‘दुई दिन अघि पानी छ्यापी–छ्यापी कुटिएको थियो’

  प्रकाशित मिति
१७ श्रावण २०७४, मंगलवार १०:३९


arjun's father mother

मोहनकित्ता (ज्यामिरगढी) । काँकरभिट्टाको स्वतन्त्र प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रमा शुक्रवार राति मृत्यु भएका मेचीनगर–७ मोहनकित्ताका २३ वर्षीय अर्जुन बस्नेतलाई दुई दिन अघिदेखि नै निर्घात कुटपिट भएको उनको परिवारले दावी गरेको छ ।

‘घटना भएको दुई दिन अघि छोरालाई भेट्न गएको थिएँ, पाइँदैन भनी फर्काइदिए’, अर्जुनका बुवा पदमबहादुरले सोमवार लोकतन्त्र पोस्टसँग भने–‘उनीहरुले बुधवारदेखि नै कुटेर मर्नु न बाँच्नुको अवस्थामा पुर्याइसकेका रहेछन्, किन भेटाउँथे र !’

पारिवारिक स्रोतका अनुसार ३ महिना सुधार केन्द्र बसेर दुई महिना अघि घर फिरेका अर्जुनलाई गत मङ्गलवार सुधार केन्द्रका सञ्चालकहरुले समातेर फेरि सुधार केन्द्रमा हुलेका थिए ।

छोरालाई लगिएपछि भेट्न भनी विहीवार काँकरभिट्टा गएका अर्जुनका बुवा पदमबहादुर बस्नेतलाई सुधार केन्द्रका सञ्चालकहरुले भेट्न नदिई फर्काइदिएका थिए ।

सुधार केन्द्रमै रहेकाहरुको स्रोत उद्धृत गर्दै मृतकका बुवा पदमबहादुरले अर्जुनलाई बुधवार र शुक्रवार राति मरणासन्न हुने गरी कुटपिट भएको बताए । शुक्रवार राति उनको मृत्यु भएको हो ।

‘एउटाले पानी छ्याप्ने र अरु ४ जनाले मेरो छोरालाई घोप्टो उत्तानो पारी–पारी शरीरभरि नीलडाम बस्नेगरी जथाभावी कुटेका थिए रे’, सुधार केन्द्रमै रहेका प्रत्यक्षदर्शीहरुको भनाई उद्धृत गर्दै बुबा पदमबहादुर भन्छन्–‘मेरो छोरोलाई कुटेरै थला पारिएको छ, झुण्डिएको हँुदै होइन ।’

बुधवार राति कुटपिट गरिएपछि अर्जुन हिँड्नै नसक्ने अवस्थामा पुगेको र उनी घरि खोच्याउँदै घरि चार पाउ टेक्दै मुस्किलले वरपर सर्ने गरेको प्रत्यक्षदर्शीहरुले पदमबहादुरलाई सुनाएका छन् ।

विहीवार अर्जुनलाई भेट्न उनका बुबा आउँदा सञ्चालकहरुले घाइते अवस्थाको कारण भेट्न दिएनन् । शुक्रवार चाहिँ सुधार केन्द्रभित्र एकातिर नाचगान चलिरहेको र अर्कातिर अर्जुनमाथि कुटपिट गरिएको परिवारको दावी छ ।

सुधार केन्द्रका सञ्चालकहरु भने अर्जुनले सिढीमा झुण्डिएर आत्महत्या गर्न खोजेको फेला परेपछि अस्पताल लगिएको र उतै मृत्यु भएको बताउँछन् ।

‘साङ्घातिक कुटपिटले थला पारिएपछि सिढीमा झुण्डिएको’ भन्ने बहाना बनाइएको हुन सक्ने मृतककी दिदी अन्जु बस्नेत शङ्का गर्छिन् ।

मृतकको मुटु भएतिरको छाती कुटपिटले भुक्भुक्ती सुनिएको, ढाडभरि फलामे डण्डीको सुम्ला भेटिएको र छाति तथा गर्धनमा कुटिएको बग्रेल्ती नील डाम देखिएको उनका माइलो दाइ बताउँछन् ।

पोस्टमार्टमका लागि शबलाई ओल्टाउँदा पल्टाउँदा र उठाउँदा मुख, नाक र कानबाट ह्वाल्ह्वाल्ती रगत आएको मृतकका माइलो दाइले बताए । उनी पोस्टमार्टम जाँचको क्रममा धरान गएका थिए ।

मृतक अर्जुन वैदेशिक रोजगारीको सिलसिलामा बिदेश जाने तयारी गर्दैै थिए । ३ महिना सुधार केन्द्रमा बसेर फर्केपछि उनले विदेश जानका लागि राहदानी बनाएर केही मेनपावरका पेश पनि गरेका थिए । तर छातीमा दाग देखाइदिए पछि उनको विदेश जाने योजना लम्बिएको थियो ।

नन्दा नदीको घाटमै सोमवार अर्जुनको दाहसंस्कार भएको छ । सुरुङ्गाबाट बसाइसरी उनीहरु ज्यामिरगढी आएका थिए । उनका बुबा पदमबहादुर र आमा रत्नमायासँगै घरमा अर्जुन बस्थे भने उनका दुई दाजुहरु छुट्टिएर अलग घरमा बस्दै आएका छन् ।

बस्नेत परिवारमा अर्जुनको मृत्युले अकल्पनीय पीडा थपिएको छ । बुबा कोरामा बसेका छन् । उनका तीन दिदीबहिनीमध्ये कान्छी पनि मृगौलाको गम्भीर विरामी छिन् । कान्छीका दुबै मृगौला ड्यामेज भएका कारण उनी हप्तैपिच्छे भद्रपुरको ओमसाई पाथिभरा हस्पिटल धाएर डायलासिस गराइरहेकी छन् ।

बुबा पदमबहादुर पूर्व प्रहरी हुन् । प्रहरी नायव निरीक्षक भएर रिटायर भएका उनी छोरामाथि भएको कुटपिट घटना र मृत्युको प्रहरीबाट निष्पक्ष अनुसन्धान हुने अपेक्षामा छन् ।

‘हाम्रो छोरो अब फर्केर आउन सक्दैन भन्ने थाहा छ’, पदमबहादुर लोकतन्त्र पोस्टसँग भन्छन्–‘घटनाको अनुसन्धान यसरी होस् कि हामीले न्यायको अनुभूति गर्न पाउँ र आउँदा दिनमा यस्तो घटना कसैका छोराहरुले भोग्न नपरोस् ।’
………………
शोकाकूल परिवारलाई भेटे नेताहरुले
मेचीनगर । सुधार केन्द्रमा रहेका युवाको मृत्युको घटनाको प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ भने जनप्रतिनिधि एवम् नेताहरुले समेत घटनामा चासो देखाएका छन् ।

मेचीनगरका मेयर विमल आचार्य र एमाले नेता विष्णु प्रसाई सोमवार विहान मृतक अर्जुन बस्नेतको ज्यामिरगढीस्थित घरै पुगेर शोकमा परेका परिवारलाई समवेदना व्यक्त गरेका थिए ।

मेयर आचार्य र एमाले नेता प्रसाईले घटनाको अनुन्धान हुनु पर्ने बताएका थिए । परिवारका सदस्यहरुले दुबै नेतालाई घटनाको वास्तविकता जाहेर गरेका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक महेन्द्र थापाले सुधार केन्द्रका केही सञ्चालकहरुलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान सुरु भइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: