माण गर्ने, साहित्यिक कृति रचना गर्ने जस्ता कार्य गरिन्छ । मानक रूप विस्तार गरी भाषाको स्तरीय कथ्य र लेख्य रूप सिकाउन भाषा शिक्षण गरिन्छ ।

वर्षाैँदेखि हामी भाषाको शुद्ध प्रयोगका लागि शुद्ध वर्ण विन्यास शिक्षण गरिरहेका छौँ । वर्ण विन्यासका नियम रटाइरहेका छौँ । नेपाली भाषा शुद्ध लेख्ने अर्थात् वर्ण विन्यासको प्रयोग बारेमा धेरै बहस भए । वर्ण विन्यास प्रयोग सन्दर्भमा भाषिक आन्दोलनहरू भए । वर्ण विन्यासका घोषणा पत्र जारी भए । मानक वर्ण विन्यास कुन हो भन्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्ष निर्माण भए ।

वि.सं. १९६५ को हलन्त वहिष्कार आन्दोलन, १९९१ को नेकशुले (नेपाली कसरी शुद्ध लेख्ने ?) देखि २०१३ को झर्राेवादी आन्दोलन, वृहत् नेपाली शब्दकोश २०४० तथा नेपाल सरकारले २०६९ सालमा स्वीकृत गरेको वर्ण विन्याससम्म आइपुग्दा नेपाली भाषाको वर्ण विन्यासको मानक रूप कहिल्यै एउटै बन्न सकेन । व्यक्तिगत वर्ण विन्यासका कारण समयको अन्तरालमा एउटै शब्दका लेख्य रूप परिवर्तन हुँदै आए, जसको प्रमाण वि.सं. २०२८ देखि २०७२ सम्म प्रकाशित विद्यालय तहका नेपाली भाषाका पाठ्य पुस्तक हेरे पुग्छ ।

योदेखि बाहेक लेखक तथा साहित्यकारका कृतिमा त एउटै समयमा नै भिन्नता पाइन्छ । भाषामा स्थानीय भेद हुन्छ, जसलाई भाषिका भनिन्छ । नेपाली भाषाका पनि भाषिका र तिनका उपभाषिका छन् । त्यस्तै क्षेत्रीय भेदहरू पनि छन् । तर भाषिका, उपभाषिका र क्षेत्रीय भेदहरू लेख्य भाषामा नभई कथ्य भाषा अर्थात् बोलीचालीमा मात्र प्रयोग हुन्छन् । खास गरी अनौपचारिक सन्दर्भ र परिवेशमा मात्र प्रयोग हुन्छ । तर लेखनमै विविधता पाइनु अनि विविधता हटाएर मानक रूप निर्माण गर्न नसक्नु हाम्रो कमजोरी हो ।

नेपाली भाषाको मानक लेखनका लागि प्रयास नभएका होइनन् तर भाषाविद्हरूमा मतैक्यता नहुनु अनि प्रयोक्तामा आफूले प्रयोग गरेकै भाषिक रूप मानक हो भन्ने भ्रमपूर्ण अहङ्कारले सफल भएन । प्रकाशन गृहले एउटै वर्ण विन्यास र सम्पादन शैली प्रयोग गर्नुपर्ने बाध्यकरी नियम पनि भएन । त्यसैले एकरूपता भएन ।

भाषा व्यवस्थित वस्तु हो । भाषामा निश्चित वर्ण हुन्छन् । अर्थपूर्ण भाषिक एकाइ मात्र शब्द हुन्छ । अनि शब्दहरूको उचित सङ्गतिबाट मात्र वाक्य बन्छ । यो सबै भाषिक व्यवस्थाकै कारण हो । भाषिक व्यवस्थालाई हामी व्याकरण भन्छौँ । भाषिक प्रयोग कारण सम्मत हुन्छ । तर हामीकहाँ भाषिक प्रयोगको कारण सम्मत अध्ययन अर्थात् भाषा वैज्ञानिक अध्ययनबाट प्राप्त निष्कर्ष विगतमा स्थापित हुन सकेन ।
भाषा वैज्ञानिक अध्ययन र प्रयोगलाई भाषाशास्त्रीहरूको दिमागी उपज मात्र ठानियो । एउटै भाषिक रूप र वाक्यको प्रयोगमा पनि भाषाशास्त्रीहरूको एक मत भएन । त्यसैले हाम्रा भाषाशास्त्रीहरूमाथि शङ्का गर्ने आधार निर्माण भयो जुन अद्यापि छ । एउटै भाषिक रूप र वाक्यको भाषा वैज्ञानिक अध्ययनबाट प्राप्त निष्कर्ष समान हुनुपर्ने तर फरक फरक भइदिनाले विश्वास गर्ने स्थिति रहेन । त्यसैले ‘नेपाली भाषा जस्तो लेखे पनि हुन्छ’ भन्ने स्थितिमा पुग्यो ।

यो लेख्य भाषाका सन्दर्भमा जटिल समस्या र दयनीय अवस्था हो । यसकै परिणाम हो गलत भाषिक प्रयोग । अहिले भाषा प्रयोगका सन्दर्भमा कथ्य र लेख्य भाषामा त्रुटि छ भनेर औँल्याइदियो भने प्रयोगकर्ताको साझा प्रतिव्रिmया हुन्छ, ‘मैले त पहिल्यैदेखि यस्तै प्रयोग गर्दै आइरहेको छु ।’ यसको कारण भाषिक प्रयोगमा त्रुटि संस्थागत हुनु हो । भाषिक प्रयोगमा हुने त्रुटिलाई कारण सम्मत पुष्टि नगरेपछि र त्यसलाई नसच्याई प्रयोग गरेपछि त्रुटि नै मानक रूपमा स्थापित भयो । यसरी संस्थागत भएर स्थापित भएका धेरै भाषिक त्रुटिका उदाहरणमध्ये तलका दुई वाक्य हेरौँ ।

क) एक हप्तादेखि बन्द रहेका यातायात आजबाट सुचारू भए ।
ख) धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।
माथिका वाक्यमा त्रुटि छ भन्दा पत्यार लाग्दैन । त्रुटि भन्नेबित्तिकै हामी वर्ण विन्याससम्बन्धी त्रुटि बुझ्छौँ र सोही कुरा हेर्छौँ । माथिका वाक्य वर्ण विन्यासका दृष्टिले शुद्ध छन् । प्रयोग पनि यस्तै भइरहेको छ । पाठ्य पुस्तक, रेडियो, टेलिभिजन, पत्रपत्रिका, सार्वजनिक सूचना, होर्डिङ बोर्ड, नाराहरू जताततै यस्तै प्रयोग भइरहेको छ । अनि कसरी त्रुटि भन्न सकिन्छ ? त्रुटि भन्ने आँट नै हुँदैन । यी वाक्य हाम्रा संस्थागत त्रुटि हुन् ।

वाक्य (क) ले यातायात खुल्यो । सञ्चालन भए । पुनः सञ्चालनमा आए । गाडी चल्न थाले भन्न खोजेको हो । जुन अर्थका लागि ‘सुचारू’ शब्दको प्रयोग भएको छ । तर, ‘सुचारू’ शब्दको अर्थ त्यो होइन । ‘सुचारू’ शब्द ‘चारू’ आधार पदमा ‘सु’ उपसर्ग लागेर बनेको हो । चारूको अर्थ हुन्छ ‘आइमाई’ । सुचारूको अर्थ हो राम्री आइमाई । त्यसैले सुचारूको सट्टा सञ्चालन भए, खुले जस्ता शब्द प्रयोग गर्नुपर्छ ।

वाक्य (ख) ले धुवाँ सेवनले स्वास्थ्य बिग्रन्छ । स्वास्थ्यलाई हानि पुर्याउँछ । धुवाँ सेवन नगरौँ भन्न खोजेको हो । यहाँ धुवाँ अर्थ बोध गराउन ‘धुम्र’ शब्द प्रयोग गरिएको छ । तर, धुम्र शब्दको अर्थ धुवाँ नभई ध्वाँसो हो । अनि मानिसले सुर्तीलाई धुवाँ बनाएर सेवन गर्दा ध्वाँसो नभई धुवाँकै सेवन गर्छ । यहाँ धुम्र शब्दको सट्टा धूम प्रयोग गर्नुपर्छ । संस्कृतमा धुवाँलाई धूम भनिन्छ । कतिपय व्यक्तिहरूको तर्क हुनसक्छ कि आशय बुझे भइगयो नि भन्ने । भाषा व्यवस्थित वस्तु भएकाले एउटा अर्थबोध गराउन अर्कै शब्दको प्रयोग गरेर आशय बुझ्नुपर्छ भन्नु फेरि पनि त्रुटि संस्थागत गर्नु नै हो ।

bhasa 3

ठुलाले जे गर्यो त्यही सही हुन्छ भन्ने हाम्रो परम्परागत मान्यताले गर्दा यस्ता त्रुटि संस्थागत भएका हुन् । माथिका वाक्यमा भएका शब्द छनोट र प्रयोगसम्बन्धी त्रुटि शब्दको सम्यक् ज्ञानको अभावले गर्दा भएको हो । सम्यक् ज्ञान भनेको शब्दको प्रकृति, व्युत्पत्ति एवम् शुद्धताका साथै त्यसले वृहत्तर रूपमा व्यक्त गर्ने अर्थ र भाव तथा उत्पन्न गर्ने बहु आयामिक प्रभाव हो । त्यसैले भाषिक प्रयोक्ताहरूमा शब्दको सम्यक् ज्ञान आवश्यक पर्छ ।

शब्दको सम्यक् ज्ञान प्राप्त गर्न सबैभन्दा पहिला भाषिक प्रयोगकर्ताले आफूलाई अर्थबोध नभएका शब्दको प्रयोग गर्नु हुँदैन । प्रयोग गर्ने बानी भए हटाउने कोसिस गर्नुपर्छ । दुर्बाेध्य, जटिल, प्राञ्जल शब्दको प्रयोग गर्दा मात्र अभिव्यक्ति स्तरीय हुन्छ भन्ने भ्रम हटाउनुपर्छ । किनकि श्रोताले नबुझ्ने शब्द प्रयोग गर्नु आफ्नो असफलता हो । त्यस्तै शब्दको व्युत्पत्ति (निर्माण प्रव्रिmया) अर्थ विस्तार, अर्थ सङ्कुचन (अर्थगत सीमितता), कोशीय अर्थ (शब्दकोशमा दिइएको अर्थ) हेर्नुपर्छ । शब्दको मर्म एवम् क्षमता प्रस्फुटित हुने गरी ठाउँ, समय, सन्दर्भ र परिस्थितिसँग मिल्दो उपयुक्त शैलीमा शब्द र वाक्य प्रयोग गर्नुपर्छ । किनकि भाषिक प्रयोग परिष्कृत बनाउने प्रथम आधार नै शब्दको सम्यक् ज्ञान हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: