भद्रपुर । सिन्धुपाल्चोक जिल्लाबाट भारततर्फ लैजाँदै गरिएका दुई नेपाली युवतीलाई साना हातहरू नेपाल नामक संस्थाले भद्रपुरबाट उद्धार गरेको छ ।
संस्थाका अध्यक्ष जगतबहादुर वाग्लेका अनुसार आइतवार दिउँसो २ बजेतिर विर्तामोडबाट बस चढेर आएका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. १४ की १८ वर्षीया रुपा पाख्रिन र सोही जिल्लाको कुलेखानी गाविस वडा नं. ७ की २० वर्षीया सरिता स्याङ्देनलाई चन्द्रगढीबाट उद्धार गरिएको हो ।
दुबै युवतीलाई रोजगारी दिलाउनका लागि दुवई लैजाने भन्दै मानव वेचविखनमा संलग्न गिरोहले भद्रपुरको नाका हुँदै भारत लैजान लागेको थियो ।
प्रहरीको सहयोगमा चन्द्रगढीमा युवतीहरूलाई सोधपुछ गर्न लाग्दा गिरोहका दलाल फरार भएको वाग्लेले बताए ।
उद्धार गरिएका दुबै युवतीलाई जिल्ला प्रहरी कार्यालय झापाको सिफारिसमा साना हातहरू नेपालको भद्रपुरस्थित सेल्टरमा राखिएको छ ।
दलालले ती युवतीलाई चन्द्रगढीको बसस्टेण्डमा लिन आउने भन्दै विर्तामोडबाट भद्रपुर जाने यात्रुवाहक बस चढाएर पठाएका थिए ।
तर बसले निर्धारित स्टेण्डभन्दा केही पर ट्रेड युनियन चोकमा ओरालिदिए पछि युवतीहरू बाटो थाहा नभएर अल्मलिएका थिए । अलमल गरिरहेकै अवस्थामा उनीहरूलाई सोधपुछ गर्दा भारत लैजान लागिएको पत्तो लागेको वाग्लेले जानकारी दिए ।