दिमागमा गोवर

  प्रकाशित मिति
६ फाल्गुन २०७५, सोमबार ११:४१


गोविन्द न्यौपाने

भारतीय सर्वोच्च अदालतका पूर्व न्यायाधिक मार्केण्डय काट्जु ९० प्रतिशत भारतीयको दिमागमा गोवर भरिएको बताउँछन् । पछिल्लो समय सत्तारुढ भारतीय जनता दलले गाईलाई माता भनेको प्रसङ्गलाई लिएर काट्जुले गाई एक इन्सानको आमा गाई हुन नसक्ने र गाईलाई अन्य जनावर कुकुर, घोडा सरह रहेको बताउँछन् । अन्य देशले गाईको मासु खाने र भारतमा गाईलाई माता मानेको तर्फ इङ्गित गर्दै काट्जुले अन्य देशका सामुन्ने भारतीयहरु पछौटे सिद्ध भइसकेको तर्क गर्छन् ।

यसै प्रसङ्गमा म केही दिनदेखि केन्द्रीत रहेको छु, सोच्दैछु कतै मेरो दिमागमा समेत गोवर भरिएको त छैन ? किनकि यो देशमा हुने गरेको अधिकांश क्रियाकलापहरुको म खुलेर प्रशंसा गर्न सक्दिन । सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारा सम्झन्छु । अनि उत्पादन प्रक्रिया र नेपाली समाजको सम्बन्ध विश्लेषण गर्दा अर्कै नयाँ तस्विर देखा पर्दछ ।

नेपाली समाज करिब दुई महिनाको बर्षे धानको खेती सकेपछि जनैपूर्णिमा, तीज हुँदै दशैँ, तिहारसम्म चाडवाडको उत्साह तिनको शुभकामना आदान–प्रदानमा बिताउने गरेको छ । मङ्सिर महिनादेखि सुरु हुने विवाह र पुराण अर्को व्यस्तता रहेको छ । दैनिक रुपमा घर–गाउँमा हुने जन्म दिनका उत्सव, भोज र पार्टीले समेत ब्यस्तता थपेको देखिन्छ । अन्य नयाँ साल, टोपी दिवस, भ्यालेन्टाइन, फ्रेण्डसीप लगायतका अवसरहरु समेत ब्यस्तता थप्न कम छैनन् । अझ स्वघोषित पर्यटन प्रवर्धनका लागि आयोजना हुने महोत्सवहरु पनि कम छैनन् । यी सबै व्यस्ततामा हाम्रो समय खेर गएको र खर्चको मात्रा बढेको मात्र देख्नु पनि मेरो दिमागमा भरिएको गोवरले त हैन ?

नेपाल सरकारले समृद्ध नेपालका लागि कृषि क्षेत्रको विकासमा ध्यान केन्द्रीत गरी विभिन्न शीर्षकहरुमा अनुदान समेत दिने गरेको छ । हालैका दिनमा यी कृषकहरुका प्रस्ताव नामका कागजका पुलिन्दा तयार गर्न केही समय बिताएको छु । विशेषगरी गाईपालन गरेका कृषकहरुका लागि अनुदानमा गाईका लागि खाद्य सामाग्री तयार गर्ने र टेक्टरको सहायताले थलामा स्वचालित ढङ्गले खाद्य सामाग्री पुर्याउने मेसिन (टिएमआर) को लागि प्रस्ताव आब्हान गरिएको छ ।

यस्तै, साइलेज र हे कार्यक्रमका लागि बीउ छर्ने मेसिन र ट्रेक्टरका लागि समेत आवेदन माग गरिएको छ । कृषकहरु धमाधम कागजका पुलिन्दा सरकार सामु पेश गर्दैछन् । के यी सामाग्रीहरु कृषकको मागको आधारमा दिइँदैछ कि कृषकको लागि आवश्यक छ भन्ने आधारमा दिइँदैछ ? आवश्यकता बेगर दिइने वस्तुले यसको दिगोपना हुन्छ या हुँदैन त्यो कृषकको ज्ञान भन्दा बाहिर रहेको प्रष्ट छ ।

अर्कोतिर अनुदान र सहायता मात्र ठुला कृषकका लागि मात्र रहेछ । जिवीकोपार्जनका लागि परम्परागत रुपमा पशुपालन गर्दै आएका कृषकका लागि केही राहत देखिँदैन । राज्यले दिने भनेको खोरेत रोगको भ्याक्सिन समेत यी कृषकका गोठमा पुग्दैन ।

अब मेसिन उपकरण र प्रवधि उपयोग गर्ने कृषक अत्यन्त कम छन भने अर्कोतिर सामान्य रुपमा परम्परागत कृषि प्रणाली अन्तर्गत कृषि पेशा गर्नेहरुको सङ्ख्या ठुलो छ । अब परम्परामा आधारित कृषि प्रणालीबाट उत्पादन भएको वस्तु बजारमा प्रतिस्पर्धामा आउने नसक्ने हुन्छ । फलतः यी कृषकहरु कि त कृषि पेशा छोड्छन् या तिनै ठुला कृषकहरुको कृषि केन्द्रमा मजदुरी गर्न पुग्छन् । मेसिन उपकरणका कारण मजदुरी समेत नपाउने अवस्था सिर्जना भयो भने त्यसको परिणाम के होला ?

यी र यस्ता सामाग्रीहरुको प्रयोगले स्थानीय रुपमा उपलब्ध हँुदै गरेको रोजगार त समाप्त हुन्छ नै यसका अलवा ठुलो धनराशी यी सामाग्री आयातमा जाने गर्दछ । अनि हाम्रो रेमिट्यान्स र वैदेशिक सहायताबाट आएको रकम फेरि यस्ता सामाग्रीको आयातमा खर्च गर्ने गर्नाले हाम्रो समृद्धि कस्तो हुने हो ? दिमागले भेउ पाउँदैन ।

उत्पादन भएको दुग्धजन्य पदार्थ बाह्य देशमा पठाउन सक्ने हो भने केही मात्रामा भए पनि शोधान्तर अवस्था सुधार्न सकिन्थ्यो । तर, अहिलेको अवस्था नियाल्ने हो भने परम्परागत रुपमा दही मथेर मोही पार्ने चलन विस्थापित भएको छ । दुध बेच्ने अनि दही, मोही र घिउ किन्ने प्रवृत्तिको बढावा देखिएको छ । सबै बनिबनाउ प्याकेटमा आउने भएका कारण बरु घण्टौँ भारतीय टेलिसिरियल हेर्ने, इन्टरनेटमा भुल्ने, उत्पादन कार्यमा सहभागी नहुनेले हामी कता जादैछौँ ? यस्तो उत्पादन र उपभोगको चक्रमा हाम्रो समृद्धि कुन स्थानमा हुने हो ?

पुँजीवादले आफ्नो टिकाउका लागि सेवा सुविधालाई आम मानिकाबीच बडो आकर्षक ढङ्गले प्रस्तुत गर्ने, अनि हामी उपभोक्ता उपभोग गर्नका लागि क्षणभरमा नै तयार हुने अवस्था यत्रतत्र देखिएको छ । ग्रामीण क्षेत्रमा समेत अप्टिकल फाइबर बिच्छ्याइएको छ । अब घर–घरमा इन्टरनेटको सुविधा छिटै उपलब्ध हुनेछ । यी मात्र हैन, अन्य धेरै सुविधाहरु हाम्रा अगाडि आउनेछन् । हामी उपभोगका लागि तयार हुनपर्छ । हैन भने आत्महत्या गर्नुपर्ने अवस्था हुनेछ ।

सरकार अहिले नजिक भए पनि त्यसको व्यवहार हेर्दा बरु हिजो नै ठिक थियो कि भन्ने अवस्थामा पुग्न लागेको छु । सिंहदरबार जनताको दैलोमा आएको उद्घोषको अर्थ खोज्दा हिजो आफ्नै गाविसमा हुने जनताका कामहरु आज नगरपालिकामा गएर दिनाँै लगाएर गर्नु परेको छ । स्थानीय सरकारले गौरवका योजनाहरु निर्माण गर्न थालेको छ । ठुला भवन चौडा बाटो । नागरिकको सहभागितात्मक छनौट विना नै योजना निर्माण गरिने भए कहाँ छ स्थानीय सरकारको औचित्य ? स्थानीय सरकार गठन भएको दुई वर्ष पुग्न लाग्यो र सङ्घीय सरकार गठन भएको एक वर्ष पुगेको छ । बाँकी समयमा गन्न लायकका कामहरु देखियोस् यसले उनीहरुकै रिपोर्ट कार्ड मजवुत हुनेछ आगामी निर्वाचनका लागि ।

नयाँ युगको सुरुआत भयो नै । फेरि हालसालै भद्रपुरको मेची पुलको उद्घाटन भएको छ । रात्रिकालीन विमान सेवा भद्रपुरबाट सुरु भएको छ । यी कामहरुको प्रशंसा गर्न मन लाग्छ । तर, त्रिभुवन विमानस्थलमा यात्रुको कार्गो हराएको समाचार सुन्दा दुःख लाग्दछ । वैदेशिक रोजगारमा गएका नेपाली दाजुभाइले त आप्mनै नियति सम्झेलान् । तर, नेपाल घुम्न आएका पर्यटकले के सोच्ला ? किन यस्तो हुन्छ ? किन यस्ता कुरा सुधार हुन सक्दैन ?

भनिन्छ, परिवर्तन दुई किसिमको हुन्छ । देख्न सकिने र महसुस गर्ने । ठुला घर, सपिङ मल, चौडा बाटो, स्कोरपियो, प्राडो–पजेरो आदि देख्न सकिने हुन् । तर, महसुस गर्न सकिने परिवर्तन त्यति सजिलै आउदैन । दैनिक बिरामीका आफन्तजनहरुले सामाजिक सञ्जालमा सहयोगको याचना गरेका देख्न सकिन्छ । सरकारी अस्पताल र सामुदायिक विद्यालयहरुप्रति आम मानिसमा निरासा छ । यो अवस्थाका माझमा समृद्धि के हो भन्ने बारेमा आम मानिसले कसरी लिएका होलान् ? एकपटक आम मानिससँग पनि सोध्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: